कोशी प्रदेश प्रहरी कार्यालय र प्रदेशको आन्तरिक मामिला मन्त्रालयले लागूऔषध दुव्र्यसनबिरुद्धको अभियान प्रारम्भ गरेको छ । दिनहुँ बढ्दै गएको लागूऔषध दुव्र्यसनको समस्यालाई नियन्त्रण गर्न भन्दै प्रारम्भ गरेको अभियानको नारा अबको युद्ध, दुव्र्यसनबिरुद्ध राखिएको छ । बढ्दो दुव्र्यसनका कारण समाज क्रमशः कमजोर हुँदै गएको छ भने त्यसले निम्त्याउने आर्थिक, पारिवारिक तथा राष्ट्रिय क्षतिलाई रोक्न सिङ्गै समाज नै अग्रसर हुनुपर्छ । प्रहरीले छुट्टै सेल खडा गरी सीमानाकामा निगरानी बढाएको र दिनहुँ कारोबारी पक्राउ गरिरहेको भए पनि यसको कारोबारमा कमी आउन सकेको छैन ।
नेपाल–भारतको खुला सीमाका कारण लागूऔषध भित्रिरहेको प्रहरीकै तथ्यांकले देखाउँछ । यसले प्रहरी एक्लैको प्रयासले यसको जालो छिनाउन कठिन हुने देखाउँछ । पूर्वीनाका काँकरभिट्टामा सशस्त्र प्रहरी बल, सीमा सुरक्षा ुगुल्म काँकरभिट्टाबाट खटिएको टोलीले मेची पुलमै मोटरसाइकलमा सवार एक व्यक्तिको साथबाट लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर बरामद भयो । तालिम प्राप्त कुकुरको सहायतामा पक्राउ परेका व्यक्ति प्रहरी हिरासतमा छन् । त्यसैगरी दक्षिण–पूर्वी सीमा क्षेत्र कचनकबल बनियानीबाट पनि एक व्यक्ति पक्राउ परे भने कोशी प्रदेशका भारतसँग सीमा जोडिएका विभिन्न नाकाहरुबाट पनि लागूऔषधसहित कारोबारी पक्राउ परिरहेका छन् ।
कोशी प्रदेशमा बढ्दै गरेको लागूऔषध दुव्र्यसन र कारोबारको कारण परिवार, समाज हुँदै देश नै प्रभावित भइरहेको छ । यसको निदानका लागि प्रहरीलाई तीनै तहका सरकार, सबै सुरक्षा निकाय र सरोकारवाला सबै पक्षका बीच समन्वय आवश्यक छ । यसका लागि सबै पक्षले साझा अभियान नै सञ्चालन गर्नुपर्छ । लागूऔषधको समस्या अहिले तराईमा मात्र सीमित नभएर पहाडी र हिमाली जिल्लामा समेत देखिन थालेको छ । यस्तोमा शुरु भएको अभियानलाई सफल बनाउन सरोकारवाला सबैको दायित्व हो । विश्वमै अत्यन्त ठूलो समस्या बनिरहेको लागूऔषधको दुव्र्यसन तथा कारोबार नियन्त्रण गर्न अब स्वयम्सेवी संस्था, प्रहरी वा सरोकारवाला मात्र होइन अभिभावक पनि सचेत भएर लाग्नु पर्दछ । होइन भने युवाशक्ति विदेश पलायन भई उत्पादन क्षेत्र नै प्रभावित हाम्रो देशका लागि लागूऔषध दुर्भाग्य हुनेछ ।