को हुन् भण्डारीहरु ?

0
75

मानव वंश शास्त्रका अनुसार वशिष्ठ ऋषिका सन्तान हुन् भण्डारीहरु । वशिष्ठ ऋषि हिन्दू धर्मका सप्तऋषिहरु मध्ये एक ऋषि हुन् । सबै हिन्दू ग्रन्थहरूमा वशिष्ठ ऋषिका बारेमा वर्णन गरिएको छ । वशिष्ठ ऋषि ब्रह्माजीका मानस पुत्र हुन् । रामायणमा यिनलाई भगवान रामका कुलगुरू भनेर वर्णन गरिएको छ । यिनलाई वशिष्ठ गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।
वशिष्ठ र उनकी पत्नी अरुन्धतीका सन्तति नै वशिष्ठ गोत्री भएको तथ्य दिगबोध गर्नु वशिष्ठ गोत्रीहरुको प्रथम कर्तव्य हुन्छ । वशिष्ठका सन्ततिहरुमा भट्ट, भट्टराई, भण्डारी, भाट आदि थरहरु पर्दछन् । नेपाली थरहरु प्रायशः सम्मानजनक उपाधिबोधक, पेशा, व्यवसाय, घटना सूचक तथा स्थल सूचक रहेको पाइन्छ । परन्तु भण्डारी थर भू–सांस्कृतिक वा स्थलसूचक अन्तरगत नभई पदीय दायित्व भित्र पर्ने थर हो ।

प्राचीन तथा मध्य समाजका प्रतिनिधि राजामहाराजाहरुले आफ्नो दिनचर्याको सुविधाका लागि भट्टराईलाई राज्य भण्डाराको जिम्मेवारी दिएकाले भट्टराईबाट भण्डारी थर बन्न गएको हो । राज्य व्यवस्थाको समेत प्रतिनिधित्व दिएर भण्डारी थरलाई उच्चाकर्षमा पु¥याएको प्रमाणहरु भेट्न सकिन्छ । भट्टराई वंश दर्पण पृष्ठ भूमिका १३ लाई अध्ययन गर्दा चन्द्रप्रसाद र रामदासको बीचमा १४ पुस्ता रहेको र सो पुस्ता मध्येका एक व्यक्ति जीवा भट्टराईलाई रासकोटी राजा मयलबमका छोरा सारुप्राताप बमले वर्तमान दैलेखको डाँडीमाँँडी बिर्ता दिएको तथ्य प्रचलित लोक गीतको पंक्ति ( ‘डाँडीमाँडी बिर्ता पायो जीवा भण्डारीले’)बाट समेत पुष्टि हुन्छ ।

१३औं शताब्दी १२२९–१३२६ बीचमा खस राज्य विस्तार गर्ने क्रममा राजा अक्षय मल्लका छोरा राजा आदित्य मल्ल काठमाठौंमा मल्लहरुसँग पटक–पटक भिडेका थिए । त्यसबखत हालको नुवाकोट जिल्ला खस राज्य अन्तर्गत पर्दथ्यो । राजा आदित्य मल्ल भ्रमण आउँदा निजको भ्रमण टोलीमा पण्डित अनेकु भण्डारी पनि सरिक थिए । उनी जीवा भण्डारीका चौथो पुस्ता थिए । उनै अनेकु भण्डारीलाई हाल नुवाकोट जिल्लामा पर्ने थानसिंह गाउँ राजा आदित्य मल्लले दिएका थिए । त्यसकारण भण्डारीहरुको बिर्ता थानसिंग रहन गएको हो । वशिष्ठ भण्डारी समाज वंशावली पृष्ठ भूमिका १० लाई अध्ययन गर्दा १३औं शताब्दि १२२९–१३२६ मा थानसिंग बिर्ता पाउने अनेकु भण्डारी पहिलो मूल व्यक्ति हुन् । शासक खुशी हुँदा बिर्ता बकस दिने र असन्तुष्ट हुँदा खोस्ने इतिहासले पुष्टि गरेको तथ्य हो ।

भण्डारी वंशीहरुले गोरखा दरवारमा पनि सेवा गरेकाले श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको साथ काठमाडौं आएका थिए । मानव विकास, बसाइँ सराई र मानवबस्ती बिस्तारका क्रममा भण्डारीहरुको पनि बसाइँ सर्नेक्रम रह्यो । तर, वशिष्ठ गोत्रीय भण्डारीको मूल लहरो महर्षि वशिष्ठ ऋषिमा गएर अडिन्छ । महाभारतका पाण्डव र कौरवहरु पनि वशिष्ठ गोत्रमै परेको पौराणिक इतिहासले पुष्टि गर्दछ । महाभारतकालीन इतिहासलाई अध्ययन गर्ने हो भने ब्रम्हा, वशिष्ठ र अरुन्धती, शक्ति र सोपा, पराशर र सत्यावती र व्यास हुँदै उनका सन्तति धृतराष्ट, पाण्डु र विदुर वशिष्ठ गोत्री देखिन्छन् । अर्काेतर्फ व्यास र धिताचीका सन्तान सुकदेव उनकी पत्नी पिवरी तर्फका धेरै पुस्तापछि रिठ्ठ भट्ट जन्मेका थिए । उनका दुई छोरा श्रीकृष्ण र शंकर पाध्यको जन्म भएको थियो । दुई भाइमध्ये श्रीकृष्ण भट्टराईमा रहे । अर्का छोरा शंकर पाध्यले भण्डारको काम सफलरुपमा गरेवापत अर्घाखाँचीका तत्कालीन राजाले भण्डारी उपाधि दिएका थिए । उनै भण्डारी उपाधि पाउनेको सन्तानका रुपमा भण्डारी कहलाउन थालेको जनश्रुति भट्टराई वंश दपर्णमा उल्लेख छ ।

हालसम्म प्राप्त अभिलेखले भण्डारीहरु नेपालको सुदूरपश्चिमबाट बसाइँ सर्दै पूर्व आएका हुन् । मूल बिर्ता थानसिंग भए पनि त्यस वरिपरिका अन्य गाउँहरु र त्यसपछि क्रमशः पूर्वतिर हाल दोलखाको भेड्पु, सिमास, सुकाठोकर, बाबीयो खर्क, सिन्धुपाल्चोकको ठोकर्पा, रामेछाप, सिन्धुली, भोजपुर, तेहथुम, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरीसहित नेपालको पश्चिम लम्जुङ, स्याङ्जा, पाल्पामा मात्र होइन, भारतको दार्जिलिङ, सिक्किम, आसाम, भुटानसहित विभिन्न राष्ट्रमा भण्डारीको हाल बसोबास रहेको छ । यसरी भण्डारीको वंश विस्तारको क्रमसँगै आफूहरुलाई थानसिंगे भण्डारीबाट पहिचान गराउन गर्व गर्छन् र एकताको सूत्रमा आवद्ध हुन लालायित छन् । भण्डारी वंशका पुर्खाहरुले राज्यको तर्फबाट एक्काइसभन्दा बढी नै बिर्ता पाएका थिए । तर, पहिलो र प्रमुख बिर्ता थानसिंग भएकाले आफूहरुलाई थानसिंगे भण्डारी भन्न रुचाउँछन् ।

राष्ट्रिय समावेशी आयोगको अध्यन प्रतिवेदनमा उल्लेख भए अनुसार वशिष्रुठ गोत्रका मुख्य थरहरूमा पाण्डे धामी (बझाङ ढडारका) खनिया, सावदर सामन्त्र साउद्, बिष्ट, भट्टराई, सोती (स्रोत्रिय), राई, मेरो भाइ भण्डारी (थानसिङे), भट्ट, पुंवार खड्का, श्रीपाली, बम्म्, खरेल, खराल, थापा (सुयाल), सुयल (घर्ती), राउत, दवाडी, चालिसे, मुडबरी, गैह्रे डोटेल इत्यादि पर्छन् ।

मानव कल्पसूत्रलाई अध्ययन गर्ने हो भने वशिष्ठ गोत्रीय नरनारीहरु मृदुभाषि, मध्ययम शरीरधारी, शान्तप्रकृतिका र उदारमनका वर्गमा लिइन्छ । यही वर्गमा भण्डारीहरु पनि पर्छन् । वशिष्ठ गोत्रीय भण्डारीहरु शक्तिका उपासक हुन् । अब चर्चा गरौं गोत्रको । गोत्र पद्धति कसरी रहन गयो आम जिज्ञासा हुन सक्छ । जिज्ञासा हुनु पनि स्वभाविक नै हो । गोत्र पद्धति भनेको प्राचीनकालमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र परिवारहरूको वर्गीकरण र पहिचानकालागि बनाइएको प्रणालीभित्रको एक भाग हो र यसरी प्रचलनमा ल्याइएको गोत्र मूलतः गोत्र पर्वर्तक ऋषिको नामबाट राखिएको थियो ।

सभ्यताको विकाससँगै भण्डारीको वंश वृद्धी कसरी हुन पुग्यो यहाँ चर्चा गर्न उपयुक्त हुन्छ । नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता (ई.पू.) विश्वको प्राचीन सिंधु–घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो । यो हडप्पा सभ्यता र सिंधु–सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् ।
हिन्दू समाजमा गोत्र शब्दले एक प्राचीन पुरुषको अविरल वंश परम्परालाई जनाउँदछ । जुन माथिबाट तलतिर क्रमशः अटुट रूपमा बढ्दै जान्छ । अर्थात् एक पुरूषको छोरा, नाति, पनाति, जनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ । यसरी एक व्याक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततिहरू त्यही मुख्य पर–बाजेका सन्तान र उनीहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचीन पर–बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रूपमा चल्दै आइरहेको छ ।

अनदिकालदेखि सनातन धर्म अर्थात् हिन्दू धर्म मान्दै आएका भण्डारीहरु आजपर्यन्त धर्म कर्ममा अधिक विश्वास राख्छन् । हिन्दू धर्मलाई संसारको सबैभन्दा पुरानो धर्म भनिन्छ । धर्म, कर्म, संसार, माया, मोक्ष र योग जस्ता धार्मिक पदहरूले गर्दा हिन्दू धर्मलाई विशिष्ट मानिन्छ । हिन्दू धर्ममा ठूलो संख्यामा शास्त्रहरू छन्, जुन दुई मुख्य कोटीहरूमा पर्छन् । श्रुति र स्मृति । दुई भागमा बाढिएका शास्त्रहरुलाई केलाउने हो भने श्रुति र स्मृतिमा पुगेर अडिनु उपयुक्त हुन्छ । श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दूहरूको धर्मग्रन्थ हो । अर्थात यसलाई हिन्दूहरूको संविधान भनिन्छ । स्मृति अन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरू पर्दछन् । वेदको सार उपनिषद् हो भने उपनिषद्हरूको सार गीता हो । ‘कृण्वन्तो विश्वमार्यम’ अर्थात् सम्पूर्ण संसारलाई नै श्रेष्ठ, सभ्य एवम् सुसंस्कृत बनाउँछौं । आर्यको अर्थ हुन्छ– श्रेष्ठ, सज्जन पुरुष, उत्तम पुरुष, सत्यबोध भएको पुरुष । सही मार्गमा हिँड्ने पुरुष । अब प्रश्न उठ्छ, आखिर किन र कसरी हिन्दू धर्म श्रेष्ठ धर्म हो ?

हिन्दू धर्मको सबैभन्दा पुरानो रूप लोक विश्वास हो, जुन स्थानीय देवताहरूको पूजा र देवता रूपहरू द्वारा विशेषता हो । हिन्दू धर्ममा धर्मलाई मानवको प्रमुख लक्ष्य मानिन्छ । धर्मको अवधारणाले जीवन र ब्रह्माण्डलाई सम्भव बनाउने क्रम र कर्तव्य, अधिकार, कानून, आचरण, सद्गुण र ‘जीवनको सही तरिका’ समावेश गर्ने व्यवहारहरू समावेश गर्दछ । यही परिधिभित्र रहेर आज पर्यन्त भण्डारीहरु आफूलाई शक्तिका उपासकका रुपमा प्रस्तुत गर्दै आएका छन् । विश्वभर छरिएर रहेका भण्डारीहरु पछिल्लो समय संगठित हुँदैगएका छन् । झापाको कनकाई नगरपालिका–४ कोटीहोममा वशिष्ठ भण्डारी समाजको केन्द्रीय कार्यालय स्थापना गर्दै देश तथा विदेशमा बसोवास गर्ने भण्डारीहरलाई जोड्ने काम हुँदै आएको छ । २०५१ सालमा भण्डारी समाजले केन्द्रीय कार्यालय बिराटनगरमा स्थापना गरर विभिन्न १३ वटा जिल्लामा जिल्ला शाखा र १७ वटा प्रशाखा समेत गठन गरेको छ ।

वशिष्ठ भण्डारी समाजको स्थापना पश्चात २०४६ साल यता वंशावली प्रकाशनदेखि आध्यात्मिक, सांस्कृतिक र सामाजिक संरक्षण एवम् सम्वद्र्धन गर्न सामुहिक सहभागितामा वार्षिक रुपमा १८ पुराणको आयोजना गर्ने उद्देश्यले राम नवमीका दिन समापन हुने गरी कुल पूजा सहित विशवशान्ति, पितृ मोक्ष र सन्ततिको उज्जवल भविष्यको कामना गर्दै महायज्ञ आयोजना गर्दै आएको छ । यस वर्ष पनि आचार्य पण्डित छन्दुराम भण्डारीको मुखारवृदबाट श्री बृहन्नारदीय महापुराणको आयोजना गरिएको छ ।

युगद्रष्टा र आदर्श समाजको स्रष्टा महर्षि वशिष्ठ भौतिकरूपले हामी माझ छैनन्, तर उनको नाम, यश र कीर्तिको भने अहिलेसम्म पनि उत्तिकै प्रशंसा हुँदै आएको छ र उनका सन्ततिहरुले फैलाउँदै आएका छन् । त्यो कार्यमा वशिष्ठ भण्डारी समाज लागि परेको छ । धनी हुनु, धन सम्पत्ति कमाउनु, कमाउन सक्नु, ठूलो पदमा पुग्नु, पुग्न सक्नु, ठूला–ठूला सार्वजनिक पद ओगट्नु, ओगट्ने तरक्की गर्न सक्नु मात्र महान हुनुको लक्षण होइन ।

यस्तो काम त पहुँच हुने, पहुँच पु¥याउन सक्ने सबैले गरेकै हुन्छन्, गरेकै छन् । महान् बन्ने भन्ने कुरा कसैले गराएर हुने होइन, भनोस् भन्दैमा हुने पनि होइन र आफूले आफैँलाई भनेर हुने कुरा पनि होइन । महान् बन्ने भन्ने कुरा काममा निर्भर गर्ने कुरा हो । यस्तो त्यतिबेला सम्भव हुन्छ जति बेला सर्वहितकारी कार्य गर्न सकिएको छ, जसमा धैर्य, नम्रता, शिष्टता र भद्रता जस्ता निर्मल गुणहरू छन्, जसले झुकाउन होइन, झुक्न जानेको छ, सिकेको छ, जसको जीवन अरूको हितमा बितेको छ । यस्ता मानिस स्वतः महान् हुन्छन्, महान् बन्न पुगिरहेका हुन्छन् । उनीहरूलाई कसैले महान् भनोस् भन्नै पर्दैन । न कुनै धन, मान, पद आदिको बैशाखी नै चाहिन्छ ।

मनुष्य जन्म लिएपछि मानिसले चार प्रकारका ऋण लिएको हुन्छ । यी ऋणहरूमा देव ऋण, पितृ ऋण, ब्रह्मा ऋण र ऋषि ऋण पर्दछन् । यी ऋणहरू नतिरेमा मनुष्यको जीवन दुःखदायी हुन्छ भन्ने मान्यता छ । चार प्रकारका ऋणहरु मध्ये ऋषि ऋण पनि एक ऋण हो । ऋषिहरूबाट प्राप्त आध्यात्मिक भौतिक आदि ज्ञानका बदलामा मानिसहरूले ऋषिहरूका प्रति गर्नुपर्ने कर्तब्य, वेदको अध्ययन, अध्यापन, दान, यज्ञ, ध्यान, गुरुको सन्देश प्रचार–प्रसार समेतका अन्य सत्कर्मद्वारा ऋषिऋण तिरिन्छ भन्ने मान्यता रहेको छ । सप्त ऋषिहरूलाई महान ऋषिहरूको रुपमा मानिन्छ । भाद्रशुक्ल पञ्चमीमा अरुन्धतीसहित शप्त ऋषिहरुको पूजा गरिन्छ । उनी ऋषिका सन्तति हौं हामी भण्डारीहरु ।

वशिष्ठ ऋषि सप्त ऋषिमध्ये एक महान ऋषि हुन् । सबै हिन्दू ग्रन्थहरूमा वशिष्ठ ऋषिको बारेमा वर्णन गरिएको पाइन्छ । वशिष्ठको अर्थ आर्यहरूको पुरातन र सशक्त संस्कृतिका रचनाकारहरू मध्ये एक हो । वशिष्ठको अर्थ सबैभन्दा उज्यालो, उत्कृष्ट, सर्वोत्कृष्ट महिमा हो । काम, क्रोध, लोभ, मोह, द्धेष र इष्र्या जस्ता तत्वहरु सबैमा हुन्छन् र ती तत्वहरुप्रति जागरुप हुन वा जाग्न र थाह पाउन सकिएन भने जसले मानवलाई पतनको मार्गतिर उन्मुख गराउँदछ । यसर्थ, आफ्ना वृत्ति वा रिपुहरु जाग्न वा थाहा पाउनको लागि ध्यान योग मार्फत आफूलाई रुपान्तरण गरी ज्ञान प्राप्त गर्दै शान्त र आनन्दित बन्न भण्डारीहरु लालायित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here