‘बिर्तामोडबासीका लागि दैनिक २ करोड १० लाख लिटर पानी उत्पादन गर्दैछौं’

0
141

यस संस्था स्थापनाको पृष्ठभूमि कस्तो छ ?

– नेपालको पूर्वीद्वार कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरीको मुटुमा रहेको यस संस्थाले यस क्षेत्रका बासिन्दाहरुलाई स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्यले वि.सं.२०५१ सालमा अनारमनी खानेपानी उपभोक्ता समितिको नामबाट बिर्तामोडलाई केन्द्रविन्दु बनाई तत्कालीन अनारमनी, चारपाने, शनिश्चरे र अर्जुनधारा गाविसका वडाहरुका केही भागलाई समेटेर एशियाली विकास बैंक र डिभिजन खानेपानी कार्यालय, भद्रपुर झापाको सहयोगमा चार सय ५० घन मिटरको ओभरहेड ट्यांकीबाट शुभारम्भ गरिएको थियो । यो संस्था हाल आएर बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नामबाट परिचित छ । संस्था विकसित र सबल अवस्थामा आइपुगेको यस क्षणमा म जग्गादाता, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु सबैलाई स्मरण गर्दछु ।

संस्थाको मूल नारा के हो ?

– यस संस्थाले दूरदृष्टिका साथ नारा तय गरेको छ । यस संस्थाको मूल नारा ‘स्वच्छ गुणस्तरीय खानेपानीको उपलब्धता, बिर्तामोड खानेपानी उपभोक्ता संस्थाको प्रतिबद्धता’ रहेको छ ।

संस्थासँग पानी उत्पादन, प्रशोधन तथा वितरणका लागि संरचना र उपभोक्ताको अवस्था कस्तो छ ?

– यस संस्थामा हाल तीन वटा ओभरहेड ट्यांकी, १६ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लाण्ट तथा १० हजार घरपरिवार उपभोक्ताहरु रहेका छन् ।

दैनिक कति पानी उत्पादन तथा प्रशोधन गर्नुहुन्छ ?

– संस्थाका पाँच वटा स्कीमहरुबाट १० वटा समर्सिवल पम्पले दैनिक दुई करोड १० लाख लिटर पानी उत्पादन गरी उपभोक्ताहरुलाई २४ घण्टा पानी उपलब्ध गराइएको छ ।

संस्थाको मूल नारा अनुसार खानेपानीका लागि तत्काल भइरहेको काम के–के हुन् ?

– विगत लामो समयदेखि जडान भएका डिप बोरिङहरुबाट समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर राख्दै यसै आवको पौषसम्ममा टेकबहादुर गिरी बसपार्कमा एक थान, २ नं. ट्यांकी छेऊमा संस्थाले जग्गा खरिद गरी एक थान र ३ नं. ट्यांकी छेऊ मेहरमान स्मृति प्रतिष्ठानले निःशुल्क उपलब्ध गराएको जग्गामा एक थान बिराट भरत विश्रान्ती गरी चार थान डिप बोरिङ जडान गरी सकिएको र यसै वर्षभित्र थप दुई थान बोरिङ जडान गरिनेछ । संस्थाको कार्यक्षेत्रभित्रका अति आवश्यक स्थानमा उपभोक्ताको माग बमोजिम पाइप लाइन विस्तार गरिएको छ । नगर क्षेत्रका सम्पूर्ण उपभोक्ताहरुलाई सेवा पु¥याउने लक्ष्य अनुरुप चालू आवमा नै एक हजार नयाँ धारा जडान गरी पानीको आपूर्ति क्षमता विस्तार गरिएको छ । विगतमा जडान गरिएका पाइपलाइनहरुको व्यवस्थित नेटवर्किङका लागि भौगोलिक सूचना प्रणाली (GIS)को कार्य सम्पन्न भइसकेको छ । संस्थाको सुरक्षाका लागि वाल कम्पाउण्ड तथा ग्रिल निर्माण गरिएको छ । पानी शुद्धीकरणका लागि दुई थान फिल्टर प्लाण्ट तथा फिल्टर मिडिया खरिद गरी जडान गरिएको छ । संस्थाका काम, कारवाहीहरुलाई चुस्त, दुरुस्त र व्यवस्थित गर्नका लागि उपयुक्त कार्यालय भवनको निर्माण गरिएको छ । सैनिक मोड दक्षिण सैनिक बजारसम्मका क्षेत्रमा पानीको समस्या हुन नदिन बिराटपोखरमा ५ नं. आयोजना सम्पन्न भई पानी सूचारु गरिएको छ । यसै आवमा संस्थाका कार्यसमिति र कर्मचारीको क्षमता अभिवृद्धिका निम्ति अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको ।

संस्थाका समस्याहरु के–के छन् ? कस्ता चुनौतिहरु आइरहेका छन् ?

– जथाभावी रुपमा हुने गरेको जग्गाको प्लटिङ र बाटो, ढल आदिको अव्यवस्थित निर्माणका कारण संस्थाको पाइप लाइनमा अत्याधिक क्षति पुग्ने गरेको । यो संस्थाको मुख्य समस्या र चुनाति हो । त्यस्तै विगत ३० वर्ष अगाडि विस्तार गरिएको पाइप लाइन तथा भल्भ चेम्बरहरु हाल शहरीकरण र सडक विस्तार गरिएकोले धेरै क्षेत्रमा पाइप बढी गहिराइमा परेको तथा सडकको बीचमा परेकोले पाइप लाइन मर्मत तथा नयाँ धारा जडानमा कठिनाइ उत्पन्न हुने गरेको । मौसम परिवर्तन तथा अन्य विभिन्न कारणले पुरानो पाइप लाइनमा पाइपहरु फुट्ने र ब्लकेजको समस्या आउने गरेको । तीव्र शहरीकरणका कारण सेवा क्षेत्रमा बसाइँ सरी आउनेको संख्या धेरै भई उपभोक्ताको माग बमोजिम पानी उपलब्ध गराउन कठिनाइ भएको । त्यसैगरी पूर्व–पश्चिम लोकमार्गको स्तरीकरण र विस्तार तथा शनिश्चरेरोडको महानन्द चोकसम्मको चार लेन सडक स्तरोन्नति शुरु भइरहेकाले उक्त विस्तार कार्यबाट संस्थाको पाइप लाइनमा ठूलो क्षति हुने भएकोले पुनर्निर्माणमा संस्थाले ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था रहेको ।

यस्ता समस्याबाट उपभोक्तामा कस्तो असर परेको छ ?

– बाटो तथा ढलका योजनाहरु सञ्चालन हुँदा संस्थासँग समन्वय नै नगरी संस्थाले विगतमा विस्तार गरेका पाइप लाइनहरु क्षति हुनुका साथै उपभोक्ता पानीबाट वञ्चित हुनु परेको ।

यी समस्या र चुनौतिका बीच संस्थाको नारालाई सार्थक बनाउने भावी योजनाहरु के छन् ?

– जग्गाको प्लटिङ र बाटो, ढल आदिको अव्यवस्थित निर्माणका कारण संस्थाको पाइप लाइनमा हुने क्षति सम्बन्धित पक्षबाटै भराउने योजनामा छौं । यस संस्थाले आप्mनो सीमित स्रोत, साधन र बजेटको परिधिभित्र रहेर आम उपभोक्ताको चाहना अनुसार सकेसम्म न्यायोचित ढंगले सर्वसुलभ ढंगबाट पानी उपलब्ध गराउँदै आइरहेको कुरा अवगत गराउन चाहन्छु । सहजीकरण र समन्वयको माध्यमबाट आम उपभोक्ताहरुलाई सक्षम र जिम्मेवार बनाउँदै उपलब्ध स्रोत र साधनको अधिकतम् परिचालन गरी उपभोक्ताको चाहना र माग बमोजिम पानी उपलब्ध गराउँदै लगिने छ । यस संस्था र आमउपभोक्ताको हितलाई ध्यानमा राख्दै यस संस्थाले तयार गरेको पञ्चवर्षीय कार्ययोजनालाई क्रमशः कार्यान्वयन गर्दै लगिने छ ।

अझ सामान्य उपभोक्ताले पनि बुझ्ने भाषामा संस्थाको प्राथमिकताका योजनालाई विस्तृतमा कसरी प्रष्ट्याउनु हुन्छ ?

– बुँदागत रुपमै भन्नुपर्दा हाम्रा योजाना धेरै छन् । सबै योजना गुणस्तरीय सेवासँग केन्द्रित छन् । हामीले उपभोक्ताको माग बमोजिम आवश्यक क्षेत्रहरुमा पाइप लाइन विस्तारलाई निरन्तरता दिने योजना बनाएका छौं । पानीको माग अत्यधिक बढेकाले नयाँ बसपार्क क्षेत्रमा एक ओभरहेड ट्यांकी निर्माण गरी अत्याधुनिक डिप बोरिङ जडान गर्नेछौं । बिर्तामोड न.पा. ७, ८, ९ र १० मा पानीको माग अत्यधिक भएकाले क्रमशः विस्तार गर्दै लगिनेछ । नगरभित्र रहेका व्यवस्थित हुन र सहज ढंगले क्रियाशील हुन नसकेका सबै खानेपानी आयोजनाहरुलाई मर्ज गर्दै एकीकृत प्रणालीमा लैजाने छौं । पुरानो पाइप लाइन तथा नयाँ विस्तारित पाइप लाइनका बीच व्यवस्थित रुपमा नेटवर्किङ गर्ने व्यवस्था गर्नेछौं । संस्थाको क्षमता तथा स्तर वृद्धिका क्रियाकलापहरु तथा संस्थाका हरेक गतिविधिहरुमा बिर्तामोड नगरपालिकासँग सहकार्य तथा साझेदारी गर्ने अभियानलाई निरन्तरता दिनेछौं ।

खानेपानी महशुल समयसापेक्ष पुनरावलोकन गर्दै लैजाने हाम्रो अर्को योजना छ । संस्थाको वेबसाइट निर्माण गरी संस्थाका गतिविधिहरुलाई वेबसाइटमा व्यवस्थित गर्नेछौं । नियमितरुपमा यथासमयमै खानेपानी महशुल भुक्तानी गर्ने ज्येष्ठ उपभोक्ताहरु मध्येबाट प्रति वर्ष एक पुरुष र एक महिला उपभोक्तालाई सम्मानित, पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिनेछौं । संस्थाको सेवा नपुगेको बिर्तामोड नगरको बाँकी भू–भागमा संस्थाको सेवा विस्तार गरी नगरको सम्पूर्ण क्षेत्रमा खानेपानी सेवा उपलब्ध गराउने, विगतका साधारणसभाले गरेका निर्णयहरुलाई क्रमशः सम्बोधन गर्दै लैजाने, मारवाडी सेवा समितिको सहकार्यमा अति आवश्यक स्थानमा सार्वजनिक धारा जडान गर्ने, गैर राजश्व पानीको अनुपात घटाउँदै लैजाने पनि योजना छ ।

अरु पनि योजना छन् कि ?

– यस संस्थाले कुराभन्दा काम र सेवालाई प्राथमिकता दिएको हुँदा आवश्यकता अनुसारका योजना धेरै छन् । जस्तो कि दीगो र नियमित सेवा प्रदान गर्नका लागि मर्मत सम्भार कार्ययोजनालाई उच्च प्राथमिकतामा राखी कार्य गर्ने, गुणस्तरीय पानीको उपलब्धता सुनिश्चित गर्न सरोकारवाला पक्षहरुसँग समन्वय गरिनेछ भने भैपरि आउने अवस्थाका लागि आकस्मिक योजनाहरुको खोजी गरिने छ । उपभोक्ताहरुको मागलाई ध्यानमा राखी संस्थाले उत्पादन गरेको पानीलाई चिस्यान गरी जारमा बिक्री गर्ने योजनालाई प्राविधिक, आर्थिक र बजारीकरणका विषयमा अध्ययन गरी अघि बढाइने छ । हाललाई बिर्तामोडको मुक्तिचोकमा वाटर ए.टि.एम. स्थापनाका लागि सरकारी तथा नीजि क्षेत्रसँग सहकार्य गरी अघि बढिने छ । उपभोक्ताहरुको हितलाई ध्यानमा राख्दै पानीको स्रोतदेखि उपभोक्ताको घरदैलोसम्म शुद्ध पानी पु¥याउन पानी सुरक्षा योजनालाई विशेष महत्वका साथ अघि बढाइनेछ । त्यस्तै संस्था र उपभोक्ताको हितलाई ध्यानमा राख्दै यसै चालू आवमा उपभोक्ता अभिमुखीकरण तालिम र कार्यक्रमको आयोजना शुरु गरिएको र यो कार्यक्रम निरन्तर रुपमा रहिरहनेछ ।

संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता विकास र प्रोत्साहनका पनि योजना छन् कि ?

– वास्तवमा कर्तब्यनिष्ठ कर्मचारीको काम संस्थाको सफलतासँग जोडिएको हुन्छ । कर्मचारीलाई अझ जिम्वेवार ढंगले जवाफदेही बनाउन हामीले केही काम गर्दैछौं । संस्थामा कार्यरत कर्मचारीहरुको मनोबल उच्च राखी कार्यदक्षतामा अभिवृद्धि गर्नका लागि प्रत्येक वर्ष एक जना उत्कृष्ट कर्मचारी छनौट गरी सम्मानित, पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिंदै जानेछौं । कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि खानेपानी विभाग, नगर विकास कोष, जिल्ला खानेपानी कार्यालय तथा सम्बद्ध संघ–संस्थासँग समन्वय गरी समय समयमा आधारभूत तालिम, पुनर्ताजगी तालिम, अभिमुखीकरण तालिमको आयोजना गर्नेछौं । साथै संस्थामा कार्यरत कर्मचारीहरुको भूमिका र दायित्वलाई स्पष्टसँग उल्लेख गरिनुका साथै कर्मचारीको नियुक्ति, समायोजन, व्यवस्थापन र अनुगमनका लागि कर्मचारी जनशक्ति व्यवस्थापन योजनालाई अघि बढाउने योजना छ ।

यो संस्था मुलुक कै उत्कृष्ट खानेपानी संस्थाको रुपमा पनि पुरस्कृत भएको थियो नि ?

– वास्तवमा हामी गौरव गर्छौ कि यो संस्था दुई पटक पुरस्कृत भइसकेको छ । यस बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आप्mनो स्थापनाकालदेखि हालसम्म गरेका कामहरुको मूल्यांकन तथा नगर विकास कोषको आयोजनाको सञ्चालन तथा व्यवस्थापनमा उल्लेखनीय सुधार गरे वापत यस संस्थालाई मुलुक कै उत्कृष्ट खानेपानी संस्थाको रुपमा सन् २०१८ र सन् २०२२ मा गरी २ पटक पुरस्कृत गरिएको व्यहोरा अवगत गराउन चाहन्छु । संस्थालाई यो उचाइमा पु¥याउन योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गर्दछु ।

अन्त्यमा ?

– संस्थाको दूरदृष्टि ‘स्वच्छ गुणस्तरीय खानेपानीको उपलब्धता, बिर्तामोड खानेपानी उपभोक्ता संस्थाको प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात गर्दै हालसम्म यस संस्थाको निर्माण, सञ्चालन एवम् पुनःनिर्माण सञ्चालनमा सहयोग पु¥याउनुहुने स्थानीय सरकार, जनप्रतिनिधिज्यूहरु, सम्पूर्ण राजनीतिक दल, आम उपभोक्ता, पत्रकार, बुद्धिजीवि, उद्योगपति, व्यापारी, कर्मचारी वर्गमा विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here