वाग्मतीमा माछा उफ्रेको हेर्न मन छ

0
17

बेला–बेलामा हिँड्न रुचाउँछु म यदि समय र संयोग मिल्यो भने । गत हप्ता आइतबारको दिन त्यस्तै संयोग जु¥यो । ललितपुरको महालक्ष्मीस्थान चोकबाट मध्यान्ह सबा १२ बजे हिँड्न शुरु गरेँ । गन्तव्य चाहिँ किर्तिपुर अस्पतालसम्म आफन्तहरुलाई भेट्नको लागि । ठाउँ–ठाउँमा रोकिँदै, फोटो खिच्दै हिँड्दा मलाई दुई घण्टा लाग्यो किर्तिपुर अस्पताल पुग्न । अलिक बढि समय मैले सुन्दरीघाट स्थित वाग्मती नदीको झोलुङ्गे पुलमा बिताएँ । झोलुङ्गे पुलमा उभिएर एकटकसँग वाग्मतीलाई हेरिरहेँ । केहिबेर मलाई ठम्याउन गाह्रो भयो, बगेको छ या पोखरीको पानी झैं स्थिर छ भनेर ।

पानी भए त निर्बाध बग्ने थियो होला, तर फोहर नै फोरको लेदो बगोस् कसरी । अनि त्यहाँबाट आइरहेको दूर्गन्ध, उफ् ! अप्ठेरो अवस्थामा सन्तानले आफ्ना अभिभावकलाई सम्झिन्छन् भने झैं म पनि उक्त पुलमा उभिरहँदा, मलाई देशको प्रधानमन्त्रीको याद आयो । अनि मनमनै त्यहिँबाट प्रधानमन्त्रीलाई विनम्रतापूर्वक अनुरोध गरेँ, कृपया एक पटक सुन्दरीघाटको यो झोलुङ्गे पुलमा केही समय खर्चेर आइदिनुभए म अति नै आभारी हुने थिएँ । दूर्गन्धले उभिरहन त महासकस हुन्छ नै तर सम्माननीयको त्यो केही मिनेट समयले कतै वाग्मतीलाई न्याय मिल्छ कि ?

वाग्मतीले कुरुप मुहारबाट काँचुली फेरेर साँच्चिकै मैले सोच्ने गरे जस्तै सफा, कञ्चन पानीमा माछा उफ्रेको, हाँस, बकुल्ला जस्ता चराचर जगतका प्राणीहरु पनि खेलिरहेको, डुलिरहेको, दायाँ–बायाँ दुबै किनारामा हरिया बोटबिरुवा, फूलहरुको सुन्दरतासँगै मदहोस भएर ती उफ्रेको माछाहरु देखेर दङ्ग परिरहेको मेरो परिकल्पनाले मूर्तरुप पाउने थियो कि । अनि त्यतिबेला फेरि लेखौंला, ‘प्रधानमन्त्रीको पाँच मिनेटको समयले वाग्मतीको मुहार फेरियो’ । हुन त यहिँ कार्यको लागि भनेर सरकारी संरचना तथा निकाय नभएको पनि होइन । तर पनि मेरो मनमा जिज्ञासा छ, कहाँ छ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति ? कार्यालयको ठेगाना त मलाई पनि थाहा छ, तर यहाँ कामको कुरा सोधिएको हो । हुन त यस समितिको वेबसाइट हेर्दा ‘२० वर्षे वाग्मती कार्य योजना (२०८०–२१००) मस्यौदा’ फेला पारेँ ।

यो खुशीको कुरा हो । तर २०८० मा तयार भएको मस्यौदा २०८१ सकिन लाग्दा पनि अन्तिम रुप पाएको छैन । कहिले कार्य योजनाको कार्यान्वयन शुरु हुने, कहिले परिवर्तन देखिने, कुनै टुङ्गो छ त ? अनि अब वाग्मतीको फेरिएको मुहार हेर्न अझै २० वर्ष कुर्नु पर्ने भो हामी सर्वसाधारणले ? के पाँच वर्षमा यी सबै काम सम्भव छैन ? यदि सम्भव छैन भने यसबाट थाहा हुन्छ कि हामीले कुन गतिमा काम गरिरहेका छौं भनेर । यदि परिवर्तन र विकासप्रतिको स्पष्ट दूरदर्शिता, प्रतिबद्धता, जवाफदेहिता र दृढसंकल्प छ भने अवश्य सम्भव छ । होइन भने, जति योजना बनाइए पनि, जति नै विस्तृत अध्ययन प्रतिवेदन तयार गरिए पनि यो केबल कागजी दस्तावेजमा सीमित रहन्छ र वर्षौंवर्ष दराजको कुनै कुनामा च्यापिएर रहने छ, जसरी मेरो वाग्मतीप्रतिको परिकल्पना आफ्नै मस्तिष्कको कुनै कुनामा च्यापिएर बसेको छ ।

वाग्मती सफाई महाअभियानले ६१६औं सप्ताह (यो लेख प्रकाशन हुने बेलासम्म सम्भवतः ६१७औं सप्ताह हुनेछ) सम्पन्न गरिसकेको छ । यो राम्रो कार्य हो । तथापि, वाग्मतीमा फालिने फोहरको मात्रा र दूर्गन्ध अध्यावधि ज्यूँकात्यूँ छ । १००औं सप्ताह सम्पन्न गरिरहँदा मलाई असाध्यै खुशी लागेको थियो । म उत्साहित पनि थिएँ, अब वाग्मतीलाई न्याय मिल्छ होला भनेर । तर त्यो केबल दीवास्वप्न झैं भयो । साप्ताहिक सरसफाई महाअभियानले एउटा सन्देश पनि प्रवाह गर्न खोजेको हो, यदि वाग्मतीमा फोहर फालिएन, ढल मिसाइएन भने सफा हुन्छ भनेर । तर पनि खोई त्यो सन्देश बुझेको, खोई त्यसको प्रभावकारिता ?

सरसफाई महाअभियानकै क्रममा कति पटक हामी थापाथली पुल क्षेत्र, गुहयेश्वरी क्षेत्रमा सफा गर्न जाँदा हरेक हप्ता त्यत्तिकै मात्रामा फोहर संकलन हुन्थ्यो । यसको स्पष्ट कारण ः फोहरको स्रोत रोकिएको छैन भन्ने हो, होइन र ? यदि फोहोरको स्रोत रोकिएको भए ६१६औं सप्ताहसम्म आईपुग्दा पनि किन वाग्मती सफा छैन ? अब वाग्मती सफा गर्न सरकारलाई मात्र देखाएर हुन्न । व्यक्ति–व्यक्तिले, घर–घरले जिम्मेवारी र जवाफदेहिता बहन गर्नुपर्दछ । हरेक व्यक्तिको मन मस्तिष्क सफा हुनुपर्दछ । अनि मात्र वाग्मती सफा हुन्छ । घरभित्रबाट निस्केको फोहर बिसर्जन गर्ने थलो हो वाग्मती ? दिसा–पिसाब फाल्ने र बगाउने ठाउँ हो वाग्मती ? किन हाम्रो सोच र सभ्यता कहिल्यै माथि उठ्न सकेन ? हुन त हामी राजधानीबासी, महानगरबासी भनेर गर्व गर्छाैं, हो पनि । तर त्यो गर्विलो छवि त्यतिबेला धुमिल भएको महशुस हुन्छ जब काठमाडौं उपत्यका हुँदै बग्ने वाग्मतीलाई हेर्छु ।

वाग्मती पार गर्ने पूल र किनारतिर हिँड्दै गर्दा म एक्लै टोलाउँछु, सोचमग्न हुन्छु र वाग्मतीसँग बात मार्छु । त्यतिबेला म वाग्मतीको रोदन, पीडा, चित्कार र बिद्रुप रुप देख्छु अनि सँगसँगै रुन्छु, मैले तिम्रो लागि केही गर्न सकिन है भनेर । दायाँ–बायाँ किनारमा पाइपबाट फोहर ढलको पानी वाग्मतीमा खसिरहँदा म वाग्मतीको चित्कार सुन्छु– ‘नाई, मेरो शरीरमा फोहर नफाल’ भनेको । तर उनको चित्कार सुन्ने कसले ? न त प्रतिकार गर्न नै सक्छिन् ऊनी । फोहरका बोरा, फुटेका बोतल र शिशाको टुक्रा फाल्दा चिच्याई–चिच्याई रोएको सुन्छु म । चोटैचोट लागेको रगताम्मे शरीर लिएर सहयोगको याचना गरिहेको सुन्छु म, दुर्घटनामा घाइते भएको कुनै व्यक्ति झैं ।

अव्यवस्थित रुपमा बनेका संरचनाहरु र अतिक्रमण देख्दा लाग्छ, उनलाई सबैले चिथोरी रहेका छन्, कोपरिरहेका छन् र उनको अस्मीतामाथि धावा बोलिरहेका छन् र पनि म चुपचाप हेरिहेको छु उनलाई । उनले आफ्नो सुरक्षा र न्यायको लागि याचना गरिहेकी छिन्, तर म चुपचाप टोलाइरहेको छु, केबल चुपचाप । अनि मनमनै भनिरहेको छु, तिमीलाई एकदिन न्याय मिल्नेछ । तिमी वाग्मती नै भएर बग्न पाउने छौं, सफा, कञ्चन, निस्फिक्री भएर । तिमी बग्दै गर्दा तिम्रै काखमा रमाउँदै हाँसहरु खेलिरहेका हुनेछन् । माछाहरु उफ्रिँदै हूलकाहूल यता र उता घुमिरहेका हुनेछन् । अनि म त्यहिँ कतै किनारमा बसेर खुशीले फुरुङ्ग हुँदै आनन्दका साथ नियाली रहनेछु ती सबै दृश्यहरु । पछाडि बजेको मोटरसाइकलको हर्नले झस्किन्छु अनि लाग्छु अगाडि, आफ्नै गन्तव्यतर्फ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here