बिराटनगर,
मोरङको सुन्दरहरैंचा – १० मा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयको सकारात्मक पक्ष र विद्यार्थी जीवनमा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित “हाम्रो सुकुना राम्रो सुकुना” शीर्षकको एक म्युजिक भिडियो निर्माण गरेका छन्।
कक्षा १२ सिभिल इन्जिनियरिङ तर्फ अध्ययनरत विद्यार्थी एन्जल मिश्रको अगुवाइमा निर्माण गरिएको यो भिडियोलाई विद्यालय प्रशासनले पूर्ण सहयोग प्रदान गरेको छ। म्युजिक भिडियोमा विद्यालयकै विद्यार्थीहरू कलाकारको रूपमा प्रस्तुत भएका छन्। भिडियोको लेखन तथा निर्देशन मिश्रले नै गरेका हुन्।
उक्त भिडियोमार्फत विद्यालयको सकारात्मक पक्षहरू उजागर गर्नुका साथै विद्यार्थीको शैक्षिक जीवनमा गुणस्तर सुधारका विषयहरू समेटिएको छ। यस प्रयासले विद्यालयको छवि सुधार गर्नुका साथै विद्यार्थीहरूलाई सिर्जनात्मक गतिविधिमा सहभागी हुन प्रोत्साहित गरेको विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले बताए।
प्रधानाध्यापक बस्नेतका अनुसार भिडियो निर्माणमा संलग्न विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएको र यस्ता रचनात्मक कार्यले शैक्षिक वातावरणलाई थप सकारात्मक बनाउन मद्दत पुर्याउने बताए। नेपालको ठूला २० विद्यालयहरुको सूचीमा यस मावि पनि समेटिएको छ।
नेपाल सरकारबाट मान्यता प्राप्त नमूना विद्यालय अन्तर्गत यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ भने हाल चार हजार ९६ जना विद्यार्थी अध्यानरत रहेका छन् ।