कनकाई।
खुलाल बस्नेत समाज धनञ्जय आश्रमको २४ अौं वार्षिक साधरणसभा सम्पन्न भएको छ।
कनकाई नगरपालिका-४ कोटीहवनस्थित खुलाल बस्नेत समाजको धनञ्जय आश्रममा कुलपूजा,रुद्री,चण्डीपाठ, होमादि धार्मिक अनुष्ठानसहित साधरणसभा सम्पन्न भएको हो।
खुलाल बस्नेत समाज धनञ्जय आश्रम व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा केदार बस्नेतले सहभागीलाई स्वागत गरेका थिए।
कार्यक्रममा संस्थाको विधान मस्यौदाबारे छलफल गर्नुको साथै संस्थाद्वारा स्थापना गर्न लागिएको अक्षयकोषको कार्यविधिबारे छलफल गरिएको थियो। सभाले सदस्यता शुल्कलगायत केही विषयमा संशोधन गरि विधान पारित गरेको छ। यस अघि नै विधान निर्माणका लागि कृष्ण बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको थियो। उनले विधानमा समावेश गरिएका विषयका बारेमा जानकारी गराएका थिए।
आश्रम व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बस्नेतले आयव्यवसहित समितिको गतिविधिवारे प्रकाश पारेका थिए। उनले संस्थालाई दिगो सोचका साथ अगाडि बढाउन चाँडै समाजको विधानलाई पूर्णता दिने र लगत्तै अक्षयकोष स्थापना तथा सांगठनिक सक्रियता विस्तार गर्न लागीपर्ने बताए।
कार्यक्रममा खुलाल बस्नेत समाज सुनसरीका अध्यक्ष रुद्रबहादुर बस्नेत, उपाध्यक्ष तथा पथरी शनिश्चरे नगरपालिका-७ का वडाध्यक्ष उद्धव बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए।
समाजका झापा जिल्लाअध्यक्ष पदम बस्नेत, धनञ्जय आश्रमका सल्लाहकार संयोजक तथा निवर्तमान अध्यक्ष लक्ष्मण बस्नेत, केशरबहादुर बस्नेत, समाजका बिर्तामोड नगर अध्यक्ष योगेन्द्र बस्नेत, सञ्चारकर्मी रत्नबहादुर बस्नेतलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन समितिका सचिव ईश्वरी बस्नेतले गरेका थिए।