लेखक ज्ञानु बुढाथोकीज्यूबाट सृजना गरिएको उपन्यासको नाम याङरुप जुन बहुपक्षिय, समयसापेक्ष प्रतिबिम्ब बोकेको सामाजिक यथार्थवादी कृति हो । बुँदागत रुपमा यसभित्रका औपन्यासिक विशेषताको चर्चा गरेको छु । याङरुप लेखकको जन्मभूमि पनि हो ।
स्वास्थ्योपचार पद्धतिमा परम्परागत प्रणालीः जे जस्तो छ त्यस्तै हस्ताक्षरले समाजको ऐना प्रस्तुत गर्नु लेखकीय खुबी देखिएको छ । समाजमा विद्यमान, धामी, झाँक्री, सगुन बुझाउने, बुढीबजु र सिकारी बुझाउने, आँखीडाही र रक्तभोगी देवीको भाकल, खोलाको मसान खेलाउने बीर धामी, उनीहरुको पोशाक र पहिरन, झारफुक, जोखाना हेर्ने तौर, तरिकाहरुको अल्छी नमानी प्रस्तुत गरेर याङरुपको स्वास्थ्य उपचारको परम्परागत इतिहासलाई जीवन्त राख्न मद्दत गरेको छ ।
समाजको आर्थिक अवस्था ः परम्परागत कृषि प्रणालीमा आधारित ग्रामिण जनजीवनको रूप याङरूपले छर्लङ्ग पारेको छ । सानो पशुपालन व्यवसाय, सम्पन्नता र विपन्नता बिचको दुरीले ल्याउने आर्थिक संकट, ऋण सहयोग, शोषणको कारुणीक दृश्य, बाध्यतापूर्वक कायम राखिनुपर्ने सम्बन्धहरु, अपमान बोध, स्वाभिमानमा चोट लागे पनि खपिरहनुपर्ने हृदयविदारक दृश्य, सीमित आयका स्रोतहरू, गरिबीको पराकाष्ठामा पनि सहयोगको भावना जीवन्त रहनु, इत्यादि कतिपय ग्रामिण स्तरमा समाजले भोगिरहेकै छ ।
सामाजिक अवस्थाको सजिव प्रस्तुतिः समाजमा शिक्षाको स्तर विकास नभएको हुँदा छूवाछूत, जातिगत विभेदले जरो गाडेको छ । सानो उमेरदेखि वृद्धसम्म खेतबारीमा निरन्तर काम गरिरहँदा पनि बर्षभरि हातमुख जोर्न नपुग्ने यथार्थ पीडा, थामिनसक्नु संघर्ष भोग्ने त्यो समय र समाजको आँखी झ्याल बनेको छ, यो कृति याङ्रुप र यसका कलाकार बनेका छन् ज्ञानु बुढाथोकीज्यू । समाज मिश्रित छ– सोच र व्यवहारमा । सहयोगी पनि छन शोषक पनि छन् । आपद् विपदमा एकजुट हुने सहयोगी मन आज पनि गाउँमा जीवन्त देखिन्छ ।
सांस्कृतिक पक्षः संस्कृति हाम्रा गहना हुन, मौलिक पहिचान हुन् जुन सप्तरङ्गी फूलबारी बनेर सुगन्ध फैलाएका छन् । याङ्रूपको आँगनमा मेला बजार, दशैं, तिहार, बिहेबटुलो, पूजाआजा चेलीमाइती सम्बन्ध, गाउँघरका साइनो, सम्मानले दुःखमा पनि रमाउन, हसाउँन जान्ने कला भएको सरल र सहज चरित्रहरुले गाउँ, भिर, पाखा भरिएका छन् । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताले बशुदैव कुटुम्बकम कायम रहेको आभाष हुन्छ ।
पात्रहरुः बहुचरित्रहरु छन् । पात्रहरूमा स्थानीय भाषाको प्रयोगले जादुमयी, आकर्षक रस भरेको छ । सरल भाषा बोल्ने चमत्कारिक प्रयोगले यी पात्रहरु मातृभाषामा खुब रमाएका छन् । पढ्न निक्कै ध्यान दिनुपर्ने हुन्छ । कथ्य भाषाहरूको प्रयोगले स्थानीय भाषाको सम्बद्र्धन गरेको छ ।
उपन्यासभित्रको कथा र अन्तरसम्बन्धः सानैमा बुबाको वियोग र आमाले विवसताले छोडे पनि मूल पात्र ‘याम’ बिग्रिएका छैनन् । हजुरआमा काका, काकी, साथी र समाजको सही संगतले आर्दश चरित्र स्थापित गर्न सफल छन् । मूल पात्रकै हाराहारीका अमर नामक पात्रलाई सहयोग गरेर अगाडी बढाउने विचार, कर्म हेर्दा निकै उच्च सेवाका भावना बोकेका अन्य सहायक पात्रहरु छन् । तराईदेखि पहाडसम्मको भूगोलमा सकारात्मक सोच भएका पात्र भेटिन्छन् । प्रेम, आर्कषण, द्वन्द्व, वियोग, परिस्थितिजन्य हुन्छन्, स्वाभाविक पनि हो ।
जीवन, दर्शन र अध्यात्मका सुन्दर पक्षहरु मुख्यपात्र यामबाट बेला–बेलामा पोखिएका छन् । एउटा सामान्य भिखारीलाई गरिएको उच्च मानवीय दृष्टिकोणको व्यवहारले लेखकको चेतना परिष्कृत देखिएको छ । आत्माको स्तरमा सबै सृष्टि एउटै हो, भौतिक रूपमा फरक भएता पनि यसरी यो उपन्यासको सौन्दर्य पक्षले पनि मन छोएकै हो । उपन्यासभित्र कथाको उठान जसरी भएको छ यसको विकासमा कौतुहलता छुट्दै जान्छ र कतै अन्तरसम्बन्ध अनायस हराएको र कथाको सिलसिला अकस्मात जोडिएको पनि आभाष हुन्छ ।
उपन्यासको संरचनाः विभिन्न ३६ वटा शीर्षक राखेर त्यसैको बारेमा प्रष्ट्याउन खोजिएको रहेछ । कतिपय शीर्षकमा शीर्षक नै राख्नुपर्ने कारण देखिँदैन जस्तै ‘तपाईं’ विषयलाई एउटा अनुच्छेदमा राख्न सकिने सन्दर्भ थिए । शीर्षक र विषयवस्तु धेरै भएकोले छुट्टै शीर्षक दिनैपर्ने देखिँदैन । स्थानीय भाषाको प्रयोगले मूलरुपमा पढ्न दिक्क लागेको थियो । किनभने ति भाषा व्यवहारमा सुन्ने बानी हराइसकेको थियो । निकै मेहनत गरेर दोहो¥याएपछि मात्र उपन्यास अगाडि बढ्यो । कथावस्तुको संवेदना अति मार्मिक भएकोले पाठकको मन छुन्छ । विभिन्न सात वटा शीर्षक दिएर उपन्यास लेख्नुको कारण प्रष्ट पारिसक्नु भएको छ । सामाजिक यथार्थवादी उपन्यास भएकोले कथावस्तु पनि कल्पना जस्तो नभएर यथार्थ बगेको छ ।
कथाको उठान मार्मिक घटनाबाट शुरुवात भएपछि भित्रको दुःख अन्त्यसम्म रहिरहन्छ । उखान टुक्काको प्रयोग भएका छन् । मोही मागेको मिठो प्रसंगले आज पनि जीवित परम्परा धानेकै छ । राम्रो मानिस बन्न सबै किसिमका भूमिकामा पारङ्गत हुँदै मेहनत गर्नैपर्छ । ‘याम’ आर्दश पात्र हुन् । नारीपात्रहरु स्वभाविक र सघर्षशिल छन् । समयसँगै राजनीति र शैक्षिक चेतनाले प्रभाव पारेको समाजलाई व्यवहारमा उतार्न पात्रहरुबाट नै चेतनाको प्रवाह फैलिएको छ । फावा जिन्दगीलाई यस्तो उम्दा कथावस्तु तयार पार्न प्रेरणा दिने लेखकको स्वप्रेरणाालाई नमन गर्दछु ।
लेखक ज्ञानु बुढाथोकीलाई पूर्ण स्वास्थ्यको कामना गरें । याङरूप मेरै आँखा अगाडि खडा भएर बसेको छ । पढ्नयोग्य कृति हो । अहिलेको समयमा पनि अस्वस्थ्य अवस्थामा यति सुन्दर सामाजिक मौलिक सृजना नेपाली साहित्यलाई दिनुभएकोमा हार्दिक धन्यवाद दिएँ । कलमले चेतनाको स्रोतलाई समाउन सकोस शुभकामना ।