बेलबारी ।
मोरङको बेलबारीमा रहेको एउटा होटलमा सञ्चालित तासको खाल (तासको अड्डा)मा प्रहरीले छापा हानेको छ ।
होटलको तास खालमा छापा हानेर प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले बेलबारी नगरपालिका–१० भाउन्नेमा रहेको एक होटलमा शनिबार साँझ ६ः४० बजेतिर छापा हानेको हो ।
त्यस क्रममा तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको र उनीहरुको साथबाट १ लाख ५ हजार ८० रूपैयाँ नगद र ८ बुक तास बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।
उनका अनुसार होटल सञ्चालक फरार भएका छन् । फरार रहेकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । कानुनी कारबाहीका लागि म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने एसपी चिमरियाले बताए ।