झापा । बिर्तामोडका महिला उद्यमीलाई वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरिएको छ ।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सहकार्यमा महिला उद्यमी समूह बिर्तामोडले महिला उद्यमीलाई वित्तीय साक्षरता सम्वन्धि तालिम प्रदान गरेको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत महिला उद्यमी समूह रहेको छ । सो समूहले विभिन्न पेशा र व्यवसायमा रहेका ४० भन्दा धेरै महिला उद्यमीलाई वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरेको हो ।
महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो ।
सो कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकी महानन्द चौक शाखाकी प्रवन्धक सुवर्णा श्रेष्ठ, अपरेशन इञ्चार्ज निशा ओली, मार्केटिङ विभाग इञ्चार्ज गजेन्द्र ढकाल लगायतले वैकिङ कारोवार, डिजिटल वैकिङ कारोवार, कर्जामा महिला उद्यमीको पहुँच जस्ता विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै महिला उद्यमी समूहकी अध्यक्ष हुमागाँईले पछिल्लो समय उद्यमीहरुले व्यापार घाटा व्यहोर्दै आएकाले समयमा ऋण तिर्न नसक्दा बैंकबाट जाने कर्मचारीले गर्ने व्यवहार सन्तोषजनक नभएकाले त्यसलाई सुधार्नु पर्ने बताएकी थिइन् । उनले ऋण तिर्ने समय थाहा नपाउने कारण व्यवसायीहरु समस्यामा पर्ने गरेकाले उनीहरुलाई समय समयमा सही सूचना प्रवाह गर्नुपर्ने धारणा राख्दै महिला व्यवसायीको उत्साह जोगाउने काम गर्नुपर्ने बताइन् ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघकी सह कोषाध्यक्ष तिलोत्तमा खत्री, महिला उद्यमी समूहकी विशिष्ठ सदस्य नैनकला भट्टराई, एक्सेल वैकका कर्मचारी ज्योतिरत्न शाक्य लगायतको आतिथ्य रहेको थियो ।