योगेन्द्र योगी
बिराटनगर,
नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न संयुक्त अरब इमिरेट्स(युएई) तत्पर रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अबुधाबीमा आयोजना भएको अबुधाबी विश्व स्वास्थ्य सप्ताह २०२५ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी भएको कार्यक्रममा युएईका स्वास्थ्य विभागका अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरी बीच भएको भेटवार्तामा नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न युएई सरकार तत्पर रहेको बताएका छन्।
स्वास्थ्य विभागका अध्यक्ष अल मन्सुरीले दुई देशबीच एमओयु सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्नआवश्यक रहेको बताए। युएईमा रहेका नेपाली श्रमिकहरुको प्रशंसा गर्दै स्वास्थ्य विभागका अध्यक्ष अल मन्सुरीले नेपालसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन युएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेको बताए। तर,त्यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानूनी आधार तयार हुन आवश्यक रहेको समेत बताए।
भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले युएई सरकारले आफूलाई भ्रमणका अवसरमा प्रदान गरेको स्वागत तथा आतिथ्यताप्रति कृतज्ञता प्रकट गर्दै युएईमा ठूलो संख्यामा नेपालीहरु कार्यरत रहेको ,युएई नेपालीहरुका लागि एक प्रमुख गन्तव्य रहेकाले नेपालीहरुको हित र सुरक्षित रोजगारीका लागि स्तरीय तालिम उपलब्ध गराउने बिषयमा युएई सरकारलाई सहयोग गर्न आग्रह गरे।
साथै, उनले नेपाल सन् २०२६ मा एलडीसी बाट स्नातक हुने प्रक्रियामा रहेको र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्न प्रतिवद्ध रहेकोले युएई सरकारको सहयोगका लागि आग्रह गरे। स्वास्थ्य क्षेत्रको विकासमा युएई सरकारको सहयोगको अपेक्षा गर्दै उनले नेपाल स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिको आधारमा युनिभर्सल कन्भर्ज सिस्टम भित्र स्वास्थ्य वीमा प्रणाली लागू गर्ने बताए।
नेपालमा मृगौला डायलाइसिस केन्द्र स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपण लागि सहयोग गर्न समेत युएई सरकारलाई आग्रह गरे। मन्त्री पौडेलले अबुधाबी विश्व स्वास्थ्य सप्ताहका विभिन्न फोरमहरुमा सहभागिता जनाएका छन् ।
यसअघि उक्त सम्मेलनका विभिन्न बैठकहरुमा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले दूतावासका तर्फबाट सहभागिता जनाएका थिए । विश्वका ९० देशका १९०० प्रतिनिधिहरु सहभागी भएको यो सम्मेलनमा विभिन्न देशका २०० विशेषज्ञ वक्ताहरुको सहभागिता थियो भने विश्व स्वास्थ्य सम्बन्धी ठूलो संख्यामा प्रदर्शनी स्टलहरु राखिएको थियो ।
प्रत्येक वर्ष आयोजना हुने अबुधाबी विश्व स्वास्थ्य सप्ताह सम्मेलनले आपसी सहकार्य, सहयोग, आधुनिक प्रविधि र दिगोपनको प्रयोग मार्फत विश्व स्वास्थ्य कल्याणको केन्द्रका रुपमा नेतृत्वदायी प्लेटफर्म प्रदान गर्नेकार्य गरिरहेको छ । मन्त्री प्रदिप पौडेलले युएईमा २० अप्रिलका आयोजना हुने नेपाल फेस्टिवल २०२५ मा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम रहेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।