सरकार संयमित हुनुपर्छ

0
16

पोखराको बसाइपछि आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै भव्य स्वागत गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले दिएको सन्देशबाटै तरंगित नेपाली राजनीतिमा स्वागतको भव्यताले सन्त्रास पनि बढाएको छ । पूर्व राजाले देश बचाउने हो भने आफूलाई साथ दिन आव्हान गरेको सन्देशबाट उत्साहित राजावादीदेखि सर्वसाधारणसम्मले पश्चिम नेपालको धार्मिक भ्रमणका क्रममा पनि उत्साहपूर्वक स्वागत गरेका थिए । त्यस यता राज संस्थाका पक्षधर दल तथा समूहहरु एकीकृत स्वरका साथ राजसंस्थाको पुनस्र्थापनाको आवाज उठाइरहेका छन् । पूर्वराजाको सम्बोधनबाट सुसुप्त रहेको राज संस्थाप्रतिको मोह एकाएक प्रखर बनेपछि देश नै तरंगित बनेको छ ।

पूर्वराजाको आगमनमा स्वागत गर्न भेला भएका युवा वृद्धवृद्धा लगायतको उपस्थिति राजसंस्थावादी दल र समूह त उत्साहित हुने नै भए तर यसले कुन दिशा लिन्छ र के परिणाम दिन्छ अनिश्चित छ, यसै पनि राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले जनअपेक्षा पूरा नगरेको टिप्पणी भइरहेको छ । यसवीचमा भ्रष्टाचार अनियमितता, विकृति विसङ्गतिहरू बढेर विश्व समुदायको माझ देशको प्रतिष्ठामा चोट पुगेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध चिसिएको छ र आर्थिक जीवन पनि शिथिल बन्दै गएको भन्दै आलोचना भइरहेको छ । यही अवस्थामा पूर्वराजाको सन्देशपछि राजसंस्थावादीहरुले निरन्तर प्रदर्शन लगायतका कार्यक्रम गर्दैछन् । पूर्वराजाको सन्देशपछि सत्तारुढ दल लगायतका दलका नेताहरु प्रतिबादमा उत्रिएका छन् । यहाँसम्म कि सबको कुर्सीमा छेउ लागेको र दलका शीर्ष नेता पनि एकै स्वरमा प्रतिवादमा उत्रिएका छन् ।

सत्तामा रहेका एमाले र कांग्रेससँगै विपक्षमा रहेको माओवादी पार्टीका अध्यक्षले पूर्वराजाको सन्देशप्रति कटाक्ष गर्दै आक्रामक अभिव्यक्ति दिएका छन् । जागरण अभियानमा हिँडेको माओवादी पार्टीले आफ्नो यात्राबीचमै स्थगित गरेको छ । पूर्वराजाकै सन्देशका करण तरंगित नेपालको राजनीतिले दिने निकाश पनि अन्योलमै छ । यस्तो समय पनि सरकारले जुन र जस्तो नीति र कार्यशैली अपनाइरहेको छ, यसले अग्रगमनको सङ्केत गर्दैन । बाह्य तथा अन्तरिक परिस्थितिमा देखिएको अप्ठ्याराकाबीचमा सरकारले प्राप्त उपलब्धीलाई संस्थागत गर्न दृढतापूर्वक लाग्नुपर्दछ । सतहमा विद्यामान वेथिति, विकृति र विसङ्गतिलाई अन्त्य गरेर संयमतापूर्वक राष्ट्रिय हितमा काम गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here