लोकतान्त्रिक समाजवाद समताबाट समानताको आरोहण

0
2

मानव समाजको इतिहास वर्गीय विभाजन, असमानता र संघर्षले भरिएको छ । सामन्तवाद र पूँजीवादले समाजलाई विभिन्न वर्गमा विभाजित ग¥यो, जसले गर्दा धेरै मानिसहरू अवसर, स्रोत र अधिकारबाट वञ्चित भए । अहिले पनि विश्वका धेरै ठाउँमा आर्थिक, सामाजिक र राजनीतिक असमानता व्याप्त छ ।

लोकतान्त्रिक समाजवाद भनेको यिनै असमानताका बिरुद्ध उभिने दह्रो विचार हो, जसले समतामूलक समाजको आधारशीला राखेर समानता हासिल गर्न खोज्छ । यसले लोकतान्त्रिक मूल्य, मानव अधिकार र सामाजिक न्यायलाई आत्मसात गर्दै न्यायोचित समाज निर्माण गर्ने लक्ष्य राख्छ ।

नेपाली भाषामा ‘समता’ र ‘समानता’ प्रायः समान रूपमा प्रयोग गरिन्छ, तर यी दुई अवधारणाबीच महŒवपूर्ण सैद्धान्तिक भिन्नता छ । समता भनेको हरेक व्यक्तिको आवश्यकता अनुसार अवसर र स्रोतहरू उपलब्ध गराउने प्रक्रिया हो । समानता भनेको सबैलाई एउटै मापदण्ड अनुसार समान अवसर वा स्रोत प्रदान गर्नु हो, चाहे त्यसले न्यायोचित प्रभाव पारोस् या नपारोस् ।

उदाहरणका लागि यदि तीन जना व्यक्तिले एउटै उचाइको पर्खाल पार गर्नुप¥यो भने समानताको अवधारणामा सबैलाई एउटै उचाइको खुड्किलो दिइन्छ । तर, व्यक्तिको उचाइ फरक भएकाले होचा व्यक्तिले पर्खाल पार गर्न सक्दैनन् । समताको अवधारणामा भने होचोलाई अग्लो खुड्किलो, मध्यम उचाइकालाई मध्यम र अग्लोलाई सानो खुड्किलो दिइनुपर्छ, जसले गर्दा सबैजना पर्खाल पार गर्न सक्षम हुन्छन् ।

समता प्रदान नगरी समानता प्रदान गर्नु न्यायोचित हुँदैन । हाल नेपालमा लागू भएका ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र जातीय आरक्षण समानताका नाममा चरम असमानता हुन् । यसमा वर्गीय अवधारणा उत्तम हो । सक्षम परिवारका व्यक्तिलाई भत्ता, बीमा र आरक्षणको व्यवस्थाभन्दा आर्थिक रूपमा विपन्न वर्गलाई राज्यले संरक्षण गर्नुपर्दछ ।
त्यसैले लोकतान्त्रिक समाजवादले समानताभन्दा समतालाई प्राथमिकता दिन्छ, किनभने समताले समाजमा न्यायोचित अवसर सिर्जना गर्छ । लोकतान्त्रिक समाजवाद केबल आर्थिक प्रणाली मात्र होइन, यो समाज परिवर्तनको मार्ग हो । यसले आर्थिक रुपमा विपन्न वर्गका नागरिकलाई माथि उठाउने नीतिहरू अवलम्बन गर्छ ।

समता कायम गर्न शिक्षा र स्वास्थ्यमा समान पहुँचको आवश्यकता हुन्छ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउनु राज्यको दायित्व हो । आर्थिक न्याय र अवसरका लागि श्रमिकहरूको न्यूनतम् ज्याला मात्र होइन, गरिमामय जीवन सुनिश्चित गर्ने नीति लागू गर्नुपर्छ ।

सामाजिक सुरक्षाको ग्यारेन्टीका निमित्त वृद्ध, अपाङ्गता भएका, श्रमिक वर्गका नागरिकलाई समाजवादको भावना अनुरूप सामाजिक सुरक्षा प्रदान गरिनुपर्छ । समावेशी विकासका लागि लैङ्गिक, जातीय तथा क्षेत्रीय सन्तुलन कायम गरेर सबै नागरिकलाई विकास प्रक्रियामा सहभागी गराउनु पर्दछ ।

लोकतान्त्रिक समाजवाद न पूँजीवादको चरम रूप हो, न त निरंकुश समाजवाद । यो निजी क्षेत्रको योगदानलाई स्वीकार गर्ने र अनियन्त्रित पूँजीवादलाई नियन्त्रण गर्ने पद्धती हो । यसले राज्य जनताका लागि सक्रिय संयोजक हो भनेर परिभाषित गर्छ, जसमा न्यून आर्थिक वर्गका नागरिकलाई माथि उठाउने नीतिहरू अवलम्बन गरिन्छ । समाजमा सामुहिक समृद्धि ल्याउन उत्पादनका साधनमा सबैको पहुँच सुनिश्चित गरिन्छ । लोकतान्त्रिक समाजवादको सार यही हो । समानता केबल नारा होइन, यो न्यायोचित प्रणालीको परिणाम हो । समताको आधार सिर्जना नगरी समानताको ग्यारेन्टी सम्भव छैन ।

अन्त्यमा, लोकतान्त्रिक समाजवाद लोकतन्त्रलाई जोगाउँदै समाजवादका सिद्धान्तहरू लागू गर्ने मार्ग हो । यसमा न्यायसंगत अर्थतन्त्र, सामाजिक सुरक्षा र समावेशी विकासलाई आत्मसात गरिन्छ । समता भनेको यात्रा हो र समानता गन्तव्य । लोकतान्त्रिक समाजवाद नै यो यात्राको सही माध्यम हो । यही मार्गदर्शनमा मात्रै हामी समताबाट समानताको आरोहण गर्न सक्छौं ।

(सुवेदी नेपाली कांग्रेस झापाका सूचना, सञ्चार तथा प्रचार संयोजक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here