अमेरिका फिर्ता विश्वमा शून्यता !

0
29

भुवन तामाङ
हाल भइरहेका तिव्रतम् घटनाहरुले अब विश्व परिवेश या परिदृष्य परिवर्तन हुँदैछ भन्ने देखाउँछ । हिजोसम्म विश्वमा अमेरिका जताततै छपक्कै छाएको अवस्था थियो । राजनीतिक, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, प्रकृति संरक्षण, महिलाअधिकार, सिमान्तकृतका अधिकार, मानवअधिकार, सूचना प्रविधि तथा सैन्य क्षेत्रमा अमेरिका विश्वभर पुगेको अवस्था रहेको थियो । तर, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरीका फिर्ता आएको छ भन्ने अप्रत्याशित भनाइले विश्व परिवेश फेरिने संकेत देखिँदैछ । किनकि अमेरिका अब अमेरिका केन्द्रित हुनेछ र अमेरिकी चहलपहल बिनाको विश्व शून्यतामा छाउने सम्भावना छ ।

गत बुधबार अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फिर्ता आएको आशय व्यक्त गरेका थिए । राष्ट्रपति ट्रम्प तथा उनको टिमको उद्देश्य के देखिँदैछ भने अब अमेरिका आफैमा केन्द्रित हुने देखिँदैछ । अमेरिकालाई फेरि महान बनाउने तथा अमेरिका पहिलो भन्ने थिममा काम गर्ने देखिन्छ । अमेरिकी जनताले तिरेका कर अर्थात् धनराशी अमेरिका र अमेरिकी जनताकै लागि उपयोग गर्नुपर्ने राष्ट्रपति ट्रम्पको योजना रहेको देखिन्छ ।
विश्वभरका देशलाई विभिन्न आयाममा आर्थिक लगायत नीति–निर्माणमा सहयोग गरेर अमेरिकाले के पायो त ? निकै हदसम्म विभिन्न क्षेत्रमा विश्व नेतृत्व त पायो, तर अमेरिकालाई आर्थिक फाइदा भने नभएको राष्ट्रपति ट्रम्पको बुझाई हुनुपर्छ । यूरोप लगायत विश्वबजारले अमेरिकाबाट फाइदा मात्र लिन्छन्, तर अमेरिकाले जहिले पनि व्यापार घाटा व्यहोर्नुपर्ने ? भन्ने राष्ट्रपति ट्रम्पलाई लागीरहेको छ । अब यो हुन सक्दैन भन्ने स्वीकोरोक्तिका कारण अब अमेरिका आफैमा मात्र केन्द्रित हुन गइरहेको देखिन्छ ।

अमेरिकाले विश्वमा प्रजातन्त्र, उदारता, खुल्लापन, महिलाअधिकार, मानवअधिकार र अन्य विविध क्षेत्रमा काम गर्ने क्रममा अतिवादी भन्दै कैयन पक्षमाथि अनुदार बन्दा अमेरिकाले ठूलो क्षति पनि व्यहोरेको छ । अमेरिकाको भौतिक विकासको शान या नमूना न्यूयोर्कको टुइन टावर गुमाउन पुगेको छ । यस्ता क्षतिका धेरै उदाहरण छन् । विश्वलाई जति नै सहयोग गरे पनि अमेरिका प्रतिको घृणा विश्वमा यत्रतत्र छँदैछन् । यसबाट पनि अमेरिका आजित भएर टाढा भाग्न चाहेको देखिन्छ ।
अमेरिकाले अरु देशलाई अमेरिकी नीति, परम्परा, मान्यता र राजनीति अनुकूल बनाउने अभियानबाट पनि पछि हट्ने देखिन्छ । उदाहरण यू.यस.ए.आई.डी. मार्फत गरिने आर्थिक सहयोग बन्द गरिनु । यो संस्थाले विश्वका देशहरुमा अमेरिकी नीति, परम्परा, मान्यता र राजनीतिक प्रभाव विस्तार गर्ने गर्दथ्यो । यसका साथै प्रकृति संरक्षण र मानवीय सहयोग पनि गर्दै आएरहेको थियो । अमेरीका प्रति विश्वास बढाउने काम गर्दै आइरहेको थियो । यसबाट अब अमेरिका पछि हटेको देखिन्छ ।

पहिलो र दोस्रो विश्वयुद्धदेखि नै अमेरिकाले ठूलो मात्रामा धन खर्च गर्दै विश्वमा वर्चश्व कायम गर्न विभिन्न खेल खेल्दै आइरहेको थियो । विभिन्न गुट–उपगुट आदि बनाएर विश्वमा दादागिरी पनि गर्दै आइरहेको थियो । तर, यसबाट अमेरिकालाई उति आर्थिक फाइदा नभएको लाग्यो । बरु विश्वले अमेरिकालाई दोहन मात्र गरिरहेछ भन्ने अमेरिकालाई लाग्यो । ठूलो मात्रामा आर्थिक सहयोगका बाबजुद विश्वभरबाट अमेरिकाकै आलोचना भइरहनु दुःखद् भएको अमेरिकाको ठम्याइ छ ।

आफैमा केन्द्रित हुँदै गर्दा राष्ट्रप्रति डोनाल्ड ट्रम्म विश्वका लागि निकै राम्रो काम गर्दैछन् । त्यो हो हमास र इजरायलबीचको लडाई र युक्रेन र रुसबीचको लडाई रोक्न पहल गरिरहेका छन् । विश्वमा शान्ति भएन भने अमेरिका फेरि घर बाहिर निस्कनुपर्ने हुन्छ र ठूलो मात्रामा यू.एस. डलर खर्च हुन्छ भन्ने चिन्तामा छन् ट्रम्प । विश्वमा शान्ति कायम गरेर अमेरिका आफूमा केन्द्रित हुन चाहन्छ र नयाँ युगमा प्रवेश गर्न चाहन्छ । अमेरिका अब मंगल ग्रहतिर ध्यान केन्द्रित गर्न चाहन्छ । ब्रह्माण्डतिर ध्यान केन्द्रित गर्न चाहन्छ । अमेरिकाको सपना बद्लिएको छ ।

अमेरिका फिर्ता भएको संकेत यी पनि हुन सक्छन् । जस्तैः अमेरिकाले अब विश्व स्वास्थ्य संगठन छोड्दैछ र सम्भवतः संयुक्त राष्ट्रसंघमा आफ्नो तर्फबाट गरिने आर्थिक भागिदारीबाट पनि हात झिक्दैछ । जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट त अमेरिका बाहिरिइ नै सक्यो । नेटो या यूरोपबाट पनि दूरी बढाइरहेको छ । त्यसैले अमेरीका आफ्नै घरमा फिर्ता भएको छ । अब अमेरिकाले विश्वव्यापी संगठन र विश्वका देशहरुलाई आर्थिक सहयोग नगर्ने मुडमा देखिन्छ । अमेरिकी राष्ट्रपति ट्रम्पका हालका भनाइ र कामहरुबाट यही बुझिन्छ ।

विश्वमा युद्ध रोकिएपछि अमेरिका सुरक्षित हुन्छ भन्ने बुझाइले पनि हुन सक्छ अमेरिका विश्व मञ्चबाट अर्थात् विश्व गुरुको आशनबाट टाढा हुँदैछ । अमेरिकाका लागि यो कदम् जोखिम पनि हो, तर अमेरिका माथि ३३ ट्रिलियन यू.एस. डलरभन्दा बढी ऋण रहेको छ । जसका कारण आर्थिक संकट पर्न सक्ने खतरा रहेको त्यहाँका अर्थशास्त्रीहरुले बताएका छन् । तसर्थ, अमेरिका अब अरुलाई आर्थिक सहयोग नगर्ने बहाना खोज्दैछ । अमेरिकी जनताले तिरेका कर अमेरिका कै हितमा राख्न खौज्दैछ । अमेरिकालाई फेरि महान बनाउने काममा खर्च गर्ने मनसाय विकास भएको देखिन्छ ।

अमेरिकाको सपना, उद्देश्य या काम फेरिएको छ । उसको नयाँ सपना भनेको मंगल ग्रहमा अमेरिका पुग्नु, मानव बस्ती तथा शहर बसाउनु, खेतीपाती विकास गर्नु र नयाँ अमेरिकी सभ्यता स्थापना गर्नु । मंगल ग्रहमात्र होइन ब्रह्माण्ड नै अमेरिकाको कब्जामा पार्नु उसको नयाँ मिसन बनेको छ । त्यसैले विश्वभरी सक्रिय अमेरिका अब विश्वमञ्चबाट आफ्नै घर फिर्ति हुँदै गएको देखिन्छ । अमेरिकाको उपस्थिति, साथ र सक्रियता बिनाको विश्वमा शून्यता छाउने सम्भावना बढ्दैछ । यसबाट विश्वका देशहरुले पनि नयाँ योजनाहरु बनाउन जरुरी देखिएको छ । नेपालले पनि अन्य मार्गहरु पहिल्याउनुपर्ने देखिन्छ साथै आत्मनिर्भर बन्नुपर्ने देखिन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here