बिराटनगर,
कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन सीमावर्ती नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनहरूमा पर्यटनसम्बन्धी स्टिकर टाँस्ने कार्यक्रम सुरु गरेको छ।
सुनसरीको कोशी ब्यारेजस्थित प्रहरी चौकीको प्रांगणमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले भारतीय नम्बर प्लेटको सवारीसाधनमा स्टिकर टाँसी कार्यक्रमको औपचारिक सुरुवात गरेका छन्।
यस अभियानको उद्देश्य विदेशी पर्यटकलाई सहज रूपमा नेपाल प्रवेश गर्न सहयोग पुर्याउनुका साथै कोशी पर्यटन वर्ष २०८२ को प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने वातावरण मन्त्री मण्डलले बताए।
शुक्रबार मात्र विराटनगरको रानी जोगबनी नाकाबाट औपचारिक रुपमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारीमा स्टिकर टाँस गरेर अभियानको सुरुवात गरेका थिए।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी बल ४ नं. गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रदेश सरकारले पर्यटन वर्षका क्रममा करिब १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। जसमध्ये अधिकांश पर्यटक भारतबाट आउनेलाई हेरिएको छ। प्रदेश सरकारले पर्यटकीयस्थलसंगै, धार्मिक, खेलकुद, स्वास्थ्यलाई पनि पर्यटनसँग जोडेर अघि बढेको छ।