बिर्तामोड।
नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले नेविसंघ स्थापनाको इतिहास प्रजातन्त्र स्थापना र जनअधिकारका लागि जोडिएको स्मरण गर्दै स्ववियुमा निर्वाचित विद्यार्थी नेताहरुलाई शैक्षिक समस्या समाधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि काम गर्न आह्वान गर्नुभएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट झापाका १३ वटै क्याम्पसका विजेता र उपविजेता विद्यार्थीहरुलाई बधाई, शुभकामना तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै सभापति थापाले यस्तो आह्वान गर्नुभएको हो ।
असफलताबाट सफलता प्राप्त हुन्छ भन्ने उद्देश्यसहित अंग्रेज उपनिवेशपछि अमेरिकाले गरेको विकास, हिरोसिमा र नागासाकीमा बम आक्रमणपछि बद्लाको भावनाभन्दा बद्लिएर काम गर्नुपर्छ भन्ने जापानको सोच, भोकमरीबाट चिनले गरेको आर्थिक क्रान्तिको उदाहरण प्रस्तुत गर्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका नेता थापाले भन्नुभयो–‘बदला लिने उद्देश्यले होइन, बद्लिएर काम गर्नुस्, सफलता प्राप्त हुन्छ । निर्वाचन सकिएपछि बद्ला लिने होइन आफू बद्लिएर सबैलाई साथमा लिनुस्, विद्यार्थीको हकहित, शैक्षिक समस्या, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं पार्टी संगठन बलियो बनाउन भुमिका खेल्नुहोस् ।’
अर्को एक प्रसङ्गमा सडकको जुलुसले राजतन्त्र नफर्कने दावी गर्दै नेता थापाले राजतन्त्र निरंकुश बन्दै गएपछि नेपाली कांग्र्रेसले संवैधानिक राजतन्त्रको सिद्धान्त परित्याग गरी लोकतान्त्रिक गणतन्त्रको बाटो रोजेको स्पष्ट पार्नुभयो ।
‘वि.पी.ले राजा र मेरो गर्धन एकैठाउँ छ भन्नुभएको थियो, जब राजाहरु निरंकुश हुन थाले तब कांग्रेसले राजतन्त्रको मुद्दा छोडेर लोकतान्त्रिक गणतन्त्रको बाटो लिएको हो ।’–थापाको भनाई थियो ।
आजका युवाको सफलतामा भोलीको देशको भविष्य निर्धारण हुने बताउँदै कार्यक्रमका सभापति एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले स्ववियु निर्वाचनमा प्राप्त सफलताले पार्टीलाई उत्साहित बनाएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले निर्वाचन परिणामले कांग्रेसमा पुरानो पुस्ता र नयाँ पुस्ता सँगसँगै छ भन्ने सन्देश दिएको बताउँदै जितको उन्माद नराखी सबैलाई समेटेर विद्यार्थीको हकहितमा काम गर्न विद्यार्थी नेताहरुलाई आह्वान गर्नुभयो ।
नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेविसंघ झापा सभापति सञ्जय निरौला, कनकाई आदर्श क्याम्पस विर्तामोडका स्ववियु सभापति किरण गुरुङ लगायतले मन्तब्य राख्नुभएको कार्यक्रममा निर्मला आचार्यले मुक्तक प्रस्तुत गर्नुभएको थियो ।
नेपाली कांग्रेस झापा सचिव एवं विभागीय प्रमुख नवीन विमलीले स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमगााईले गर्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा झापाका १३ वटै क्याम्पसमा विभिन्न पदमा नेविसंघको तर्फबाट उम्मेद्वार बनी विजयी तथा उपविजयी बनेका विद्यार्थीहरुलाई बधाई, शुभकामना तथा सम्मान गरिएको थियो ।
गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा झापाका गौरीगञ्ज बहुमुखी क्याम्पसमा रोशन यादव, गौरादह कृषि क्याम्पसमा स्वर्णिम अधिकारी, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा बासुदेव निरौला, कनकाई आदर्श क्यामपस विर्तामोडमा किरण गुरुङ, इन्द्रचन्द्र क्याम्पस विर्तामोडमा श्रीजित ढुङ्गाना, शनिश्चरे बहुमुखी क्याम्पसमा विशाल थापा, काँकरभिट्टा बहुमुखी क्याम्पस सुरज राई, मेची बहुमुखी क्याम्पस भद्रपुर निलम कार्की, दमक बहुमुखी क्याम्पसमा भुपेन्द्र बस्नेत नेविसंघका तर्फबाट स्ववियु सभापति विजयी भएका थिए । उनीहरुको नेतृत्वमा स्ववियुका विभिन्न पदमा नेविसंघका विद्यार्थीहरु निर्वाचित भएका थिए ।
सितारमेश क्याम्पसमा विवेक वाग्ले, त्रिदेव क्याम्पसमा मनिष गहतराज, गरामनी क्याम्पसमा रोनिश पाठक, गौरादह बहुमुखी क्याम्पसमा मदन सिटौलाको नेतृत्वमा स्ववियु निर्वाचनमा प्रतिष्पर्धा गरेपनि उपविजयी हुनुपरेको थियो । ती क्याम्पसका उपाध्यक्षसहित विभिन्न पदमा नेविसंघका विद्यार्थीहरु विजयी भएका थिए । विजयी तथा उपविजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं अतिथिहरुले अविर र खादा लगाएर स्वागत सम्मान गरेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।