झापा ।
क्याम्पसका आधा विद्यार्थी उम्मेद्वार बनेर देशभरि चर्चा कमाएको झापाको गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) को निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्यानल नै जितेको छ ।
जम्मा ४० जना विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेकोमा ३७ जनाले मतदानमा भाग लिएका थिए । अन्तिम मत परिणाम अनुसार राप्रविसंका केशव खरेल २३ मत ल्याउँदै सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धीहरु अनेरास्ववियूकी बिमला गिरीले ६ र नेपाल विद्यार्थी संघका रोनिश पाठकले मात्र ८ मत पाएका छन् ।
त्यस्तै सचिवमा राप्रविसंकै सन्दिप अधिकारी २१ मतसहित निर्वाचित हुँदा अनेरास्ववियूकी सुनिता संग्रौलाले ६र नेविसंघकी सन्जिला कार्कीले मात्र १० मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा पनि राप्रविसंकै रामकृष्ण पौडेल १९ मतसहित निर्वाचित भएका छन् । सोही पदमा उम्मेद्वारी दिएका अनेरास्ववियूकी अञ्जली मुर्मू ८ र नेविसंघकी खुश्बु खातुनले ९ मत पाएका छन् ।
कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्की सो क्याम्पसको अध्यक्ष हुन् । जिल्लाभरिकै थोरै विद्यार्थी भएर पनि सर्वसम्मत हुन नसकेपछि आधा विद्यार्थी उम्मेद्वार बनेका थिए ।