धर्तीको सौन्दर्य रक्षा गरौं

0
20

आज अंग्रेजी महिना अप्रिलको २२ तारिख । आजको दिनलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने गरिएको छ । वैदिक सनातनी मान्यता अनुसार पृथ्वी अथवा धर्ती जननी हुन् । त्यही आस्था अनुसार र सनातन धर्मको मान्यता अनुसार आमाको स्वरुपमा रहेकी पृथ्वीको स्वरुप र यसबाट प्राप्त हुने प्राणी जगतको आधारले पृथ्वीलाई सम्पूर्ण विश्वले माता मानेको छ । त्यही मान्यताले सन् २००९ मा संयुक्त राष्ट्र संघको महासभाले आजको दिनलाई विश्व पृथ्वी दिवसका रुमपा मनाउने निर्णय गरेको थियो । पृथ्वी माथिको अतिक्रमण र दोहनले यसको धरातलीय स्वरुपमा परिवर्तन भएको छ । मानवीय गतिविधिका कारण परिवर्तन भएको र त्यसले अनेक प्राकृतिक विपदाहरु निम्त्याउन थालेको छ । पृथ्वीको दोहनका कारण हावापानीमा फेरबदल हुँदैछ, वनजंगल मासिने, नदीनालाहरु सुक्ने मात्र होइन उद्योग र विकासका नाममा प्रदूषण वृद्धि हुँदै सम्पूर्ण जीवजन्तुको अस्तित्व पनि खतरामा पर्दै गएको छ ।

बर्सेनि भइरहने जनसंख्या वृद्धिको असरले वनजंगल मासिनेक्रम बढेको छ । मानिस कै कारण प्रकृतिको विनाश बढेर जाँदा मरुभूमिकरण बढ्ने, हिमालको हिउँ पग्लिने जस्ता कारणले पृथ्वी संकटमा पर्दै गएको छ । त्यसकै परिणाम हो कि आज विश्वमा जलवायु परिवर्तन भइरहेको छ जो स्वयम् मानव जातिकै विनाशको कारण हुन थालेको छ । नदीजन्य सामग्रीको दोहन, उद्योगबाट निस्कने हानीकारक रसायन, सवारीसाधनको बढ्दो प्रयोग र थोत्रा सवारी गुडाउने जस्तो कारणले मानव स्वास्थ्य मात्र होइन तीनै थरीका प्राणीहरुमा प्रतिकूलता थपिएको छ । अझ आज विश्वमा भइरहेको युद्ध र त्यहाँ प्रयोग गरिएका हातहतियारले मानव जातिकै विनाश मात्र गरिरहेको छैन, पृथ्वीको भविष्य नै संकटतर्फ धकेलिँदैछ । अझ हाम्रो जस्तो देशमा राज्य सञ्चालकहरुको अज्ञानताका कारण भौतिक विकासका नाममा ठूला आधुनिक यन्त्र, उपकरण प्रयोग गरी सडक खन्ने नाममा धरातलीय स्वरुप खलबलिएको छ ।

पृथ्वी हामी सबैको साझा घर हो । घरलाई सुरक्षित राख्न सकिए मात्र हाम्रो जीवन सुरक्षित हुन्छ । भावीपुस्तालाई पनि सुरक्षित घर हस्तान्तरण गर्नुपर्छ जुन यसका विनाशक अर्थात् मानव जातिको दायित्व हो । युद्धमा प्रयोग गरिने आणविक हातहतियारको उत्पादन र प्रयोग मानव जातिकै संहार गर्ने अस्त्र हो । त्यसैले विश्व समाजले युद्ध र हिंसाका सामुहिक प्रतिवाद गर्नुपर्छ । जल, जमिन, जंगल, वायु, आकाश र पातालको रक्षाबाट मात्र यहाँ रहेका सम्पूर्ण जीवात्माहरुको रक्षा हुनसक्छ । त्यसका लागि हाम्रा विकासहरु पृथ्वी र वातावरणका अनुकूल हुनुपर्छ । प्रतिकूलताको दोषी प्राणीमध्येको सचेत भनिने मानव नै भएकाले प्रकृतिको स्वरुप बिग्रिन नदिने प्रमुख तथा अन्तिम जिम्मेवारी मानिस कै हो । प्रकृतिको स्वच्छत, पवित्रता र स्वरुप सुन्दर र श्रृंगारयुक्त रहे मात्र हामी सबैको जीवनको पनि रक्षा हुने हुँदा आजको दिनले हाम्रा नेता, सरकार, सरोकारवाला समूह र सम्पूर्ण मानव हातेमालो गर्दै धर्तीमाताको सौन्दर्य अटल राख्न अग्रसर होऔं, यो नै आजको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here