विनोद सापकोटा,
शिवसताक्षी, “बुढेसकालको सहारा कम्युनिस्ट पार्टीले दिन्छ?” धेरैले पत्याएनन् होला। तर नेकपा एमालेको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ को वडा कमिटीले गरेको एउटा साधारण तर गहिरो अर्थ बोकेको कार्यक्रमले यो प्रश्नलाई उत्तर मात्र दिएन, विश्वास पनि दिलायो। 

वडाको आइतबारे बजारमा आयोजित कार्यक्रममा जब ५६ जना जेष्ठ नागरिकलाई सम्मानपूर्वक काठको लौरो थमाइयो, उनीहरूको अनुहारमा देखिएको मुस्कान स्वयं परिवर्तनको सन्देश बन्यो। सम्मानपत्र, रुद्राक्ष माला, र खादा सहितको सम्मानले उनीहरूलाई “समाजले बिर्सिएको छैन” भन्ने आत्मगौरव महसुस गरायो। ९० वर्षीय वेदनिधि ढुङ्गानाले उत्साहित हुँदै भने, “८४ सालको चुनावमा यो लौरो टेक्दै सूर्य छापमा ड्याङ ड्याङ्गै छाप लगाउनेछु”।
यो मात्र एउटा उत्साह होइन, समर्पण र विश्वासको अभिव्यक्ति हो—राजनीति जनताको सेवा हो भन्ने सन्देश दिने अभिव्यक्ति। पूर्व सांसद तारासम याङया, जो अहिले पनि पार्टी गतिविधिमा सक्रिय छन्, सम्मानित भएका यी व्यक्तिहरूमध्ये एक हुन्। उनले हाँस्दै भने, “लौरो त अब केही वर्षपछि पक्कै काम लाग्ला, अहिले त म अझै साइकलमै हिँड्छु!” कार्यक्रम मात्र सम्मानमा सीमित थिएन।

वडाध्यक्ष लोकनाथ खनाल ‘लोकेश’को नेतृत्वमा वडा कमिटीले प्रत्येक टोलमा टोल कमिटी गठन गरी संगठनलाई बलियो बनाउँदै लगेको छ। पर्यटन प्रवर्द्धनका लागि धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल चिल्लागढ धाममा कार्यक्रम भएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश कमिटी सदस्य एलपी सावा लिम्बुले वडाले गरेको जस्तो कार्यक्रमहरू गाउँ गाउँमा हुन जरुरी रहेको बताए। “पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विषयमा नेकपा एमालेले जनताको पक्षमा निरन्तर कार्य गरिरहेको छ ।
राजनीति भाषणमा होइन, कार्यमा देखिनुपर्छ,’ उनले भने । कार्यक्रममा नगरप्रमुख रोशन थोप्रा, नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ४ का पार्टी संयोजक धनबहादुर थेबे, नगर अध्यक्ष मेदनी दङ्गाल लगायतले जेष्ठ नागरिकलाई सम्मान गर्दै जनसेवामा आफूहरू समर्पित रहेको प्रतिबद्धता जनाए।
कार्यक्रम केवल लौरो बाँड्ने कार्यक्रम थिएन। समाजमा योगदान दिएका मानिसहरूलाई बिर्सनु हुँदैन भन्ने दृष्टिकोण हो। यो एउटा पाठ हो । राजनीतिक दलले सेवा, सम्मान र समर्पणको बाटो रोज्नुपर्छ भन्ने कार्यक्रममा सहभागी भएका अधिकांश नेता कार्यकर्ताले बताए ।