मेचीनगरका कृषकलाई अनुदान, तालिम र औजार

0
20

मेचीनगर ।

कृषकहरुको समस्यालाई ध्यानमा राखेर मेचीनगर नगरपालिकाले कृषकलाई अनुदान, विभिन्न प्रकारका तालिम र औजारहरु प्रदान गरेको छ ।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द कार्कीले गतवर्ष र चालु आर्थिक वर्षमा कृषि शाखाले कृषकका लागि विभिन्न अनुदान, तालिम र मेसिनेरी सामग्री वितरण कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको बताए । कार्कीका अनुसार आकस्मिक बाली क्षति व्यवस्थापन तथा प्लाण्ट क्लिनिक सञ्चालन कार्यक्रम अन्तरगत १५ वटै वडामा ४०० भन्दा बढी कृषकको सहभागिता रहेको छ ।

बालीमा लगेको रोग किराहरुको क्षति पहिचान गरी कृषकहरुलाई समस्या समाधानका लागि आवश्यक मात्राको विषादी, परामर्श र प्राविधिक सेवा प्रदान गरिएको उनको भनाई छ ।

एकीकृत तोरी तथा मौरी पालन कार्यक्रम अन्तरगत ७६५ जना तोरी उत्पादक कृषकलाई तोरी उत्पादनको आधारमा २३ लाख ५७ हजार ८०५ रुपैयाँ बराबरको रकम प्रोत्साहन बापत अनुदान दिइएको छ ।

कृषक समूहको क्षमता विकास कार्यक्रम अन्तरगत मेचीनगर–१२ का २ वटा, १३ का एउटा र ९ नं.वडाको एउटा समूह गरी ४ वटा कृषक समूहलाई तरकारी तथा सुपारी खेती सम्बन्धी तालिम प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले जानकारी दिए ।

तरकारी खेती प्रर्वद्धन कार्यक्रम अन्तरगत मेचीनगर–१५ को चाम्लिङ कृषि फर्म, भांगासीतु, वडा नं.१० को मेनुका कृषि फर्मकृषि फर्म र वडा नं.११ को हरि–मञ्जुल कृषि फर्मलाई व्यवसायिक तरकारी उत्पादनमा २ लाखको आधुनिक कृषि उपकरण खरिद तथा प्लास्टिक घर निर्माणका लागि अनुदान उपलब्ध गराउने प्रक्रियामा रहेको उनले बताए ।

सुपारी खेती विस्तारका लागि वेर्ना उत्पादनमा सहयोग कार्यक्रम अन्तरगत मेचीनगर–१ को एउटा, वडा नं.१२ को एउटा, वडा नं.९ को एउटा समूह गरी ३ वटा कृष समूहलाई २० प्रतिशत साझेदारीमा ५ लाख अनुदान सहयोग वापत करिव ८० हजार वेर्ना उत्पादनका लागि रोप्ने काम भएको छ ।

तरुल खेती प्रर्वद्धन कार्यक्रम अन्तरगत गत माघ १ गते वडा नं.४ मा तरुल खेती गर्ने कृषक र सरोकारवालाहरुको सहभागितामा तरुल महोत्सव गरिएको थियो । यो कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा स्थापना गरिएको च्याउ पकेट विकास कार्यक्रमको निरन्तरता अन्तरगत मेचीनगर–१ को सारुगौडा कृषि फर्म, वडा नं.७ को काजी ग्रिन फाउण्डेशन र सरस्वती कृषि फमलाई व्यवसायिक च्याउ खेती उत्पादन तथा प्रर्वद्धनका लागि ६ लाख रुपैयाँ अनुदान सहयोग गरिएको छ ।

स्यालो ट्युववेल तथा मोटर जडान कार्यक्रम अन्तरगत नगरका विभिन्न २० वटा कृषक र कृषक समूहहरुलाई १५ प्रतिशत लागत साझेदारीमा बाली सिँचाईमा आत्मनिर्भर बनाउने उदेश्यले स्यालो ट्युववेल बोरिङ जडान गरिएको छ ।
५० प्रतिशत साझेदारीमा कृषि चुन तथा बाली गोड्ने औजार वितरण कार्यक्रम अन्तिम चरणमा रहेको बताइएको छ । यस्तै आलु र मकै खेती प्रर्वद्धनका लागि किसानहरुलाई अनुदान दिने प्रक्रिया भइरहेको छ ।

कृषि ज्ञान केन्द्र भद्रपुरको सहकार्य र आर्थिक साझेदारीमा नगरको ५ वटा वडामा माटो परीक्षण शिविर सञ्चालन गरिएको कार्कीले बताए । शिविरबाट ५०० भन्दा बढी कृषकहरुले आफ्नो माटोको अम्लियपना जाँच गराई फाइदा लिएको उनको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here