योगेन्द्र योगी
बिराटनगर,
सुनसरीको धरानमा हत्या गरी फालेको अवस्थामा शव फेला परेको महिलाको पहिचान खुलेको छ। गत सोमबार मात्र प्रहरीले धरानको ६ नम्बर पानवारीस्थित पाँचकन्या जंगलमा मृत भेटिएकी महिलाको पहिचानको लागि भन्दै तस्विर सार्वजनिक गरेको थियो।
हत्या गरिएकी महिला इटहरी उपमहानगरपालिका २, हलगडामा बसोबास गर्दै आएकी ३४ वर्षीय चुनकुमारी दाहाल बुढाथोकीको रहेको प्रहरीले जनाएको छ। मृतक दाहाल बुढाथोकी धनकुटाको महालक्ष्मी नगरपालिका १ का निवासी भएको र मृतककी भाई लीलबहादुर दाहालले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख(एसपी) सुमन कुमार तिम्सिनाले जानकारी दिए।
गोठालो गएकाहरुले जंगल भित्र लसुनेको रुखमुनि शव देखेपछि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको थियो। प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेश लगाएर शव छाडेजस्तो देखिएको जनाएको छ। मृत फेला परेकी दाहालको कम्मर मुनिको भागको कपडा नभएको पनि प्रहरीले जनाएको छ।
हत्याराको पहिचान गर्न इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । हत्या कसले के उदेस्यको लागि गरेको हो भन्ने केहि पत्त लाग्नसकेको छैन। मृतककी श्रीमान प्रेम बुढाथोकी भने वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेको पाईएको छ ।
प्रेम कोरिया गएको ५ बर्षपछि गत पुष महिनामा करिव एक महिना विदामा आएको र पुनः कोरिया नै फर्किएको पाईएको छ । मृतक करिव डेढ बर्षदेखि इटहरीको हलगडामा छोरासँग भाडामा बस्दै आएको बताईएको छ। घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।