अर्जुनधारा ।
चिया कफी श्रमिक युनियन नेपालको अध्यक्षमा पुनः सन्तकुमार राई निर्वाचित भएका छन् ।
झापाको बिर्तामोडमा मंगलबार सम्पन्न भएको युनियनको प्रथम अधिवेशनबाट आगामी चार वर्षे कार्यकालको लागि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी उपाध्यक्षद्वयमा सहीकुमार राई र चम्फा श्रेष्ठ, महासचिवमा विक्रम गिरी, आर्थिक सचिवमा शेषप्रसाद ढुंगेल र सदस्यहरुमा दिनेश गिरी, पदममाया कोइराला, राधिका मर्डी, रामचन्द्र विश्वकर्मा, रीना विश्वकर्मा, लीला राई र सरस्वती चौलागाईं चयन भएका छन् ।
२१ सदस्यीय कमिटीको बाँकी उपमहासचिवसहितको सदस्य पदमा कमिटीको आगामी बैठकबाट मनोनित गरिने बताइएको छ । युनियनका अध्यक्ष राईको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटीका अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गरेका थिए ।
अधिवेशनको बन्दसत्रमा अध्यक्ष राईले संस्थाको सांगठनिक प्रतिवेदनसहित विधान संशोधन प्रतिवेदन र आर्थिक सचिव विक्रम गिरीबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा क्युपेक नेपालका केन्द्रीय उपाध्यक्ष अमिरकुमार लिङदेन, जिफन्ट कोशी प्रदेश कमिटीका अध्यक्ष किशोर धमलालगायतले मन्तव्य राखेका थिए ।
कमिटीका उपाध्यक्ष सहीकुमार राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव रामबहादुर राईले गरेका थिए ।