अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत महिला तथा बालबालिका शाखाको आयोजनामा सोमबारदेखि तीन दिने उद्घोषण तालिम सुरु भएको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२को स्वीकृत सीपमूलक विकास कार्यक्रममार्फत् स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको शाखाकी प्रमुख सूर्यमाला पन्धाक लिम्बूले जानकारी दिइन् ।
नगरपालिकाको सभाहलमा सञ्चालन हुने उक्त तालिमको उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् । नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य अमित खम्बू सहजकर्ता रहेको तालिममा ८३ जनाको सहभागिता रहेको छ ।

तालिममा सहभागीहरलाई उद्घोषक र उद्घोषणको परिचय, उद्घोषक र उद्घोषणको भिन्नता, उद्घोषणका प्रकारहरु, प्रत्यक्ष उद्घोषण र अप्रत्यक्ष उद्घोषणको भिन्नता, युगल उद्घोषण, उद्घोषकको दायित्व, योग्यता, सफल उद्घोषकमा हुनुपर्ने गुर्णहरु, उद्घोषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, कार्यक्रमको परिचय, प्रकारहरु, भिन्नता, मञ्चीय माध्यमका कार्यक्रमहरुमा आवश्यक वस्तुहरु, कार्यक्रम तालिका सम्बन्धी सैद्धान्तिक ज्ञानसँगै अभ्यास कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
नगर उपप्रमुख पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा तालिमको औचित्य माथि प्रकाश कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशीलाल परियार “भोला”ले गरेका थिए । अर्का कार्यपालिका सदस्य चन्द्रकुमार तामाङले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख लिम्बूले गरेकी थिइन् ।