काँकरभिट्टाका पर्यटन व्यवसायी भन्छन्-‘सरकारले हामीलाई खोजेन हामी पनि पर्यटन वर्षलाई असहयोग गर्छौ’

0
16

काँकरभिट्टा ।

झापाका पर्यटन व्यवसायीहरूले पर्यटन क्षेत्रलाई राज्यले ध्यान दिन नसकेको बताएका छन् । ट्राभल्स एजेन्सी, होटल व्यवसायी, पर्यटन ब्यवसायीहरुसँग काँकरभिट्टामा भएको छलफलमा हिजो काठमाडौँमा हुने केन्द्रीयताको अभ्यास प्रदेशले पनि केही व्यवसायीलाई च्यापेर कार्यक्रम गर्ने गरेको बताए ।

पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठले प्रदेश सरकारसँग नियमित धाउने, नजिकै हुनु पर्ने, बिहान बेलुका नधाउँदासम्म कसैका पनि समस्याको सुनुवाइ नहुने गरेको बताए । सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रूपमा घोषणा गरे पनि अहिलेसम्म यो बारेमा एक पटक पनि छलफल नभएको उनले बताए । ‘सरकारले कस्ता पर्यटक भित्र्याउने हो, उनको प्रश्न थियो, यदि पर्यटन वर्ष मनाउने हो भनेँ बाह्य पर्यटक भित्रिने कोसी प्रदेशको एक मात्रै काँकडभिट्टा नाका हो, यहाँका हामी पर्यटन व्यवसायीलाई नै थाहा छैन ।’

विराटनगरले कार्यक्रम गर्ने, संयोजक त्यहीँका तोकिने, अनि हामीले सफल बनाइदिनु पर्ने हो भनेँ यस्ता पर्यटन वर्ष स्वीकार गर्न नसक्ने बताए । उनले भने, ‘सङ्घीयता आउन भन्दा पहिला पर्यटनको बारेमा केही नजानेका काठमाडौँका पर्यटन व्यवसायी हिरो हुने काम जसरी हुन्थ्यो, अहिले सङ्घीयता आएपछि विराटनगरका केही पर्यटन व्यवसायीलाई हिरो बनाउने र अनावश्यक पैसा सक्ने काम तिनीहरूले गरेका छन् ।’

व्यवसायीले सरकारले बनाउने नीतिहरू अन्दधुन्द बनाउने गरेको समेत बताएका छन् । आफ्ना नजिक रहेका व्यक्तिले जे भन्यो त्यही कुरालाई कानुन बनाउने गरेको समेत उनीहरूको भनाई छ । पर्यटन व्यवसायी निरबहादुर कार्कीले प्रदेश सरकारले देखेको पर्यटन विकासको क्षेत्र भनेको विराटनगर, धरान, बेतना र अलिअलि कोशीटप्पुसम्मलाई मात्रै जोडिएको बताए । पर्यटनसँग सम्बन्धित विषयमा सरकारले चासो नै नदिएको उनको भनाई छ । व्यवसायीले काँकडभिट्टा भएर नेपाल आउने पर्यटकहरूको लागि निक्कै समस्याहरू रहेको बताएका छन् ।

पानीट्यांकी भएर आउँदाको मेची पुललाई पार्किङको रूपमा प्रयोग गरेको, एसएसबीले नेपालीहरूलाई असाध्यै धेरै दुख दिने गरेको विषय राज्यको प्राथमिकतामा नपरेको विषय समेत उनीहरूले उठाएका छन् । भारत, बङ्गलादेश, भुटान र म्यानमारका पर्यटकहरू नेपाल आउँदा स्थल मार्ग प्रयोग हुने भनेको काँकरभिट्टा नाका नै भएको दाबी पर्यटन व्यवसायीको छ । ‘स्थल मार्ग भएर विदेशी पर्यटक भित्रिने कोसी प्रदेशको एक मात्र नाका काँकरभिट्टा मात्रै हो, कार्कीले भने, सरकारका कार्यक्रमहरू काँकरभिट्टासम्म आइपुगेको छैन, इटहरी, धरान विराटनगर सेरोफेरो नै प्रदेशको पर्यटन घुमेको छ ।’

विराटनगर, धरान, इटहरी लगायतका पर्यटन व्यवसायी टिकेटिङमा मात्रै केन्द्रित रहेको अवस्थामा काँकडभिट्टाका पर्यटन व्यवसायीहरू भनेँ बङ्गाली, आसामी, नर्थ इस्टका पर्यटकलाई लक्षित गरेर प्याकेजिंगमा काम गरिरहेका दाबी गरेका छन् । ‘बङ्गाली, आसामी, नर्थ इस्टका पर्यटक नेपाललाई घुम्न चाहन्छन्, भारतीय ट्राभल्स एजेन्सीहरू पनि नेपालका गन्तव्य खोजी रहेका छन्, व्यवसायी भन्छन्, नेपालले आफ्नो पर्यटनमैत्री नीति लिन सकेको छैन ।’ व्यक्तिगत लगानीमा मणिपुर र सिलोंगसम्मको मार्केटिङ गर्ने गरिएको उनीहरूको दाबी छ । पर्यटकहरूको रोजाई कोसी प्रदेशको भन्दा पनि पोखरा हुँदै मुक्तिनाथसम्म काठमाडौँ, चितवन, लुम्बिनी प्याकेजिङ टुरमा पर्ने गरेको छ।

अर्का व्यवसायी मोहन रिजालले सामान्य एक्स(रे मेसिन नचलाउँदा समेत पर्यटकले दुख पाउने गरेको बताए । उनले पानी ट्याङ्कीबाट नेपाल आउने पर्यटकलाई नेपाल प्रवेश गर्दासम्म नेपाली सुरक्षा निकायले मात्रै ५ ठाउँमा चेकजाँच गरेरै आतङ्कित पार्ने गरेको सुनाए । ‘कोसीबाट पर्यटक भित्र्याउने हो भने, पर्यटन मैत्री नाकालाई बनाउन सक्नुपर्छ, उनले भने, पर्यटक धेरै नेपाल भित्र्याउनकोलागि यहाँको चेकिङ, पुलमा हुने अनावश्यक भिडभाड हटाउने, पुलमा भइरहेको पार्किङ हटाउने र पानीटंकीबाट आउँदा ३ ठाउँमा गाडी फेर्नु पर्ने बाध्यता हटाउन सक्नुपर्छ ।’ पछिल्लो वर्षहरूमा यी गतिविधिले गर्दा ४० प्रतिशत मानिस पनि यहाँबाट नभित्रिएको दाबी पर्यटन व्यवसायीको छ । ‘पर्यटक नआउँदा हामी व्यवसायीलाई बढी पिर परेको छ, उनले भने, सरकारलाई चासो भएको छैन, सरकारले गर्ला नगर्ला भनेर हामी आफैँ लागेका छौँ ।’

ट्राभल व्यवसायी राजु अधिकारीले काँकरभिट्टा देशकै सबैभन्दा सुविधायुक्त र क्वालिटीयुक्त बोर्डर मेचीको भएको बताए । ‘हामी नकारात्मक भएका छौँ, त्यसको कारण भनेको हामी लामो समयदेखि काम गर्दा पनि राज्यको तर्फबाट धेरै सहयोग नै भएको छैन । सुविधायुक्त र क्वालिटीयुक्त बोर्डर अन्त छैन भन्ने लाग्छ, उनले भने । सरकारले २४ घण्टा नै पर्यटकलाई सुविधा दिन सक्नु पर्नेमा नभएकोले पनि व्यवसायीले सरका पर्यटन मैत्री नभएको भन्ने गरेको गुनासो गरे । उनले भारतीय बजारमा पर्यटन प्रवर्द्धनको लागि गरिने कार्यक्रमहरूमा नेपालको उपस्थिति नै कमजोर हुने गरेको गुनासो गरे ।

होटल व्यवसायी सुरेश कुमार श्रेष्ठले ७ सयको हाराहारीमा होटल रहेको होटल कोभिडपछि ३५० को हाराहारीमा झरेको बताए । पर्यटक कम आउन थालेपछि समस्याको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको, हरेक कार्यक्रममा आफ्ना समस्याहरू राखिएको भए पनि काम गर्छु भन्ने तर कुनै मन्त्री र मुख्यमन्त्रीले काम नगरेको बताए ।

होटल एवम् पर्यटन व्यवसायी मानबहादुर गिरीले सरकारको फितलो नीतिका कारण काँकरभिट्टा नाका असाध्यै धराशायी भएको बताए । कोरोना कालको समस्यालाई अहिले पनि एथाबत राखिएको उनको भनाई छ । ‘कुनै पनि आइडी कार्ड नदेखाई जान पाउने व्यवस्था थियो, उनले भने, अहिले आइडी कार्ड अनिवार्य गरिएको छ, यहाँबाट नक्सलवारी, पानीट्यांकी जान पनि सहज अवस्था छैन ।’ पानीट्यांकीदेखि काँकरभिट्टासम्म आउँदा सशस्त्र, नेपाल प्रहरी, भन्सार, फेरी सशस्त्र र नेपाल प्रहरीले पाँच पटक चोक जाँच गर्दा समस्या छ ।

उनले मनि चेन्जरहरुले झोलाबाट नै पैसा सटही गर्दा नियमन नभएको, भारतीय गाडीको स्टिकर नीति कार्यान्वयनमा नगएको उनीहरूको भनाई छ । पर्यटन प्रवर्द्धन र पर्यटन मैत्री प्रदेश हुने हो भनेँ पूर्वको काँकरभिट्टाको पुलदेखि नै सुरुवात गरेर जानु पर्छ अनि मात्रै हुने उनको भनाई छ । काँकरभिट्टा नाका भएर गत आर्थिक वर्षमा घुम्नकै लागि सबैभन्दा धेरै अमेरिकाबाट ४८ जना आएका छन् । इन्डियाबाट ३३ जना, क्यानडाबाट १७ जना, अस्ट्रेलियाबाट २५, बङ्गलादेशबाट २८, बेल्जियम नागरिक ३, जर्मन ४, बेलायतबाट ११, स्वीजरल्याण्ड ४, श्रीलङ्का, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, न्यु जिल्यान्ड र ताइवान १–१ जना आएका छन् ।

त्यस्तै नेदरल्याण्डस् र फिलिपिन्सका ३–३ तथा रोमानियाबाट १२ जना नेपाल आएको अध्यागमन कार्यालय काँकरभिट्टाको तथ्याङ्कमा देखिन्छ । अन्य नाकाबाट नेपाल घुम्न आएका भारतीय नागरिक २९८ जना काँकरभिट्टा नाका भएर फर्किएको तथ्याङ्कमा देखिन्छ । अध्यागमनलाई थाहा नभई कति पर्यटक नेपाल आउँछन् त्यसको कुनै लेखाजोखा नभएको व्यवसायी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here