अर्जुनधारा ।

नव वर्ष २०८२ र लोकतन्त्र दिवसको सन्दर्भमा यही वैशाख १३ गतेदेखि १५ गतेसम्म अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा प्रथम उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
“नगर खेलकुदको पहिचान नगरको सान, खेलाडीहरुको क्षमता र दक्षतामा वृत्ति विकास गर्ने हाम्रो अभियान” भन्ने मुख्य नारासहित अर्जुनधारा–६ महानन्द चोकस्थित बिर्ता ब्याडमिन्टन हलमा हुने प्रतियोगिता अन्र्तगत तीन वटा विधामा खेलहरु सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार भेटघाटमा समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
उनका अनुसार प्रतियोगिता अन्र्तगत प्रदेशस्तरिय खुल्ला पुरुष डबल, प्रदेशस्तरिय भेट्रान्स ओभर(४५ वर्ष माथि) र जिल्लास्तरिय जनप्रतिनिधि–कर्मचारी विधामा खेलहरु सञ्चालन हुने छ । प्रदेशस्तरिय खुल्ला पुरुष डबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने दुई जनालाई नगद पुरस्कार क्रमश ४० हजार, २५ हजार र २० हजार, प्रदेशस्तरिय भेट्रान्स ओभरतर्फ प्रथम, द्वितीय र तृत्य हुने दुई जनालाई नगद पुरस्कार क्रमश ३० हजार, २० हजार र १२ हजार तथा जिल्लास्तरिय जनप्रतिनिधि–कर्मचारीतर्फ प्रथम, द्वितीय र तृतीय हुने दुई जनालाई नगद पुरस्कार क्रमश २० हजार, १० हजार र आठ हजार प्राप्तसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका सदस्य सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।

विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टल संघको नियम अनुसार खेलहरु सञ्चालन हुने प्रतियोगितामा एक सय ५० जना खेलाडीको सहभागिता रहने बताइएको छ । प्रत्येक विधामा खेलाडी सहभागिताका लागि दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित छ लाख १३ हजार रुपैयाँ खर्च लाग्ने प्रस्तुत लागत खर्च विवरणमा उल्लेख गरिएको छ ।
अध्यक्ष धिमालको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समितिका सल्लाहकार सदस्य वीरबहादुर राई, ब्याडमिन्टन खेलाडी नविन सिलवाललगायतले प्रतियोगिताको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा अर्जुनधारा–६का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला र अर्जुनधारा–११का वडाध्यक्ष खगेन्द्र इङनामलगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन सदस्य सचिव लिङदेनले गरेका थिए ।