योगेन्द्र योगी
विराटनगर,
झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउनसुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका- ६ बनियानि चोक स्थितमा भारतीय बीआर ३७ एई ६४५१ नम्बरको मोटरसाइकल चालक कचनकवल-५ का २८ बर्षीय कासिम मियालाई लागूऔषध ब्राउनसुगर ४४ ग्राम ८ सय २० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी, लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट मे ९ प ३४३६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आईरहेका पाँचथरको कुम्मायक गाउँपालिका-३ का २८ बर्षीय अइन्द्र विक्रम खड्कालाई २७ ग्राम १ सय ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
यस्तै, झापाको इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्थितबाट शिवसताक्षी नगरपालिका-५ का २७ बर्षीय पञ्चम ताजपुरिया र २६ बर्षीय अर्जुन हजामलाई १ ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले सुनसरीको ईनरुवा नगरपालिका-२ का २६ बर्षीय सुदिप न्यौपाने र २५ बर्षीय नविन अलीलाई २ ग्राम २८ मिलिग्राम, कोशी गाउँपालिका-२ का एक बालकलाई २ ग्राम लागूऔषध ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट सोही स्थानमा २४ बर्षीय आशिष कुमार सरदार र ३० बर्षीय कृष्ण चौधरीलाई १ ग्राम ५० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गर्न सफल भएको हो ।
यसका साथै मोरङको बिराटनगर महानगरपालिका-१५ स्थीत एक नम्बर ढाँटमा सुँघ्ने कुकुर सहितको चेकिङ टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१४ का ३९ बर्षीय रमेश परीयारलाई ब्राउनसुगर ५ ग्राम ७४० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरीरहेको छ ।
यसैगरी, सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाँउपालिका-१ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको रामधुनी- ५ का २० वर्षीय करण चौधरी, ईटहरी-४ का ४० वर्षीय पर्वत यादव, १९ वर्षीय रोमन चापाँगाई, १९ वर्षीय मिलन तामाङ, मोरङ सुन्दरहरैँचा नगरपालिका-५ का ४२ वर्षीय प्रेम कुमार राईलाई पक्राउ गरेको हो।
यस्तै, ३१ वर्षीय दिपेश तामाङ, सुन्दरहरैचा-६ का २५ वर्षीय अनिल खवास, २६ वर्षीय अजित श्रेष्ठ, सुनसरी धरान- ८ का २९ वर्षीय सरोज विश्कर्मा, सोही स्थानका ३४ वर्षीय किशोरको मादेन, सुनसरी धरान उप-महानगरपालिका-१० का २७ वर्षीय निरन श्रेष्ठलाई ब्राउन सुगर ३१.९६ ग्राम सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुनसरी धरान उप-महानगरपालिका-११ स्थितबाट अस्थायी प्रहरी चौकी रेल्वे, धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बुलाई ब्राउन सुगर ५३० मिलिग्राम र प्रतिबन्धित औषधी ट्रामोल-४० क्याप्सुल, कोलिवन-३० ट्याब्लेट सहित पक्राउ गरेको छ। लागूऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भैरहेको कोशी प्रदेशका प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए।