शिक्षक आन्दोलनः देशभरका विद्यालय बन्द गर्ने निर्णय

0
18

काठमाडौं ।

आन्दोलनरत् शिक्षकरुहले आफ्ना माग पूरा नभएसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । उनीहरुले एसईईको उत्तरपुस्तिका नजाँच्ने अडानसहित कक्षा १२को परीक्षा सञ्चालनमा सहभागी नहुने जनाएका हुन् । महासंघको बैठकले कक्षा १२को परीक्षा सञ्चालनमा सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२को परीक्षामा कुनै पनि शिक्षक कर्मचारी सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिए । मंगलवार माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूलाई निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेपछि उनीहरू सडकमा नै धर्ना दिएका थिए । उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नयाँ बानेश्वरमा धर्ना दिएका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत् नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । कक्षा १२को परीक्षा बैशाख ११ गतेदेखि शुरु हुँदैछ भने नयाँ शैक्षिक सत्र पनि शुरु भइसकेको छ । सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्दको घोषणा गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । महासंघले शैक्षिक हड्तालको घोषणा समेत गरेको छ ।

आफूहरूसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघले लगातार काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएको छ । आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आव्हान गरेर वा अध्यादेशबाट शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।
त्यस्तै महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने,कक्षा १२ को परीक्षा कार्यक्रममा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय समेत गरेको छ । आफ्ना माग पूरा नभएसम्म शैक्षिक हडताल जारी राख्ने महासंघको अडान छ ।

यता ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । नेपाल शिक्षक महासंघ संखुवासभाको टोलीसँग मन्त्रालयमा भएको भेटमा उनले शिक्षकका मागका सम्बन्धमा सरकारले सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने बताए । शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरुको पनि सुझाव र सल्लाह आवश्यक छ, शिक्षामन्त्री तथा मन्त्रिपरिषद्समक्ष यो विषयमा छलफल गर्नेछु– उनले भने । उनले अहिले विभिन्न ऐन निर्माणका लागि छलफलकै क्रममा रहेको उल्लेख गर्दै सरकार समयसापेक्ष ऐन निर्माणमा लागेको बताए ।

नेपाल शिक्षक महासंघ संखुवासभाका अध्यक्ष शेरबहादुर पुरीले शिक्षकका २४बुँदे मागका सम्बन्धमा पहलका लागि आग्रह गरे । नेपाल शिक्षक संघ संखुवासभाका सङ्घीय प्रतिनिधि दिव्यराज अधिकारीले यो शिक्षकको मात्रै आन्दोलन नभई शैक्षिक आन्दोलन भएको बताए ।

शिक्षकहरुले विद्यालयमा कर्मचारी दरबन्दी कायम गर्नुपर्ने, बालविकास कक्षा विद्यालय शिक्षा अन्तर्गत ल्याउनुपर्ने, शिक्षक बढुवा नियमित हुनुपर्ने, आन्तरिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने, शिक्षक ग्रेड बढाउनुपर्ने, सेवा प्रवेशको समय ४० वर्ष कायम हुनुपर्ने लगायतका माग राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here