झापा ।
झापामा एक युवकले प्रेमिकाले धोका दिएको भन्दै आत्मदाहको प्रयास गरेका छन् ।
कनकाई नगरपालिका ४ स्थित कोटीहोम नजिक सुनसरी जिल्ला इनरुवा–९ बलाह निवासी १९ वर्षीय मिकेश चौधरीले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।
स्थानीयले देखेर प्रहरीलाई खबर गरेपश्चात् उद्धार गरी उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको लागि लगिएको छ । हाल उनको अवस्थामा गम्भीर रहेको छ ।
विगत ३–४ दिनदेखि बिर्तामोड ४ स्थित सोफा हाउसमा काम गर्दै आएका चौधरी कोटीहोम दक्षिणपट्टिको सडकमा आफ्नी प्रेमिकासँग हिँड्दै गर्दा उनीहरूबीच विवाद भएको थियो । विवादका क्रममा चौधरीले आफ्नी प्रेमिका र आफूमाथि पेट्रोल छर्केका थिए । सँगै आत्मदाह गर्ने कोसिस गर्दा प्रेमिकाले भागेर ज्यान जोगाएकी छन् भने उनले आफ्नो शरीरमा आगो सल्काएको थिए ।
घटनापछि चौधरी थरकी ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको दुवै हात र पिसाब थैलीको केही भाग, कम्मरको भाग र दुवै कानसहित शरीरको आधा भाग जलेको बताइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।