सरकारले तीनकुने घटनाका मृतक परिवारलाई दश–दश लाख दिने भएको छ । गत चैत १५ गते तीनकुनेमा भएको घटनामा दुई युवाको दुःखद् मृत्यु भएको थियो । तीनकुनेको सभास्थल र कार्यक्रमको गतिविधि नजिकै रहेको घरबाट छायांकन गरिरहेका एभीन्यूजकर्मी सुरेश रजकको जलेको अवस्थामा शव भेटिएको थियो भने अर्का युवक सविन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । राजसंस्थावादीहरुले शुरु गर्न थालेको सभामा अश्रुग्यास प्रहार भएपछि भीड अराजक भएको कतिपय प्रत्यक्षदर्शीको भनाइ छ । केही पूर्व प्रहरी पदाधिकारीले पनि प्रहरीले संयम गुमाएको टिप्पणी गरेका छन् । सवीन सडकमा हिँड्दा–हिँडदै प्रहरीको गोली लागेर ढलेका थिए ।
घटना भएको झण्डै एक हप्तापछि सरकारका तर्फबाट मृतकका परिवारलाई दश लाख रुपैयाँ दिने निर्णय भएको बुधबार गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको हो । एकैदिन गणतन्त्रवादी मोर्चा र राजसंस्थावादी समूहको आयोजनामा दुई अलग–अलग ठाउँमा कार्यक्रम थियो । तर, तीनकुनेको कार्यक्रम झडपमा परिणत भयो । जसका कारण दुई युवाले ज्यान गुमाए भने आगजनी, तोडफोड लगायतका घटना भएका थिए । बुधबार नै नेपाल प्रहरीले उत्तेजित भीडलाई नियन्त्रण गर्न तीनकुनेमा गोली चलाउनु परेको स्पष्टिकरण दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी दिनेश आचार्यले त्यसक्रममा करिब दुई सय राउण्ड ब्ल्याङ्क फायर गरेको जानकारी दिए । डीआइजी आचार्यका अनुसार उत्तेजित भीडलाई नियन्त्रणमा लिन ५८ राउण्ड गोली र सात सय ४६ राउण्ड अश्रुग्यास प्रहार भएको थियो । तर, सशस्त्र प्रहरीले भने विवरण अझै सार्वजनिक गरेको छैन । प्रवक्ता आचार्यले तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि त्यसलाई नियन्त्रण गर्न पहिलो अश्रुग्यास प्रहार गरेको बताएका छन् ।
तीनकुने घटना यतिबेला सर्वाधिक चर्चा र चासोको विषय बनिएको छ । मानवताबिरुद्धको यस्तो घटना फेरि नदोहोरियोस्, संविधानप्रदत्त अधिकार उपयोग निर्वाध रुपले गर्न पाऊन् । सरकारको विपक्षमा रहनेहरुको आवाजलाई पनि सम्बोधन गरोस् । अनुमति लिएर आयोजना गर्दै गरेको कार्यक्रम अश्रुग्यास प्रहार गरेर उत्तेजित बनाउनुपर्ने परिस्थिति कसरी के कारणले उत्पन्न भयो । यी र यस्ता सवाल प्रकट भइरहेकै बेला नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रबहादुर सिंहले सम्पूर्ण क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने विचार प्रकट गरेका छन् । ०६२÷०६३ को आन्दोलनमा महवपूर्ण जिम्मेवारी सम्होलेका सिंहले तीनकुने घटनाको निष्पक्ष छानविन हुनुपर्ने भन्दै त्यसको निष्पक्ष र वस्तुनिष्ठ अनुसन्धान गर्न माग गरे । सम्पूर्ण परिस्थिति र घटनाको जिम्मा गृहमन्त्रालय र सरकारले लिनुपर्ने भन्दै उनले यस्ता घटनाले प्रहरी संयन्त्र नै कमजोर हुने बताए । घटनाको पक्ष–विपक्षमा अनेक तर्क–वितर्क भइरहेका समय सरकारले समयमै निष्पक्ष र उच्चस्तरीय समिति गठन गरी सत्य–तथ्य सार्वजनिक गरोस् ।