लीलबहादुर क्षेत्रीसँगको अविस्मरणीय क्षण

0
15

मैले बसाइँ उपन्यास पढेको ठ्याक्कै २७/२८ वर्ष जति भएछ । आइए पढ्दा २०४९÷०५० सालतिरको कुरा हो । हिजोअस्ति जस्तो लाग्छ । त्यतिबेला यसका लेखक लीलबहादुर क्षत्रीका बारेमा सिरिप नाम र उनको उक्त बसाइँ उपन्यास बाहेक मलाई अरू केही थाहा थिएन । पहिलो पटक उपन्यास पढ्दा नेपालको पहाडीया गाउँले जन–जीवन र उसबेलाको सामाजिक परिवेशको जस्ताको तस्तै चित्र उतारिएको अनुभूति भयो । यो उपन्यासले मेरो हृदयमा एउटा छाप मात्र छोडेन कि साहित्य सिर्जनामा लाग्न मलाई ठूलो प्रेरणा समेत प्रदान ग¥यो ।

लाग्यो, लेखक त यस्तो पो हुनुपर्छ त ! जसको र जुन समाजको चित्रण गरे पनि पाठकलाई आफू स्वयम् र आफ्नै समाजको चित्रण गरे जस्तो भान हुने । अरूहरूलाई कस्तो लाग्यो ? मलाई भने त्यतिबेलै पुस्तक पढिसकेपछि एक पटक लेखकलाई भेट्न सारै मन लाग्यो । मन मात्रै लाग्यो । कहाँ र कसरी भेट्ने ? पछि काँबाट कसले भन्यो लीलबहादुर क्षत्री त आसामका हुन् । उनलाई भेट्न त आसाम जानुपर्छ । अब यो मेरा लागि काँ हो काँ आकाशको फल जस्तो भइगयो । बिस्तारै त्यत्तिकै उहाँलाई भेट्ने मन मरिसकेको थियो ।

भनिन्छ, भगवानले तँ चिता म पु¥याउँछु भन्छन् रे । मलाई भगवान्प्रति त्यति विश्वास लाग्दैन । यो कुराको जिम्मा म भगवान्लाई दिँदा पनि दिन्न । उपन्यास पढेको २६÷२७ वर्षपछि जसोतसो मलाई आसाम जाने साइत जु¥यो । यो मेरो कुनै साहित्यक यात्रा पनि थिएन । न कुनै कार्यक्रम नै थियो । नितान्त यो मेरो पारिवारिक भेटघाट थियो ।

२०७६ असोज २८ गते मङ्गलबारका दिन बाटो लागियो । टाढामा लङ्कासम्मको यात्रा थियो । बुवाले फुपूलाई हेर्न हिँड् । मलाई पनि पु¥या, भनेको दुई–तीन वर्ष जति भइसकेको थियो । केही महिनाअघिदेखि तँ जाँदैनस् भने म एक्लै भए पनि कसैको साथ लागेर जान्छु । एक जुगै भयो, दिदीसँग भेट नभएको । पोहोरको सालदेखि त थलै छिन् अरे । आउनेले खबर ल्याउँछन् । मेरी त दिदी हुन् । माया लाग्छ । आज हो कि भोलि, मर्ने बेला पनि भयो । यसपाली त जसरी भए पनि पुगेर आउँनुपर्छ भन्न लाग्नुभयो । लाखेलाखे भन्दै टारेको पनि निक्कै वर्ष भइसकेको थियो । यसपाली भने नपु¥याइ धर पाइएन ।

लगभग आसाम जाने निधो भइसकेपछि विवश पोखरेल दाइलाई फोन गरेर सोधेँ, दाइ तपाइँसँग लीलबहादुर दाइको फोन नम्बर छ ? दाइले छैन भाइ भनेपछि म एकछिन् घोरिएँ । कोसँग लिने त ? कसो–कसो क्लिक भयो दिमाग । पक्कै पनि रोचक दाइसँग छ । रचनाको सम्पादक रोचक घिमिरे दाइलाई कल गरेँ । दाइ तपाइँसँग लीलबहादुर क्षेत्रीको फोन सोधेँ । दाइले किन चाहियो नम्बर उहाँ आसामको गुहाटीमा बस्नुहुन्छ भन्नुभयो । मैले भनेँ– म आसाम जाँदैछु दाइ अनुकूल मिलेछ भने भेटेर आउनुप¥यो भन्ने लागेको छ । त्यही भएर दाइ । दाइले भन्नुभयो ए लौ त्यसो भए रोचक घिमिरेले पनि सम्झेको छ रे भन्दिनु है । म नम्बर खोज्छु है त । भए जस्तो त लाग्याछ भन्नुभयो । रहेछ एकछिनपछि म्यासेज गरेर पठाइदिनु भएछ दाइले ।

उताबाट आउनेको साथ लागेर गइयो । हतार छ भन्दाभन्दै पनि लङ्कामा चार दिन बित्यो । माइलुको बसाइ हाम्रो । आसाम पुगेको तीन दिनपछि दाइलाई कल गरेँ । भोलि दिउँसो १२ बजेतिर आउनस् भन्नुभयो । बेलुका ५ बजेतिर दाइको घरसम्म पुगियो । अझै केही दिन बसौँ लाग्दै थियो । लागेर मात्र नहुने । घर–व्यवहार बित्यो, बिग्रियो सबैको उही हो । हप्ता दिन जति बस्न दिदीहरूको कम ढिप्पी थिएन । बल्लबल्ल आउनुभएको मामा, भाइ हप्ता दश दिन त बसेरै जानु नमरुञ्जेल सधैँ यस्तै हतार हुन्छ । सबैलाई उही हो ।

हत्तपत्त विदा दिने छाँटकाँट थिएन । बलैले उम्कने बाटो बनायौँ । अबदेखि हालेँ । बुवा आउन नसके पनि म आउँदै गर्नेछु । यसरी बेस्सरी कुरा घुमाएर विदा मागेपछि बलैले विदा पाइयो । फर्कदा कान्छो दाइको घर गुवाहाटी ननिस्कि भएन । अघिल्लै दिनदेखि फोन गरेको गरेकै । बुवाले पनि निस्केरै जाऔँ न त भनेपछि मलाई पनि भने जस्तै भयो । प्रगति मार्ग, नुनमाटी रहेछ उहाँको घर । उहाँ मेरो फुपूको छोरा सानो दाइ । कृष्ण क्षत्री नाम । बेलुकाको खाना खाँदाखाँदै आँखा कता–कता पुगे । छेउको एउटा सानो दराजमा भरि किताबहरू रहेछन् । मैले यसो नजिकबाट हेर्दा लीलबहादुर क्षत्रीको झ्याउरे पाटीमा लाग्दा पुस्तकमा आँखा पुगेर अडिएछन् । त्यसपछि अरू के चाहियो ! कुरै कुरामा दाइले मैले देखेको छु लीलबहादुर क्षत्रीको घर भन्नुभयो । मैले खोजेको पनि त्यही थियो । भनि हालेँ, त्यसो भए दाइ जसरी भए पनि मलाई उहाँको घर पु¥याइदिनु । आसाम आएर पनि मैले उहाँलाई नभेटी फर्केँ भने त मेरो आसाम यात्रा सफल हुँदैन । दाइले म पनि नगएको धेरै भयो । भोलि बिहान एकछिन जाऔँला नि त भन्नुभयो । मलाई फेरि अरू के चाहियो । खुशीले निद्रा लागेन । आसामका एक से एक सामान्य नेपाली नागरिकले पनि चिन्दा रहेछन् उहाँलाई । उहाँको नाम लिने बित्तिकै उनका सबै कृतिहरूको नाम नछुटाइ बताउँदा रहेँछन् । नकमाउनु ख्याति कमाइसकेपछि त यस्तो पो कमाउनुपर्छ त जस्तो लाग्यो ।

भोलिपल्ट बिहान दाइले मलाई लीलबहादुर दाइको घर पु¥याइ दिनुभयो । नुनमाटीबाट डा.बी.बरुवा रोड ,हरिजन स्कूल बाइलेन पथ । आधा घण्टाको बाटो रहेछ । आहा म कति सौभाग्यशाली रहेछु । लीलबहादुर क्षत्रीसँग भेटघाट र कुराकानी गर्ने अवसर कति सहजै प्राप्त भयो । एउटा कुराभन्दा क्षेत्री भने पनि लेख्दा क्षत्री लेखिँदोरहेछ । ८४ वर्षीय बुढा अझै चम्किलै हुुनुहुँदोरहेछ । कुराकानीकै क्रममा एउटा सानो अन्तरवाता पनि तयार गरेँ । विदा भएर छुट्ने बेलामा त्यस्तो केही हुँदा हामीलाई पनि सम्झनु होला भन्नुभयो । साहित्यमा मूलतः बसाइँ र ब्रम्हपुत्रको छेउछाउ यी दुई उपन्यासले देश–विदेशमा समेत चम्किनसम्म चम्किएको नाम हो मेरा लागि लीलबहादुर क्षत्री ।

उहाँ आफैँमा आफूले जति गरियो । त्यतिमै सन्तुष्ट हुने मान्छे हो । त्यति हुँदाहुँदै पनि उहाँ हातखुट्टा लागेसम्म त्यसै बस्न नचाहने जाँगरिलो मान्छे पनि हुनुहुँदोरहेछ । सकेसम्म लेखकले लेख्न किमार्थ अल्छि गर्नुहुन्न भन्ने कुरा मैले उहाँबाट पनि सिकेँ । त्यति मात्र होइन । मैले गुरू नै थापेँ । उहाँ पनि सकेसम्म आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने धारणाको मानिस हुँनुहुँदो रहेछ । नुहाइधुवाइ गरेर लुगा धुनु हुँदैछ, एकछिन् पर्खनुहोस भन्नुभयो भाउजूले । हामी शोफामा छोरा र भाउजूसँग गफिदै बस्यौँ ।

भाउजूले पारिवारिक कुरा झिक्दै दाइसँग भन्नुभयो– त्यहाँ नुनमाटीमा एक जना हाम्रो आफ्नो मान्छे फिजियो थेरापिस्ट पनि छिन् । दाइले त्यो त मेरै छोरी हो नि भन्नुभयो । त्यसपछि हाम्रो पारिवारिक नाता सम्बन्ध पनि क्लिक भयो । दाइसँग लीलबहादुर दाइको सामाजिक कार्यमा सँगसँगै काम गर्दा चिनजान भए पनि भाउजूले भन्नुभएको थेरापिस्ट कृष्ण क्षत्रीकै छोरी हो भन्ने खुलेको रहेनछ । त्यो त्यतिबेलै खुल्यो । दाइको छोरीज्वाइँ तिरबाट म पनि लीलबहादुर दाइको पारिवारिक नाता सम्बन्धभित्रै पर्दो रहेछु । त्यसपछि हामी पारिवारिक कुराकानीमा पनि एकछिन जम्यौँ ।

उहाँ कालिकोटे खड्का हुनुहुँदो रहेछ । पुख्र्याैली थलो तेह्रथुम, सिधुवा–शुक्रबारे । काँ टाढा हो रहेछ र हाम्रो पाहाड पनि तमोर वारिपारि । तेह्रथुम र पाँचथरलाई तमोर नदीले छुट्याएको भएपनि खुट्टैले हिँड्दा पनि तीन–चार घण्टाको बाटो वरपर । त्यति मात्र होइन । सुनसरीमा पनि सँगै रहेछौँ हामी । उहाँले भन्नुभयो– बसाइँमा उल्लेख भए जस्तो हाम्रो परिवार खान–लाउन दुःख भएर हिँेडेको होइन । बुवाकै पालादेखि हाम्रो परिवार सम्पन्न थियो । साँच्चै लीलबहादुर दाइ गुवाहाटी जस्तो ठाउँमा पनि जमेर बस्नु भएको रहेछ । निकै खुशी लाग्यो । भारतीय नागरिक भए पनि नेपाली मूलको मानिस आसामको राजधानी जस्तो ठाउँमा त्यतिको जमेर बस्नु चानचुने कुरा होइन ।

साहित्यमा मात्र होइन, सामाजिक क्षेत्रमा पनि उहाँलाई नचिन्ने कमै होलान् । दुई घण्टा बितेको पत्तै भएन । हाम्रो त्यही दिन बेलुकाको टिकट थियो । लीलबहादुर क्षत्रीसँग मेरो त्यतिबेला साहित्यिक चिनजान मात्र भएन । पारिवारिक चिनजान समेत हुन पुग्यो । उहाँसँग बसेर कुराकानी गरेको त्यो क्षण आजभोलि पनि म बेला–बेला सम्झने गर्छु । यो पनि मेरो जीवन यात्राको एउटा अविस्मरणीय क्षण नै बन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here