इलाम,
प्रहरी उपरीक्षक एकनारायण कोइरालाले कमाण्ड सम्हालेदेखि नै अपराध अनुसन्धानमा इलाम प्रहरी सक्रिय भएर लागेको छ । छोटो अवधिमै इलाममा जघन्य अपराधका सफल अनुसन्धानहरु भएका छन् ।
प्रहरी उपरीक्षक कोइरालाले गत माघ २३ गतेदेखि जिम्मेवारी सम्हालेका छन् । त्यसयता विगत दुई महिनाको अवधिमा विभिन्न पाँचवटा जघन्य अपराधमा संलग्न अपराधीहरुलाई पक्राउ गर्न इलाम प्रहरी सफल भएको हो । अपराध नियन्त्रणमा प्रहरीको भूमिका महत्वपूर्ण पाइएको छ ।
कोइरालाले इलाम प्रहरीको नेतृत्व सम्हालेको भोलिपल्ट माघ २४ गते भएको हत्यामा संलग्नलाई इलाम प्रहरीले पक्राउ गरी कानुनको कठघरामा पुर्याएको छ । इलाम नगरपालिका ९ गोलबस्तीमा सोही ठाउँ वस्ने ३१ वर्षीय बिमल खवास र इलाम नगरपालिका १२ बस्ने २४ वर्षीय मगर माईला भनिने खड्कबहादुर लुङ्गेलीले ३२ वर्षीय मिलन सुनुवारलाई कुटपिट गरी हत्या गरेका थिए । कुटपिट गर्ने अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष टोलीले तदारुकताका साथ खोजतलास गरी माघ २७ गते पक्राउ गरेको थियो ।
पछिल्लो पटक आफ्नै गर्भवती श्रीमतीलाई हत्या गर्ने फाकफोकथुम गाउँपालिका ३ सल्लेरी बस्ने उमेश गिरीलाई पक्राउ गरी इलाम प्रहरीले सफल अपराध अनुसन्धान गरेको छ । त्यस्तै नाबालिकालाई ललाई फकाई जबर्जस्ती करणी गर्ने अभियुक्त तथा घटनालाई मिलाउन खोज्ने ब्यक्तिहरु समेतलाई इलाम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य अभियुक्त माई नगरपालिका २ बस्ने २४ वर्षीय केशब गिरी र घटना मिलाउन पीडक पक्षलाई नगद दिने माई नगरपालिका २ बस्ने ५८ वर्षीय केदारनाथ गिरी, सोही स्थान बस्ने ४३ वर्षीय यादव भन्ने नारायण गिरी र सोही स्थान बस्ने ३८ वर्षीय पाँचथरे भन्ने तुलाधर अर्याल रहेका छन् । गत चैत ६ गते साँझ ६ः३० बजे माई नगरपालिका २ सितलीस्थित चिया बगानमा नाबालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको भनी पीडितका आमाले जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् । जाहेरी दिनासाथ प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा प्रहरी टोली खटिएर सोही दिन इलाम र झापाको सिमाना सुखानीमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
त्यस्तै गत फागुन ३ गते राति मृत फेला परेका इलाम नगरपालिका वडा नं। ४ भित्ते बस्ने ६७ वर्षीय देउप्रसाद चाम्लिङ राईको हत्यामा संलग्न सन्दकपुर १ छरछरे बस्ने ३२ वर्षीय राम राई र सोही ठाउँका २९ वर्षीय बिरेन भन्ने बिरेन्द्र राईलाई एक महिनापछि गत चैत ३ गते पक्राउ गर्न सफल भएको छ । प्रहरीले जघन्य खालका चारवटा हत्या र एउटा बलात्कारको सफल अनुसन्धान गरी अपराधीलाई पक्राउ गर्न सफल भएको हो ।
अपराध अनुसन्धानमा इलाम प्रहरी तदारुकताका साथ लागेको प्रहरी उपरीक्षक कोइरालाले बताए । लागूऔषधको समस्या बढ्दै गएको अबस्थामा त्यसलाई न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको उनले जानकारी दिए । माघ २३ देखि बैशाख २३ सम्मको आफ्नो तीन महिने कार्य प्रगति समीक्षासहित सार्वजनिक गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक संजिव बोगटीले अहिले खासगरी इलाममा कर्तव्य ज्यान , जवर्जस्ती करणीजस्ता अपराध बढेको परिप्रेक्ष्यमा प्रहरीले क्वीक एक्सन संचालन गरिरहेको जानकारी दिए । उनले कुनै पनि घटनाको सूक्ष्म अनुसन्धान गरेर जरोसम्म पुगेर प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जानकारी दिए । समाजमा घटिरहने यस किसिमका घटनाहरुलाई हुन नदिन जनचेतना , गस्ती , प्रचार प्रसार जस्ता कार्यहरु पनि गर्दै आएको उनको भनाई छ ।
गत माघ २० देखि चैत १८ गतेसम्म जवर्जस्ती करणीका ३ वटा मुद्धा दर्ता भएकोमा पाँच जना पक्राउ परेका छन् भने एकजना फरार छन् । त्यस्तै सोही अवधिमा लागूऔषधका ६ वटा मुद्धा दर्ता भएका छन् । लागूऔषधको कारोबारमा संलग्न ८ जना पक्राउ परेका छन् भने एकजना फरार छन् । प्रहरीले ५ ग्राम ३१० मिलिग्राम ब्राउनसुगर , लागूऔषधजस्तो देखिने सेतो धुलो १ ग्राम २० मिलिग्राम , लागूऔषधजस्तो देखिने कालो गिलो ९ कानी० ३ ग्राम ३९० मिलिग्राम र मे १ च ४५२५ नं को पिकअप बरामद गरेको छ ।
इलाम प्रहरीले दर्ता भएका कसूरहरुका अभियुक्तहरुलाई प्रभावकारीरुपमा पक्राउ गर्न सफल भएको देखिएको छ । माघ २० देखि चैत १८ सम्म दर्ता कसूरहरुको संख्या २५ रहेकोमा २० जना अभियुक्त पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जुन प्रतिशतको आधारमा ८० प्रतिशत हो । त्यस्तै माघ २० देखि चैत १८ सम्म दर्ता कसूरहरुको अभियुक्त संख्या ४० रहेकोमा ३४ जना पक्राउ परेका छन् । ६ जना फरार छन् । ८५ प्रतिशत अभियुक्तलाई पक्राउ गर्न सफल भएको इलाम प्रहरीले जनाएको छ ।