वैदेशिक रोजगारी बाध्यकारी नहोस्

0
27

नेपाल वेरोजगारीको समस्याले आक्रान्त छ । देशमा रोजगारीको अवसर नहुनु, कृषिबाट अपेक्षित लाभ नहुनु, उद्योगधन्दा नहुनु र निजी व्यवसाय गर्ने पुँजी लगायत अन्य वातावरण नहुनुका कारण वैदेशिक रोजगारी बाध्यता बनिरहेको छ नेपालीका लागि । नेपालीले रोजगारका लागि देश छोड्नुपर्ने अवस्था नौलो भने होइन, तर पहिले सीमासँग जोडिएको देश भारत र भारतबाटै जान सकिने बर्मा लगायतका देशहरुमा केही युवा रोजगारीका लागि जाने गरेका थिए । भारत, चीनसँग त व्यापारिक सम्बन्ध नै थियो, जहाँ नेपालमा उत्पादित वस्तुहरु बिक्री गरिन्थ्यो । तर, पछिल्लो समय राज्यका तर्फबाट भएका साना तथा ठूला उद्योगहरुको संरक्षण नगरिँदा त्यस्ता उपभोग्य वस्तुहरुको उत्पादन नै बन्द भएका छन् । यसले उद्योगमा कार्यरत श्रमिक तथा कर्मचारीहरु नै बेरोजगार भएका छन् ।

देशमै रोजगारीको अवसर र सेवा नहुँदा पछिल्लो समय नेपाली युवाको विदेश गमन बाध्यता बनेको छ । परिवारको जीवनयापन र आर्थिक लाभका लागि चुनौतीको सामना गरेर पनि विदेश जानैपर्ने बाध्यतामा शिक्षित वा अर्धशिक्षित युवा वर्गले केही लाभ लिएका पनि छन् । अझ देशमा राजनीतिक परिवर्तन आएपछि यहाँ सञ्चालित ठूला उद्योगहरु निजीकरणको नाममा कौडीको भाउमा बेचियो र देशलाई झन् ठूलो आर्थिक संकटमा धकेलियो । जसका कारण अहिले झण्डै करोडको हाराहारीमा अध्ययन र रोजगारीका नाममा नेपाली युवा विदेशिएका छन् । सरकारले वैधानिक रुपमै विदेश जाने व्यवस्था गरेपछि विश्वका करिब एक सय पचास देशमा नेपाली युवा गएको तथ्यांक छ । जसका कारण वैदेशिक विप्रेषणले कूल गार्हस्थ उत्पादनको साढे बाइस प्रतिशत ओगटेको छ । कूल राजश्वको तीस प्रतिशतभन्दा बढी आय यही विप्रेषणबाट हुने गरेको सरकारी तथ्यांक छ । यसरी वैदेशिक रोजगारीबाट आर्जित विप्रेषण देशको अर्थतन्त्रको मेरुदण्ड र विदेशी मुद्रा आर्जनको गतिलो माध्यम बनिएको छ ।

नेपाली युवाको प्रमुख लक्ष्य र गन्तव्य बन्दै गएको वैदेशिक रोजगारी सबैका लागि सुखद् भने छैन । किनभने यसका नाममा कयौं युवा ठगिएका छन्, कतिले सम्झौता अनुसारको काम र पारिश्रमिक पाएका छैनन् त कति शोषणमा परेर त कतिले उतै मृत्युवरण गर्नु परेको छ । सुरक्षित आप्रवासन परियोजना सामीले प्रकाशित गरेको प्रतिवेदन अनुसार पछिल्लो चार वर्षमा झापाका एक सय छैसठ्ठी जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । परियोजनाले विदेश गएका, फर्किएका र उनीहरुका आश्रित परिवारको हितमा काम गर्दै आएको छ । उसको तथ्यांक अनुसार चालू आर्थिक वर्षको गत पुससम्ममा बयालीस जना, गत आर्थिक वर्ष अस्सी र त्यसअघिको वर्ष चवालीस जनाको वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएको हो । त्यस्तै त्यही चार वर्षमा चौवन्न जनाको अङ्गभङ्ग भएको थियो । वैदेशिक रोजगारी आफ्नो पारिवारिक जीवनमा सुधार गर्ने अवसर हुँदाहुँदै पनि यसभित्र आइपर्ने चुनौतीहरु धेरै छन् । यसले देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा नकारात्मक असर पारेको छ, ऊर्जाशील र उत्पादनशील युवा विदेशिँदा देशमा उर्वर जमिन बाँझिएका छन् । परिवार विखण्डित हुँदैछ, पति–पत्नीबीच मनमुटान बढेको छ । यसैले राज्यले स्वदेशमै रोजगारीको अवसर जुटाउन अब ढिला गर्नुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here