पछिल्लो समययता अनलाइनका माध्यमबाट हुने व्यापार (ई–कमर्श) विशेषगरी शहरी क्षेत्रमा फस्टाउँदो छ । व्यस्त जीवनशैलीलाई प्रविधिको प्रयोगले घर र कार्यालयमै बसेर आफ्नो रोजाइका जुत्ता, लुगा, विद्युतीय सामग्री, फर्निचर, किताब, कापी, खाना र अन्य वस्तुहरूको अर्डर गर्ने चलन बढ्दो छ । व्यवसायको सन्दर्भमा व्यवसायलाई आवश्यक पर्ने कक्षा सामग्रीहरू औजार उपकरणहरू र अन्य आवश्यक सामग्रीहरु खरिद साथै उत्पादित वस्तु तथा सेवाहरुको बिक्री पनि अनलाइनबाट नै गरिन्छ । विश्व बजारमा अनलाइन व्यापार निकै अगाडि पुगिसके पनि नेपालमा भने भर्खर बामे सर्दैछ ।
नेपालमा इन्टरनेटको पहुँच र स्मार्टफोनको प्रयोग बढ्दा अनलाइन व्यापारको मागमा पनि वृद्धि भएको छ । यसले व्यापारी र ग्राहकहरूलाई अनलाइन प्लेटफर्ममा जोड्न सजिलो बनाएको छ । विभिन्न अनलाइन बजार जस्तैः हाम्रो बजार, दराज, सस्तो डिएल र अन्य अनलाइन रिटेलर्सले बजारमा आफ्नो राम्रो स्थान बनाएका छन् । नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रम र सरकारी नीति योजनाहरूले डिजिटल इन्फ्रास्ट्रक्चरमा सुधार ल्याएको पाइन्छ ।
मोबाइल वालेट जस्तैः इ–सेवा, आइएमइ पे, खल्ती, फोन पे र अनलाइन बैंकिङ सुविधाले ग्राहकहरूले अनलाइन पेमेन्ट मार्फत सुरक्षित र छिटो कारोबार गर्न सक्छन् । जसले अनलाइन बजारको विस्फोटक वृद्धि गर्न मद्दत पु¥याएको छ । त्यसैगरी अनलाइन व्यवसाय सञ्चालन गर्न फेसबुक, इन्ष्टाग्राम, ट्वीटर, टिकटक र युट्युब प्ल्याटफर्महरू व्यवसायिक दृष्टिकोणबाट प्रभावकारी मार्केटिङ टूल बनेका छन् ।
विश्वव्यापीरूपमा व्यापार व्यवसायको फरक साम्राज्य स्थापित गर्दै आएको अनलाइन व्यापार नेपालको हकमा भने कमजोर कानुनी धरातलमा उभिएर अस्तित्व लडाईका लागि संघर्षरत छ । अनलाइन व्यापार व्यावहारिक हिसाबले परिपक्क बनिसक्दा पनि यसको कानूनी पक्ष भने भर्खरै भ्रुणको रुपमा विकसित हुँदैछ । देशको आन्तरिक व्यापारमा अनलाइनको माध्यमबाट हुने कारोबारको हिस्सा पर्दै गएपनि यसमा उपभोक्ताको पूर्ण विश्वास भने अझै जागी सकेको भने देखिँदैन ।
अनलाइन व्यापारीहरूले सुन देखाएर पित्तलको व्यापार गर्छन् भन्ने बुझाइ उपभोक्तामा छ । सरकारले इकमर्शलाई प्रवद्र्धनको नीति लिए पनि नियमन अनुगमन सुपरिवेक्षणका विधिविधान आधार र सिद्धान्त भने अझै बनिसकेका छैनन् । अनलाइन व्यापारको दायरा बढ्दै गए सँगै यस्ता व्यापार व्यवसायलाई नियमन र अनुगमन गर्ने चुनौती पनि थपिएको छ । कम्पनीहरूले उपभोक्तालाई ठगी गरेको विषयमात्र नभई अधिकांश कम्पनी सम्बन्धित निकायमा दर्ता समेत नगरी वा अन्य कुनै कानूनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका छन् ।
अनलाइन व्यापार–व्यवसाय सञ्चालनका लागि कम्पनी रजिस्टर कार्यालय, वाणिज्य विभाग लगायत सरकारी निकायमा दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ, तर सामाजिक सञ्जालमा कुनै वस्तुको सामान्य विवरण राख्ने र त्यसैका आधारमा ग्राहक खोजी व्यापार गर्नेहरूको संख्या बढी छ । राज्यको स्पष्ट कानून व्यवस्था नहुँदा उपभोक्ता ठगिने गरेका छन् । व्यक्तिगतरूपमा जथाभावी भइरहेको व्यापारले समग्र अनलाइन व्यापारलाई नै हानि गरिरहेको छ भने उपभोक्ताहरूलाई अनलाइन व्यवसायप्रति विश्वास जगाउन सकेको छैन ।
तोकिएभन्दा फरक सामान आए कसलाई कहाँ भन्ने, गुणस्तर नभए कहाँ गुनासो गर्ने, भुक्तानी गरिसकेपछि सामान पाउने कि नपाउने जस्ता समस्याले अनलाइनको किनमेलमा विश्वस्त बन्न सकेका छैनन् भने भुक्तानी प्रणालीले समेत विश्वस्त दिन सकेको छैन । कारोबार सफल नभए काटिएको रकम तुरुन्त फिर्ता गर्ने व्यवस्था छैन । एउटै बैंकको खातामा निःशुल्क भए पनि फरक बैंकको खातामा सानो रकम पठाउँदा चार रुपैयाँदेखि १२ रुपैयाँसम्म शुल्क लाग्दछ । ई–कमर्श सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदका दुबै सदनबाट पारित भई गैत चैत ३ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । आगामी बैशाख २ गतेदेखि नयाँ कानून कार्यान्वयनमा आउने छ ।
नेपालमा खासगरी दराज डट कमको प्रवेशसँगै अनलाइन किनमेलले गति लिएको हो । अनलाइन किनमेलप्रति आकर्षण बढ्नुमा विभिन्न कारणहरू छन्, जसमा पहिलो कोभिड र लकडाउन पर्दछ कोभिडका कारण भिडभाडमा जानु बजार धाउनु अनुकूल नहुने भएकाले घरमै बसेर आफूलाई चाहिने सामग्रीको अर्डर गर्न थालेको पाइन्छ भने दोस्रो व्यस्तता हो । बजार धाएर छानी–छानी किनमेल गर्ने धेरैलाई फुर्सद हुन्न । त्यसैगरी पछिल्लो समय सर्वत्र इन्टरनेट र मोबाइलको सुविधा भएर अनलाइनबाटै रकम भुक्तानी प्रणाली गर्न सकिन्छ ।
नेपालका ग्राहकहरूको मानसिकता समेत बदलिँदै गएको छ । परम्परागत सपिङ विधिहरूलाई पछाडि हार्दिक ग्राहकहरूले अनलाइन प्लेटफर्ममा खरिद गर्न थालेका हुन् घरमै बसेर सामान प्राप्त गर्ने सुविधा र समय बचतका कारण अनलाइन व्यापारमा उल्लेखनीय वृद्धि त भएकै छ । यता अनलाइन डिटेलमा विभिन्न प्रमोसन र छुटहरूको प्रभावले ग्राहकहरुको आकर्षण अझ थप भएको छ । यसले सामाजिक र आर्थिक पक्षमा ठूलो परिवर्तन ल्याइरहेको पाइन्छ । प्रविधि, डिजिटल पेमेन्ट र ग्राहकहरूको बदलिँदो मानसिकताका कारण अनलाइन व्यापारको भविष्य उज्ज्वल देखिन्छ ।