जरिवाना तिरेपछि उद्योग खोल्यो, अखाद्य वस्तु नष्ट

0
27

मेचीनगर।

सञ्चालकले पचास हजार रुपैयाँ जरिवाना तिरेपछि मेचीनगर नगरपालिकाले उद्योगको ताला खोलिदिएको छ ।

मेचीनगर–९ स्थित पूजा फुड प्रोडक्सन उद्योगका सञ्चालकले म्याद नाघेको पास्ता र सुजी उत्पादन, बिक्री वितरण गरेको पाएपछि नगरपालिकाले उद्योगमा ताला लगाएको थियो ।
उद्योगलाई मेचीनगर नगरपालिकाले पचास हजार जरिवाना गरेको थियो ।

उद्योगका सञ्चालक पुष्पा जैसवाल चौधरीले नगरपालिकामा शुक्रबार जरिवाना वापतको ५० हजार रुपैयाँ राजश्व तिरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् उपभोक्ता हित संरक्षण विभागले तोकेको निरीक्षण अधिकृत अग्निप्रसाद अधिकारीले तयारी समान नष्ट गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (क) बमोजिम रु.५० हजार जरिवाना गरिएको बताए ।

आइतबार ताला खोलेर उद्योगमा रहेको अखाद्य ७२५ केजी अर्थात ४५ बोरा पास्ता र सुजी नष्ट गरेको नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिए । यही चैत २७ गते मेचीनगर नगरपालिकाले जिल्लाको सरकारी निकायको टोलीको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा उक्त उद्योगमा पास्ता र सुजीमा म्याद नाघेको र मैदामा कफियत भेटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here