सुरुङ्गा।
“सबै नागरिकको स्वास्थ्य बिमामा सहभागिता, सुरक्षित र स्वस्थ भबिस्यको सुनिश्चितता” भन्ने मूल नाराका साथ नवौं स्वास्थ्य दिवस मनाइएको छ । स्वास्थ्य बिमा बोर्ड झापा जिल्ला सम्पर्क कार्यालयको संयोजक श्री लक्ष्मी कंडेलको सभापतित्वमा भद्रपुर नगरपालिका सभा हलमा विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
कर्यक्रमका प्रमुख अतिथि झापा जिल्ला समन्वय समिति प्रमुख श्री विश्वनाथ बरालद्वारा औपचारिक रुपमा उद्घाटन भएको कार्यक्रममा झापा जिल्लाको स्वास्थ्य बिमाको वर्तमान अवस्थाबारे दर्ता अधिकारी रुद्र गौतमले प्रस्तुति दिएका थिए ।
झापा जिल्लामा सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति झापाका नागरिकको आकर्षण बढ्दै गएको र आर्थिक वर्ष २०८०/८१ सम्ममा जिल्लाको कुल जनसंख्याको ६९.६७% जनसंख्या स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेको जानकारी दिइयो ।
नेपालको सबैभन्दा बढी बिमित भएको जिल्लाको रुपमा झापा जिल्ला रहेको छ । आठ नगरपालिका र सात गाउँपालिका गरी १५ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०८०/८१ सम्म ६,९५, ३७५ जनाले स्वास्थ्य बिमा गराएका छन् ।
यस जिल्लामा सबैभन्दा बढी दमक नगरपालिका नागरिकले स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्क अनुसार झापामा १ लाख ११ हजार ८० जना नागरिकले स्वास्थ्य बिमा गराएका छन् भने सबैभन्दा कम बिमित झापा गाउँपलिकामा १४ हजार ९ सय ७४ जना रहेको पाइन्छ । त्यस्तै लक्षित वर्ग समुहमा पनि धेरै नागरिकहरु यस कार्यक्रममा समावेस रहेको पाइएको छ ।
त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लामा २६ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरु स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत रहदै स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको तथ्यांक जिल्ला सम्पर्क कार्यालयसँग रहेको कुरा जिल्ला संयोजक लक्ष्मी कंडेलले बताए ।
कार्यक्रममा दमक नगरपालिकाबाट गोविन्दराज बस्नेत, बिर्तामोड नगरपालिकाबाट कमला चापागाईं, भद्रपुर नगरपालिकाबाट लिला काफ्ले, कन्काई नगरपालिकाबाट सबिना ढकाल, मेची नगरपालिकाबाट धनकुमारी न्यौपाने, अर्जुनधारा नगरपालिकाबाट निर्मल ढकाल, गौरादह नगरपालिकाबाट सिर्जना घिमिरे, शिवसतासी नगरपालिकाबाट यमकुमारी सिलवाल, हल्दिबारी गाउँपालिकाबाट ओमप्रकाश आचार्य, बुद्धशान्ति गाउँपालिकाबाट मेनुका आचार्य, झापा गाउँपालिकाबाट बद्रि प्रसाई, कचनकवल गाउँपालिकाबाट इन्दुकुमारी सुबेदी, गौरिगंज गाउँपालिकाबाट दीपक प्रसाद यादव, बाह्रदसी गाउँपालिकाबाट पिंकी साह, कमल गाउँपालिकाबाट अनिता सिवाकोटीलाई सम्मान गरिएको छ ।
त्यस्तै झापा जिल्ला कार्यालयमा रहेर २०७४ देखि कार्यालयका विभिन्न कार्यहरुमा अनवरत रुपमा सहयोग गर्ने भद्रपुर निवासी अजय सुबेदीलाइ समेत सम्मान गरिएको छ ।
दर्ता अधिकारी राधा रिमाल अधिकारीले संचालन गरेको र सुलोचना शाहको स्वागत मन्तव्य रहेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटी, गौरादह नगर अस्पतालका प्रमुख हरिप्रसाद घिमिरे, भद्रपुर नगरपालिका प्रशासकीय अधिकृत सुनिल निरौला, ओम साइ पाथिभरा अस्पतालका प्रशासन प्रमुख दिप पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।