झापा, वशिष्ठ भण्डारी समाजको आयोजनामा आगामी चैत २५ गते समापन हुने गरी बृहन्नारदीय महापुराण हप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ । कोटिहोमस्थित वशिष्ठ भण्डारी समाजको केन्द्रीय कार्यालय परिसरमा महायज्ञ शुरु भएको हो । महायज्ञमा आचार्य पण्डित छन्दुराम भण्डारीले कथावचन गरिरहेका छन् ।
आगामी चैत २५ गते सामुहिक उपनयन सहित महायज्ञ समापन गरिने बताइएको छ । त्यस अघि महायज्ञको अवसरमा भण्डारी वंशका सन्नतिहरु मध्ये एसइई , कक्षा १२ र स्नातक तहमा सर्वाेत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिने कार्यक्रम रहेको जनाइएको छ ।
वशिष्ठ भण्डारी समाजले २०४६ सालयता पितृ उद्दार तथा विश्वशान्तिको कामना सहित रहेक वर्ष महायज्ञ संचालन गर्दै आएको छ । यस वर्षपनि राम नवमीको अवसर पारेर ज्ञान महायज्ञ संचालन गरिएको समाजका कृष्णप्रसाद भण्डारी मार्सेलीले जानकारी दिए । महायज्ञमा सहभागीलाई यस वर्षदेखि निःशुल्क वंशावली समेत प्रदान गरिँदै आएको छ ।
वशिष्ठ भण्डारी समाजले आगामी चैत २३ गते नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।