पथरी शनिश्चरे।
मोरङको उर्लाबारी नगरपालिकाका अनाथ बालबालिकाहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन मलेसिया प्रस्थान गरेका छन्।
उर्लाबारी -७ नमुना बालगृहका बालबालिकाहरु १६ औ अन्तर्राष्ट्रिय योग खेलकुद प्रतियोगितामा भाग लिन बिहिबार मलेसिया प्रस्थान गरेका हुन् । बिहीवार उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विशेष शुभकामनासहित बिदाइ गरेका थिए ।
ईतिहासमै पहिलो पटक विश्वका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न अनाथ बालबालिकाहरूले गत फागुन १० गते काठमाडौको टोखामा भएको छैटौं राष्ट्रिय योग प्रतियोगितामाउत्कृष्ट नतिजा सहित खेल कुशलता प्रदर्शन गरेका थिए। देशकै गौरव बढाउने बालगृहका पाँच अनाथ बालबालिकाहरू विश्वस्तरको प्रतिस्पर्धामा भाग लिन मलेसियामा सहभागिताको लागि विदाई गरिएको थियो।
उनीहरूले गत फागुन १० गते काठमाडौंको टोखामा सम्पन्न छैटौं राष्ट्रिय योग प्रतियोगितामा २ स्वर्ण, ३ रजत र १ कांस्य पदक जितेका थिए । अब उनीहरुले मलेसियाको क्वालालम्पुरमा यही चैत्र २६ र २७ गते आयोजना हुनगइरहेको १६औं विश्व योग खेलकुद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै छन् । त्यहाँ सहभागी हुन उनीहरूको बिहीबार नै अपरान्ह ४:३० बजे मलेसिया तर्फ उडान भइसकेको छ।
प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उनीहरूलाई बिदाई गर्दै बालबालिकाहरूको आत्मविश्वास, क्षमता र अनुशासनप्रति प्रशंसा व्यक्त गर्नुको साथै सफलताको शुभकामना दिनु भएको थियो। सामान्यतयाः आर्थिक अभावका कारण आफ्नो प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा देखाउन नसक्ने बालबालिकाहरूलाई यस पटक उर्लाबारी नगर हङकङ परिवार र विभिन्न सामाजिक संस्था तथा सहयोगी मनहरूले साथ दिएका छन्।