अर्जुनधारामा प्रथम वडास्तरीय नकआउट क्रिकेट प्रतियोगिता हुने

0
96
अर्जुनधारा । 
झापाको अर्जुनधारामा यही चैत २० गतेदेखि २५ गतेसम्म प्रथम वडास्तरीय नकआउट क्रिकेट प्रतियोगिता–२०८१ सञ्चालन हुने भएको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगिता पालिकामा क्रिकेट खेलको प्रबद्र्धनसँगै क्रिकेट खेलाडीहरुको दक्षता एवम् क्षमता वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको शुक्रबार आयोजित पत्रकार भेटघाटमा समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
पालिका अन्र्तगत ११ वटा वडाबाट टिमको सहभागिता रहने प्रतियोगिताका विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ५० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका सदस्य सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।
टी२० फर्मेटमा सञ्चालन हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाँच हजार, फेयर प्ले टिमले नगद पुरस्कार पाँच हजार, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, र बेस्ट क्याचले नगद पुरस्कार जनही तीन हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद पुरस्कार एक हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित दुई लाख ९३ हजार छ सय ५० रुपैयाँ खर्च लाग्ने बताइएको छ । समितिका अध्यक्ष धिमालको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रतियोगिताको औचित्य वडा सदस्य केशव थापाले प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन सदस्य सचिव लिङदेनले गरेका थिए । यसैबीच कार्यक्रममा उक्त प्रतियोगिताको टाईसिट पनि सार्वजनिक गरिएको थियो । अर्जुनधारा–७स्थित प्रस्तावित अर्जुनधारा रंगशालाको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल अर्जुनधारा–२ नं. वडा र अर्जुनधारा–११ नं. वडाबीच प्रतिस्पर्धा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here