मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थण्डर -११ सेमिफाइनल प्रवेश गरेको छ। 

टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि सौरभ ढकालले सर्वाधिक १८ रन बनाए। उनले २० बल खेल्दै १८ रन बनाएका हुन्। त्यस्तै समीर महराले १४ बलमा १७ तथा सुनिल मिश्र र प्रेम सिंहले समान १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा सरस्वती ७९ रनमै अलआउट भएको थियोे ।
बलिङतर्फ थण्डरका लागि रोहित राजवंशीले सर्वाधिक ४ विकेट लिए। त्यस्तै एलिट राइले २ विकेट हात पारे भने शिव राजवंशी , चन्द्र भट्टराई, आयुस न्यौपाने र विजय भट्टराईले समान १-१ विकेट हात पारे ।
८० रनको विजयी लक्ष्य पछ्याउने क्रममा थण्डरले ७.४ ओभरमा ४ विकेट गुमाउँदै जित निकाल्न सफल भयो । थण्डरका लागि विराट डाँगीले नटआउट २३ बलमा ४३ रन बनाए भने चन्द्र भट्टराईले १६ बलमा २० तथा नृत्यले ६ बलमा १६ रन बनाएका थिए।

यता बलिङतर्फ सरस्वतीका युवराज श्रेष्ठले ३ तथा नवराज भुजेलले १ विकेट हात पारे। प्रतियोगिताको म्यान अफ द म्याच थण्डरका रोहित राजवंशी घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे। उनले ४ विकेट लिएका थिए।
फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।