तीर्थ तिम्सिना
बुद्धशान्ति, प्रबिधि भित्रिएसँगै झापाका कृषकहरुलाई खेती गर्न सहज हुँदै आएको छ ।
धान, मकै, गहुँ जस्ता बाली लगाउने, रोप्ने र काट्ने काम मेसिनबाटै हुन थालेपछि किसानलाई खेती गर्न सहज हुन थालेको हो । झापाको बुद्धशान्ति गाउँपालिकामा पनि आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धान रोपिएको छ ।
बुद्धशान्ति–३ चर्चाबारीमा किसानले लगाएको एक बिगाह क्षेत्रफलमा आधुनिक धान रोप्ने मेसिनको प्रयोग गरेर चैते धान रोपिएको हो ।
किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले बुद्धशान्तिमा प्रविधिमार्फत धान खेती गरिएको बुद्धशान्ति गाउँपालिका कृषि विकास शाखाका कृषि प्राबिधिक कृष्ण ढुंगेलले बताए । उनले कृषि ज्ञान केन्द्रको सहयोगमा स्थानीय दीपज्योति कृषक समूहको आयोजनामा धान रोपाइँं गरिएको जानकारी दिए ।
किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने साथै समयको पनि बचत हुने भएकाले आधुनिक कृषि प्रविधि प्रयोग गर्दै चैते धानको रापाइँं गरिएको कृषि प्राविधिक ढुंगेलको भनाइ छ । उनले २ हजार तीन सय हेक्टर खेतीयोग्य जमिन रहेको बुद्धशान्तिमा पहिलो चरणमा एक बिगाह क्षेत्रफलमा चैते धान रोपिएको र बर्खे धानमा पनि यो प्रबिधिले रोप्ने योजना रहेको बताए ।
यसअघि झापा जिल्लाका चारवटा पालिका गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बीऊ राखेर र धान मेसिनले रोपाइँ गरेर नमूना खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । ‘किसानलाई प्रबिधि चिनाउँदै प्रविधियुक्त खेतीमा प्रोत्साहित गर्ने उद्देश्य हो’– उनले भने– ‘बीऊ राख्न ट्रे र धान रोप्ने मेसिन निःशुल्क उपलब्ध गराइएको छ ।’ सहकारीको मेसिन भाडामा लिएर रोपाइँ गरिएको उनले बताए ।
शुरु–शुरुमा किसानहरुलाई परम्परागत प्रणालीबाट नयाँ प्रबिधिमा जानका लागि केही अप्ठेरो देखिएको भए पनि यसको फाइदा बुझेपछि पछिल्लो समय जिल्लामा आधुनिक प्रबिधिको प्रयोगले खेती गर्ने किसानको संख्या बढ्दै गएको पाइएको छ । अहिले जिल्लामा हाते ट्क्याटर, मकै छोडाउने मेसिन, गहुँ छर्ने मेसिन, धान, गहुँ काट्ने कम्बाइन हार्भेष्टर, धान गहुँ, तोरी, मसुरो चुट्ने थ्रेसर मेसिन, धान, गहुँ काट्ने रिपर मेसिन लगायतको प्रयोग बढिरहेको छ ।