विनोद सापकोटा
झापा,
नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले झापा जिल्लाका विभिन्न क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ मा ऐतिहासिक जित हासिल गरेको छ। झापाका १३ वटा क्याम्पसमध्ये ९ क्याम्पसमा नेविसंघले नेतृत्व जित्न सफल भएको छ।
नेविसंघको यस उपलब्धिप्रति नेपाली कांग्रेस जिल्ला कार्य समिति, झापाका सभापति देउ कुमार थेबे ले विजयी विद्यार्थी नेताहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। आफ्नो फेसबुक वालमा शुभकामना सन्देश लेख्दै भनेका छन् ‘यो जित सम्भव बनाउन अहोरात्र खट्ने नेपाली कांग्रेसका नेतागण, विद्यार्थी सङ्घका कार्यकर्ता, प्राध्यापक एवं शिक्षक वर्ग, पत्रकार, शुभचिन्तक विद्यार्थी तथा मतदाता सबैप्रति उच्च सम्मान र आभार प्रकट गर्दछु। साथै, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर खटिएका निर्वाचन समिति तथा सुरक्षा निकायका सम्पूर्ण अधिकारीहरूलाई धन्यवाद ज्ञापन छ।’
सभापति थेबेले यस जितले लोकतान्त्रिक प्रक्रियाप्रति विद्यार्थीहरूको प्रतिबद्धता, पार्टी एकताको महत्त्व, तथा स्वस्थ प्रतिस्पर्धाले सफलता दिलाउने सन्देश दिएको उल्लेख गरेका छन्। उनका अनुसार, पार्टीका सम्पूर्ण तहका नेता-कार्यकर्ताहरू एकताबद्ध भई अघि बढ्दा अझ ठूला सफलताहरू हासिल गर्न सकिने स्पष्ट संकेत यस जितले देखाएको छ।
उनले विजयी विद्यार्थी नेताहरुलाई बधाई दिँदै, लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी भई स्वस्थ प्रतिद्वन्द्विता प्रस्तुत गर्ने उपविजेता साथीहरूलाई निराश नहुन सभापति थेवेको शुभकामना सन्देशमा उल्लेख छ। “लोकतान्त्रिक मूल्यमान्यता एवं विद्यार्थी हकहितका पक्षमा सशक्त रूपमा लाग्नु हाम्रो साझा लक्ष्य हो। नवनिर्वाचित विद्यार्थी नेताहरूले क्याम्पसमा जिम्मेवार, गतिशील र आदर्श नेतृत्व प्रस्तुत गर्ने विश्वास लिएको छु,” सभापति थेबेले भनेका छन्।
झापामा नेविसंघको जित हासिल गरेका क्याम्पसहरूमा यतिबेला खुसियाली सभा भइरहेका छन् । स्ववियु निर्वाचन २०८१ अन्तर्गत झापामा नेविसंघले जित हासिल गरेका क्याम्पसहरू निम्नानुसार छन् –
मेची बहुमुखी क्याम्पस भद्रपुर मा अध्यक्ष निलम कार्की, दमक बहुमुखी क्याम्पस दमकमा अध्यक्ष भुपेन्द्र बस्नेत, कन्काइ बहुमुखी क्याम्पस, सुरुंगा अध्यक्ष बाशुदेव निरौला कन्काइ आदर्श क्याम्पस, बिर्तामोड अध्यक्ष किरण गुरुङ अध्यक्ष पदमा निर्वाचित भए ।
यस्तै इन्द्र चन्द्र (देवी) क्याम्पसमा श्रीजित ढुगाना, शनिस्चरे बहुमुखी क्याम्पसमा बिशाल थापा, काँकरभिट्टा बहुमुखी क्याम्पसमा सुरज राई अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
यता गौरादह कृषि क्याम्पसमा स्वर्णिम अधिकारी, गौरिगञ्ज बहुमुखी क्याम्पसमा रोशन यादव निर्वाचित भएको कांग्रेस नेता शिव कडेलले बताए ।
सभापति थेबेले नवनिर्वाचित अध्यक्ष तथा टिमका सदस्यहरूलाई लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्दै विद्यार्थी हितका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण विजयी तथा सहभागी विद्यार्थीहरूलाई पुनः बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।