पथरीशनिश्चरे ।
मोरङ्गको पथरी शनिश्चरे नगरपालिकाको नयाँ सुविधा सम्पन्न प्रशासनिक भवन वडा नं १० को शिविर डाँडामा निर्माण गरिने भएको छ।
नगरपालिकाले नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिएको हो । पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनका लागि आवश्यक १२ कठ्ठा जग्गा गत फागुन १२ गते नेपाल सरकारको मन्त्री परिषदबाट निर्णय भएको नगर प्रमुख मोहनप्रसाद तुम्वापोले जानकारी गराए ।
सो कार्यका लागि आवश्यक आर्थिक तथा टेन्डर आह्वान प्रक्रिया सँगसँगै अगाडि बढिरहेको नगर प्रमुख तुम्वापोले जानकारी दिए । नगर प्रमुख तुम्वापोले वैशाख महिनादेखि नै निर्माण कार्य सुरु भएर २०८४ सालमा निर्वाचित भएर आउने जनप्रतिनिधिहरूले प्रयोग गर्न पाउने गरी दुई वर्षभित्र सम्पन्न गर्ने उद्देश्य सहित अगाडि बढेको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा नगरका प्रमुख तुम्वापोले ०.४ हेक्टर अर्थात् १२ कठ्ठा क्षेत्रफलमा ४ तले आधुनिक सुविधा सम्पन्न भवन निर्माणका लागि डिपीआर सहित आवश्यक प्रकिया सुरु भइरहेको बताए ।
उनले लिफ्ट सहितको अपाङ्ग मैत्री भवन निर्माणका लागि गएको नगरसभाले चार करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरी सकेको छ भने नेपाल सरकारबाट नगरपालिकाको प्रशासनिक भवन निर्माणका निम्ति प्रदान गरिने मापदण्ड अनुसार नै कूल १२ करोड रुपैयाँ बराबरको बजेट मध्येंबाट ५० प्रतिशत रकम (६ करोड रुपैयाँ) प्राप्त हुने सुनिश्चितता भएको बताए ।