रोङ ।
ग्रामीण कृषि र पर्यटनमा अग्रसर रहेको इलामको रोङ गाउँपालिकामा कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘रोङ गुरु किसान’ अभियानको सुरुवात गरेको छ ।
गाउँपालिकाले आज रोङ-५ स्थित इरौटारमा एक भव्य समारोहका बीच १२१ जनालाई ‘रोङ गुरु किसान’ घोषणा गरी अभियानको शुभारम्भ गरेको हो । सङ्घीय कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी विकासमन्त्री खगेनसिंह लिम्बूले घोषित भएका गुरु किसानहरूलाई लोगो, पुस्तक, झोला लगायतको सामग्री वितरण गरेका थिए ।
रोङ गाउँपालिकाले स्थानीय उत्पादन रायो सागलाई गुन्द्रुकका रुपमा ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउँदै आएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोले जानकारी दिए । त्यस्तै, गाउँपालिकाले मह, बेसार, अम्रिसो, चिया, अदुवाको व्यावसायिक बजारीकरण गर्दै आएको छ ।
त्यस्तै, कार्यक्रमका बीच साना किसान कृषि प्रशोधन उद्योगको पनि उद्घाटन गरिएको छ । मन्त्री अधिकारी, लिम्बू, गाउँपालिका अध्यक्ष स्याङबो, उपाध्यक्ष विष्णुमाया खवास लगायतले उद्योगको उद्घाटन गरेका हुन् ।उद्योगको शिलालेख अनावरण गरिएको थियो भने गुरु किसानको झन्डा अनावरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष स्याङबोले रोङ कृषि रणनीति र गुरु किसान कार्यक्रमको परिकल्पनाबारे प्रकाश पारेका थिए ।
‘रोङ विकासको मुख्य आधार: कृषि, वन, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले स्थानीय उत्पादनलाई व्यावसायिक उत्पादन र बजारीकरणमा विशेष कार्यक्रममार्फत काम गर्दै आएको छ । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डक्टर गोविन्दप्रसाद शर्मा, कृषि विकास महाशाखा प्रमुख रामकृष्ण श्रेष्ठ, योजना तथा विकास समन्वय महाशाखा प्रमुख डक्टर हरिबहादुर केसी, कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलको उपस्थिति रहेको थियो ।
त्यस्तै, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव डक्टर शरणकुमार पाण्डे, कृषि निर्देशनालयका प्रकाशकुमार डाँगी, अलैँची तथा अदुवा व्यवसायी लगायतको उपस्थिति रहेको थियो । रोङ गाउँपालिकाभित्र रहेका कृषकहरूमध्येबाट नै उत्कृष्ट ज्ञान, सीप, दक्षता नेतृत्व कार्यक्रम अघि बढाइएको अध्यक्ष स्याङबोले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत परिश्रमी र समर्पित किसानहरूमध्येबाट गुरु कृषक छनोट गरी कृषि तथा पशुपालन सम्बन्धी ज्ञान, सीप क्षमता विकासमा योगदान गर्ने जनशक्तिको विकास गर्ने योजना रहेको छ । त्यस्तै, आफ्नो योग्यता, क्षमता र अनुभवबाट अरूलाई पनि उदाहरणीय बनाउन सकिने अवधारणा विकास गर्ने, कृषकहरूमा व्यावसायिक क्षमता विकास गर्ने, किसानहरूलाई वित्तीय साक्षरता, डिजिटल साक्षरता र पोषण साक्षरता विषयहरूमा सहजीकरण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।
कृषिजन्य तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि, कृषि व्यवसायलाई उच्च र सम्मानित व्यवसायको दर्जा प्रदान गर्ने संस्कृतिको विकास गर्ने, गुरु किसानमार्फत तीन तहको सरकारको सम्पर्क सञ्जालको रुपमा विकास गर्ने, असल र सफल अभ्यासलाई सबै किसानसम्म पुर्याउनु , हनी (मह) बैङ्क स्थापना गर्ने, हरेक बालीको रोपणदेखि प्रशोधनसम्मका भिडियो सामग्री तयार गरी सचेतना फैलाउने कार्यक्रमको उद्देश्य रहेको छ ।
गुणस्तर नियन्त्रणको लागि आवश्यक प्राविधिक (फुड टेक्नोलोजिस्ट, बायोलोजिस्ट) जनशक्ति, परीक्षण ल्याब पूर्वाधार उपलब्ध गराउने, “पानीको पुनः प्रयोग“ विधिलाई प्रयोग गर्दै जलवायु अनुकूलित खेती प्रणालीमा किसानलाई अभ्यस्त गराउने, गुरु किसानलाई व्यावहारिक र अनुभवले खारिएको अघोषित प्राविधिकको रुपमा कृषकलाई सहयोग पुर्याउनु गुरु किसान कार्यक्रमको योजना रहेका अध्यक्ष स्याङबोले बताए ।