योगेन्द्र योगी
बिराटनगर,
संयुक्त अरब इमिरेट्स(युएई) पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको इज्जत र प्रतिष्ठा कायम गरी काम गर्ने गरी काम गर्न त्यहाँ कार्यरत नेपालीहरुलाई अनुरोध गरेका छन्।
दुबइको क्रीक पार्कमा नेपाल फेस्टिवल उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालीहरुका लागि युएई एक प्रमुख लोकप्रिय वैदेशिक रोजगारीको गन्तव्य मुलुक भएको बताउदै विदेशमा रहने सम्पूर्ण नेपालीहरु सद्भावना राजदूतको रुपमा रहेकोले सधै नेपालको इज्जत र प्रतिष्ठा कायम गरी अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ भइ एकआपासमा मिलेर कार्य गर्न नेपालीहरुलाई अनुरोध गरेका छन्।
नेपाली दूतावास, अबुधाबीको संरक्षकत्व र समन्वयमा गैरआवासीय नेपाली संघ यूएई, नेपाली समाज युएई लगायत युएईमा रहेका सम्पूर्ण सामाजिक संघसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक आयोजना गरिएको नेपाल फेस्टिवल २०२५ लाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएको हुँदा हामीले हाम्रो मौलिक संस्कृति, परम्परा, भाषा, साहित्य, संगीत, कला र पर्यटनलाई विश्वसामु परिचित गराउदै समग्र नेपालको पर्यटन उद्योगको विकास मार्फत जनताको सुनौलो भविष्य निमार्णका लागि योगदान गर्नुपर्ने बताए।
नेपालको प्राकृतिक र सांस्कृतिक विविधताको अनुभव लिन मित्रराष्ट्रका विदेशी नागरिकहरुलाई कम्तिमा पनि एक पटक अवश्य नेपाल भ्रमण गर्न अनुरोध गरे। उनले नेपाल र युएईबीच द्विपक्षीय सहयोगका प्रचुर सम्भावनाका क्षेत्रहरु रहेको बताउदै पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रहरुमा दुईदेशबीच सहकार्य गरी अघि बढ्न सकिने बताए।
यस्तै, स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल सरकारले उच्च प्राथमिकतासाथ काम गरिरहेको उल्लेख गर्दै उनले आफ्नो युएईको भ्रमणका क्रममा नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेको कुरा समेत बताए ।
उनले विदेशमा रहेका नेपाली श्रमिकहरुले टेलिमेडिसिन सेवा मार्फत स्वास्थ्य उपचार सेवा लिन सक्ने जानकारी गराउदै मृगौला तथा गम्भीर प्रकृतिको रोगको उपचार गर्न नेपाल सरकारले आर्थिक सहयोग उपलब्ध गराउने गरेको बताए। उनले विदेशी भूमिमा कार्यरत रहेर पनि नेपालीहरु एकजुट भई नेपाल झल्काउने नेपाल फेस्टिवल जस्ता महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा नेपाली दूतावास लगायत यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायहरूप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाल फेस्टिवल २०२५ मा नेपालको सांस्कृतिक बिविधताको प्रदर्शनले नेपालको विविध संस्कृति, कला, भेषभुषा, खाना, रहनसहन नेपालको पहिचान भएकाले यस प्रकारका कार्यक्रमले नेपाल र युएईको सम्बन्धलाई अझ प्रगाढ र घनिष्ट बनाउदै सांस्कृतिक कूटनीतिका माध्यमबाट दुई देशका जनताबीच जोड्ने सेतुको रुपमा कार्य गरेको र यसबाट नेपालको पर्यटन, लगानी तथा व्यापार अभिवृद्धि गर्न थप योगदान पुग्ने बिश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक बिकास र समृद्धिका लागि युएईमा रहनुभएका सबै नेपालीलाई आव्हान गरे। नेपाल फेस्टिवलमा सिङ्गो नेपाललाई प्रतिविम्वित गर्ने नेपालको परम्परागत झाँकी, नृत्यहरु प्रस्तुत गर्नुका साथै नेपालबाट आएको सांगितिक समूह सुरसुधा लगायत ख्यातिप्राप्त कलाकारहरुको साङ्गितिक तथा नृत्य प्रस्तुति रहेको थियो।
साथै, उक्त फेस्टिवलमा नेपाली खानेकुरा, पर्यटन, हस्तकला तथा नेपाल झल्काउने किसिमका बिभिन्न ५० वटा स्टलहरु राखिएका थिए । युएई सरकारका उच्च पदाधिकारीहरू, विदेशी राजदूत तथा कूटनीति नियोगका प्रमुखहरु, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत विदेशी नागरिकहरु, नेपालका शुभचिन्तकहरु सहित स्वदेशी तथा विदेशी गरी करिब ४० हजार मानिसहरुले नेपाल फेस्टिवलको अवलोकन भ्रमण गरेका थिए ।