अर्जुनधारा ।
नव वर्ष २०८२को अवसरमा यही वैशाख १ गते झापा जिल्लाकै ऐतिहासिक एवम् पूरानो बजार अर्जुनधारा–८स्थित शनिश्चरे बजारमा खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ ।
स्थानीय ए वान डान्स एकाडेमीको आयोजनामा हुने उक्त प्रतियोगिताको उद्देश्य स्थानीयस्तरमा रहेका प्रतिभाहरुको पहिचान र प्रबद्र्धन गर्दै सांस्कृतिक विविधताको प्रबद्र्धनसँगै नेपाली नृत्य परम्परालाई जीवित राख्ने रहेको बुधबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
त्यसैगरी युवाहरुलाई सिर्जनात्मक एवम् सकारात्मक गतिविधिमा संलग्न गराउने तथा समुदायमा मनोरञ्जनात्मक र प्रेरणादायक वातावरण सिर्जना गर्नु थप उद्देश्य रहेको उक्त प्रतियोगिता अर्जुनधारा–८ नं. वडा कार्यालयको समन्वयमा सञ्चालन हुने एकाडेमीका सञ्चालक अशोक धिमालले बताए ।
सञ्चालक धिमालका अनुसार केवल नेपाली गीतमा एकल, युगल, समुहमा नृत्य प्रस्तुत गर्नुपर्ने उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई नगद पुरस्कार क्रमश ५१ हजार, २१ हजार र ११ हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । आयोजकका अनुसार प्रतियोगिताका लागि निर्णायकहरु कोशी प्रदेश, काठमाण्डौं र छिमेकी देश भारतबाट छनौट गरिने छ ।
सहभागिताको दर्ता शुल्क पाँच सय रुपैयाँ तोकिएको प्रतियोगितामा झापासहित काठमाण्डौं, सुनसरी, मोरङ, इलाम, पाँचथरलगायतका जिल्लाबाट पाँच सय बढी प्रतियोगीहरुको सहभागिता रहने छ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित पाँच लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकद्वारा प्रस्तुत प्रस्तावना पत्रमा उल्लेख गरिएको छ । प्रतियोगिताको लागि आवश्यक स्रोत जुटाउन अर्जुनधारा नगरपालिका, वडा कार्यालयहरु, स्थानीय संघ–संस्था र दाताहरुसँग समन्वय गर्ने आयोजकले तयारी गरेको छ । प्रतियोगिताबाट बचत भएको रकमलाई नृत्य गर्न इच्छुक विपन्न बालबालिकाहरुको नृत्य प्रशिक्षणमा लगानी गरिने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न आर्थिक व्यवस्थापन उपसमिति, प्रचार प्रसार उपसमिति, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, फोहोर व्यवस्थापन उपसमिति गठनसँगै हेल्थ डेस्क पनि सञ्चालन गरिने छ । त्यस्तै सोही कार्यक्रममा नृत्य विधाका अग्रज कलाकारहरु अशोक कुर्मी, कृष्णबहादुर तामाङ “डिस्को” र भक्ति सिटौलालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
स्थानीयस्तरमा हुने यस किसिमको कार्यक्रमबाट प्रतिभाहरुको पहिचान र प्रबद्र्धनसँगै विभिन्न स्थानहरुबाट कार्यक्रमस्थलमा आउने मानिसहरुका कारण शनिश्चरे बजार क्षेत्रको आर्थिक गतिविधिमा टेवा पुग्ने वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बताए । ‘विभिन्न बहानामा हामी बाहिर जाने क्रममा हामीसँगै अर्थ पनि बाहिर जाने हुँदा यस किसिमको कार्यक्रमले यहाँको अर्थतन्त्रलाई जोगाउन मद्दत पुग्ने छ’– वडाध्यक्ष उप्रेतीले स्पष्ट पारे ।
आफूले वडाको नेतृत्व सम्हालेसँगै यस किसिमको कार्यक्रमहरुलाई निरन्तरतासँगै प्रबद्र्धन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरताका लागि सकारात्मक भूमिका निभाउने वडाध्यक्ष उप्रेतीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
सञ्चालक धिमालको अध्यक्षता र वडाध्यक्ष उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन अर्जुनधारा युवा क्लबका सचिव सविन श्रेष्ठले गरेका थिए ।