सम्पदाहरु हाम्रा धरोहर हुन्

0
31

आज विश्वसम्पदा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष अप्रिल महिनाको १८ तािरखमा मनाउने गरिएको छ । संयुक्त राष्ट्र संघीय अङ्ग युनेस्कोद्वारा विश्वमा रहेका बहुमूल्य प्राकृतिक, ऐतिहासिक एवम् उत्कृष्ट वस्तुहरुको संरक्षण र विकास गर्ने उद्देश्यले मनाउन थालिएको यो दिवसको सान्दर्भिकता अझ बढेर गएको छ । नेपाल इतिहास बोकेको देश हो र यहाँका प्राचीन कलाकृतिहरु विश्वभर प्रशिद्ध छन् । यहाँका प्राचीन शहरहरुले हाम्रा प्राचीन सम्पदाहरुको संरक्षण र सम्बद्र्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी सरकारको हो । युनेस्कोले सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौं उपत्यकाभित्रका सातवटा स्मारक क्षेत्र तीनवटा ऐतिहासिक दरबार, दुईवटा बौद्ध स्तुप र दुईवटा हिन्दू मन्दिर स्मारक विश्वसम्पदा सूचीमा सूचीकृत छन् ।

प्राकृतिक सम्पदाहरु चितवन, सगरमाथा राष्ट्रिय निकुञ्ज समेत विश्वसम्पदाको सूचीमा छन् । हामीसँग रहेका ऐतिहासिक तथा प्राकृतिक धरोहरको रक्षा र सम्मान गर्नु राष्ट्रिय धर्म हुनुपर्छ । विश्वका अर्बौं वैदिक सनातन हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्र नेपाल प्राचीनतम् सभ्यताको समेत मूल थलो हो । यसै पनि नेपाल जैविक विविधताले समृद्ध देश हो, जसले विश्वलाई आफूतर्फ आकर्षित गरेको छ । अध्ययन, अनुसन्धान गर्नेहरुका लागि विशिष्ट पाठशाला रहेको नेपालका यस्ता सम्पदाहरुको संरक्षण तथा सम्बद्र्धन गर्नु वर्तमानको आवश्यकता हो । नेपालीको गौरवका रुपमा प्रतिष्ठित हाम्रा सम्पदाहरु पछिल्लो समय अतिक्रमणको चपेटामा पर्दै गएका छन् । हाम्रा कतिपय देवालयहरु अनेक नाममा खण्डित भइरहेका छन् । बढ्दो आधुनिकीकरण र भौतिक विकासका नाममा यस्ता अमूल्य सम्पदाहरु मासिन थालेका छन्, केही धराशायी बनेका छन् । सगरमाथा, लुम्बिनी लगायतका हाम्रा सम्पदाहरु वातावरणीय तथा मानवीय गतिविधिका कारण प्रदूषित भइरहेका छन् । यस्ता सम्पदाहरुको क्षय राष्ट्रकै अपमान हो ।

हाम्रा धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गरी अझै धेरै विदेशीलाई आकर्षित गर्नुपर्छ । हामीकहाँ राज्यको सुरक्षा र भएका सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने सरकार आफैं यसको महिमाप्रति बेखबर छ । अतिक्रमणमा पर्दै गएका मठमन्दिर, चौतारी, हिमाल, पहाड, ताल, स्मारक, भवन, शहरलाई जोगाउन सकिएन भने भावीपुस्ताप्रति अपराध हुनेछ । अनेक जाति, संस्कार, संस्कृति, भाषा, भुषा र परम्परामा समेत विशिष्ट पहिचान बनाएको, पुर्खाहरुले विकास र संरक्षण गरेका यस्ता धरोहरहरुको सुरक्षामा राज्यका तीनै अङ्ग, तीनै तहका सरकार र सचेत नागरिक लाग्नुपर्छ । भूकम्पको चपेटामा परेका कतिपय सम्पदाको पुननिर्माण नभइरहेका बेला यो दिवसले आमनागरिकलाई सजग बनाउनुपर्छ । अझ राज्य सञ्चालकहरुमा त यीनै सम्पदाको माध्यमबाट अर्थतन्त्र समृद्ध हुनसक्छ भन्ने चेत जाग्नुपर्छ । होइन भने हाम्रा सम्पदाहरु कालान्तरमा अस्तित्वविहीन हुन पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here