अर्जुनधारा जलेश्वरधामको ३३औं साधारण सभा

0
28

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिको ३३औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समितिको श्रवणहलमा अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि ज्येष्ठ नागरिक १०४ वर्षीय मुक्तिनाथ खतिवडाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा समितिका महासचिव शिवलाल खतिवडाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनोज जोशीले गत आर्थिक वर्ष २०८०/०८१ र चालु आर्थिक वर्ष २०८१/०८२ फागुन मसान्तसम्मको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समितिले आगामी दिनमा अर्जुनधारा जलेश्वर धाम क्षेत्रमा रहेका तीर्थस्थलहरुको खोजी गरि त्यसको विकास गर्न धार्मिक सर्किट तयार गर्ने, धामको मूल मन्दिरको गर्भगृहको भुईंतलामा चाँदीको जलप लगाउने, गुरुयोजना अनुसार सूर्यकुण्डको जीर्णोद्वार गरि रथसहित सूर्य भगवानको प्रतिमा स्थापना गर्ने, प्रदेश सरकार सांसद् कोषबाट विनियोजित पाँच लाख रुपैयाँबाट मोबाइल शौचालय निर्माण गर्ने, पोखरीको फोहोर पानी निकासका लागि नाला निर्माणलगायतका कार्यहरु गर्ने प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी समितिले गत आर्थिक वर्षमा दुई करोड १९ लाख ३३ हजार १९ रुपैयाँ ४१ पैसा र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दुई करोड ७६ लाख ४१ हजार चार सय २५ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ ।

सोही कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ नागरिक खतिवडालाई पालिकाकै ज्येष्ठ नागरिकको रुपमा घोषणा गरि दोसल्ला ओढाई सम्मानित गरिएको बताइएको छ । कार्यक्रममा अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, सामाजिक व्यक्तित्वहरु नितीरमण गौतम, लोकनाथ पौड्याल र सरस्वती सिटौला गोले, समितिका सल्लाहकार लवकुश गिरीलगायतले मन्तव्य राखेका थिए ।

समितिकी उपाध्यक्ष चन्द्रकला भण्डारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here