सुखान्तको अपेक्षा

0
20

कार्यालय परिसरबाटै बेपत्ता भएका नेपाल टेलिकम सुरुङ्गाका कर्मचारी दिलीप सुवेदी डेढ वर्षदेखि सम्पर्कमा छैनन् । कार्यालयका निमित्त प्रमुख रहेका उनी गत वर्षको भदौ ३० गतेदेखि सम्पर्कविहीन छन् । देशको शान्ति सुरक्षाको दायित्व बोकेको नेपाल प्रहरीलाई सम्पर्कविहीन भएकै दिन लिखित जानकारी गराइएको उनको परिवारको भनाइ छ । यतिका समयसम्म उनका बारेमा कुनै सूचना र सम्पर्क प्राप्त हुन नसकेर पीडामा रहेको पविारलाई यो विषयले संसदमा प्रवेश पाएपछि केही आशा पलाएको हुन सक्छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदको ध्यानाकर्षण गराउँदै उनको खोजीका लागि पहल गर्न सरकारसँग आग्रह गरेका थिए ।

अनुसन्धानमा अब्बल मानिएको नेपाल प्रहरीभित्र घटना तथा अपराध अनुसन्धानका लागि छुट्टै निकाय समेतको व्यवस्था गरिएको छ । प्रहरीलाई तत्काल घटनाको बारेमा जानकारी गराउँदा समेत डेढ वर्ष बित्दा पनि कुनै सूचना प्राप्त नहुनु आश्चर्यको विषय हो । त्यही कारण सांसद झाले प्रहरीले सक्रियता नदेखाएकै कारण सुवेदीको अवस्था अज्ञात भएको आरोप लगाउन बाध्य हुनु परेको हुनसक्छ । यत्तिका दिनसम्म चासो र चिन्तामा पर्न नसकेका सुवेदीको खोजीमा लाग्न सचेत गराउने सांसद झाको मागको कहिले सम्बोधन हुन्छ अब सबैको चासोको कुरा हुनुपर्छ । हुन त राष्ट्रिय मुद्दा बनिएका सहकारीको रकम अपचलनको आरोप लागेका जीवी राईलाई त सरकारले खोजी गरेर कारवाहीको दायरामा ल्याउन सकेको छैन । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीको अझै पहिचान हुन सकेको छैन भने सांसद त्यो पनि विपक्षी दलकाले माग गर्दैमा सरकार गम्भीर हुन्छ र तदारुकता देखाउँछ भन्ने आशा गर्नु नै निरर्थक हुनसक्छ ।

हराएका व्यक्ति सबै भेटिन्छन् अथवा उनीहरुका बारेमा कुनै सूचना प्राप्त हुन्छ नै भन्न सकिँदैन । विगतमा पनि यस्ता थुपै्र घटना भएका छन्, तर आज विश्व साँघुरिएको छ । प्रविधिले विश्वलाई एउटा गाउँ बनाएको छ । त्यसैले कोही व्यक्ति लामो समयसम्म अज्ञात रहन सक्दैन । अझै सामाजिक सञ्जाल लगायतका प्रविधि र प्रहरीको अनुसन्धान विज्ञताले कसैलाई अदृष्य रहन दिँदैन । टेलिकमका कर्मचारी भएका कारण उनको खोजीमा गम्भीर हुनु उक्त कार्यालयको पनि दायित्व हो । यद्यपि उनीहरुले आ–आफ्नो तहबाट खोजी गरेको बताएका छन्, तर पनि उनी भेटिएका छैनन् । उनको यो गुप्तबास वियोगान्त नहोस् परिवारको जस्तै आमनेपालीको चाहना हो । हराएको यति लामो समय बिते पनि सांसद झाको यो चासोले प्रहरी गृहमन्त्री र सरकारलाई जिम्मेवार बनाओस् । सुवेदी जहाँ, जे–जस्तो अवस्थामा छन् सार्वजनिक हुन पाउन् । पारिवारिक मिलन हुन पाओस् र वियोग सुखान्तमा परिणत होस् हाम्रो पनि चाहना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here