लेखापढी व्यवसायीलाई धरपकड गरेको भन्दै आपत्ति

0
49

बिर्तामोड ।

मेची लेखापढी व्यवसायी संघ झापाले विनाकारण लेखापढी व्यवसायीलाई धरपकड गरेको भन्दै आपत्ति जनाएको छ ।

मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायीले आपत्ति जनाएका हुन् । अदालतबाट अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्र प्राप्त गरी कानूनसम्मत व्यवसाय सञ्चालन गर्दै आएको जनाउँदै संघले धरपकडले गम्भीर अवस्था र त्रासको वातावरण सृजना गरेको बताइयो ।

यातायात व्यवस्था कार्यालयमा विगत लामो समयदेखि लेखापढी व्यवसाय गर्दै आएका लेखापढी व्यवसायीहरुमाथि भएको धरपकडप्रति संघले गम्भीर चिन्ता व्यक्त गरेको छ । झापा जिल्ला अदालतलगायतका जिल्ला अदालतबाट अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्र प्राप्त गरी कानून सम्मत व्यवसाय सञ्चालन गर्दै आएको भएपनि केही गलत गर्ने ब्यक्तिका कारण ‘बिचौलिया’ भनेको भन्दै संघले आपत्ति जनाएको छ ।

संघले पत्रकार सम्मेलन गर्दै विगत लामो समयदेखि ठगी गर्दै आएका अनधिकृत व्यक्ति विशाल भण्डारी कार्यालयको सम्पर्कमा रहेका बेला नै पक्राउ नगर्दा हाल फरार रहेका र उनी कुनैपनि समय संघको सदस्य नरहेको समेत सम्मेलनमा जानकारी दिइयो । उनलाई अभिलम्ब पक्राउ गर्न संघले मागसमेत गरेको छ ।

अनधिकृत व्यक्तिले गरेको अपराधलाई लेखापढी व्यवसायीसँग जोडेर अनावश्यक दोषारोपण हुनुले मर्यादित व्यवसाय गर्दै आएका व्यवसायी माथि आघात पुगेको संघका सचिव ईश्वर सुवेदीले बताए । कानूनी मान्यताप्राप्त व्यवसायीलाई विचौलिया, दलाल जस्ता असभ्य भाषाको सम्बोधन सरकारी निकायबाटै भएको बताउँदै सचिव सुवेदीले सम्मानित अदालतकै गरिमामा आघात पुग्ने गरी यस किसिमका निकृष्ट सम्बोधन नर्गनसमेत आग्रह गरेका छन् ।

कानूनको सर्वोच्चतामा ‘दोषी नछुटोस्, निर्दोष नफसोस्’ भन्ने मान्यतालाई समेत ध्यानमा राखेर लेखापढी व्यवसायीलाई धरपकड नगर्न र सहज रुपमा काम गर्ने वातारण बनाइदिन अध्यक्ष निरौलाले आग्रह गरेका छन् । सरकारी राजश्व दाखिलाका लागि लाइनमा बसेका सहयोगीलगायतलाई रिहा गरी यस किसिमको धरपकडका श्रृङ्गला बन्द गर्न समेत उनीहरुले जोडदार माग गरेका छन् ।

सेवाग्राहीकै आग्रहमा कार्य सहजीकरण गर्दै आएको, कसै प्रति कुनै दुव्र्यवहार नगरेको र आगामी दिनमा समेत सेवाग्राहीको आग्रह वा इच्छा विपरीत कुनै काम नगर्ने, सेवाग्राहीलाई काम गर्ने तरिका, सम्पर्क स्थान देखाउने चिनाउने गर्दै आएको र यो क्रमलाई निरन्तरता दिने, मर्यादा विपरीत करकाप गरेको जानकारी गराए त्यस्ता व्यवसायीलाई कार्वाही गर्न प्रतिवद्ध रहेकोसमेत संघले जनाएको छ ।
केही दिन अघि प्रहरीले यातायात ब्यवस्था कार्यालय बिर्तामोडबाट ९ जनालाई बिचौलियाको संज्ञा दिँदै पक्राउ गरी ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये दुई जना लेखापढीका सदस्य रहेको संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका संस्थापक सचिव केदारकुमार श्रेष्ठ, सदस्य सागर तिवारीलगायतले बोलेका थिए । उनीहरुले सोमवारदेखि काम गर्ने वातावरण नरहेको जनाउँदै कार्यालय बन्द गरेका छन् । संघले काम गर्ने वातावरण सिर्जना गरिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय झापा र यातायात कार्यालयमार्फत मन्त्रालयलाई पनि सोही विबरणको ज्ञापनपत्र बुझाएको सचिव सुवेदीले बताए । सहयोगी अर्थात कर्मचारी राखेर काम गरेको बताउँदै नियम कानूनले नपाउने भए त्यसको ब्यवस्था गर्न आफूहरु तयार रहेको उनीहरुको भनाइ छ ।

लेखापढी ब्यवसायीले कार्यालय बन्द गरेसँगै यातायात ब्यवस्था कार्यालयमा सेवाग्राहीको भीड बढेको छ । नवीकरणका लागि गौरीगञ्जबाट बिहान ९ बजे आएका उज्ज्वल बस्नेतले व्यवसायी नहुँदा ४ बजेसम्ममा पनि काम गर्न नसकेको गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here