भद्रपुर ।
भद्रपुर नाकाबाट भन्सार छलेर भित्राइएको मोबाइलका पार्टससहित एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
भद्रपुर–५ स्थित दोभान नाकाबाट भित्राइएको २० कार्टुन मोबाइल पार्टस बा १८ च ४६१६ नम्बरको पिकअप गाडीमा हालेर पठाउने क्रममा जिल्ला प्रहरी कार्यालय झापा र घोडामारा प्रहरी चौकीको संयुक्त टोलीले शनिबार राती ८ बजे भद्रपुर-९ घोडामाराबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले गाडी चालक भद्रपुर नगरापालिका–५ निवासी २३ वर्षीय राहुल कामतलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीले २९ लाख ८७ हजार दुई सय रुपैयााँ मुल्य बराबरको मोबाइल फोन तथा पाँच लाख मुल्य बराबारको गाडीसहित ३४ लाख ८७ हजार दुई सय रुपैंया बराबारको सामान बराबद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए ।
बरामद गरिएको मोबाइल पार्टस र गाडीको मूल्याकंन गरी भन्सार मेची भन्सार कार्यालयमा बुझाएको जनाइएको छ । प्रहरीले आइतबार बरामद गरिएको सामान, गाडी र चालकलाई लिएर भद्रपुर भन्सार कार्यालय बुझाउन गएका थिए ।
तर, भद्रपुर भन्सारले चालकलाई नबुझ्ने भनेपछि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाउन लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले गएराति अन्दाजी १० बजे अर्जुनधारा– ६ छाताचौकमा बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी १८ लाख १० हजार २५० बराबरको अवैध सामान बरामद गरिएको छ । मोबाइल र मोबाइल पार्टसका सामानहरू बरामद भएको जनाइएको छ ।