झापा, बिर्तामोड चेस क्लबको आयोजना तथा किराँत याक्थुङ चुम्लुङको सहआयोजनामा झापामा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको छ ।
आगामी जेठ २ गतेदेखि ४ गतेसम्म उभौली पर्वको अवसर पारेर झापाको बिर्तामोडमा प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १५० भन्दाबढी राष्ट्रिय खेलाडी हरु सहभागी हुने छन् ।
चेस क्लबका खेल डाइरेक्टर ज्वाला इम्बुङले प्रतियोगिताको तयारी तथा व्यवस्थापनको काम सुरु गरिएको बताए । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा क्लबले प्रतियोगिताको तयारीबारे इम्बुङले जानकारी दिएको हो ।
क्लबका अध्यक्ष नारायण राईका अनुसार प्रतियोगिताका लागि नौ लाख ६१ हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रथम हुनेले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै दोस्रोले ३५ हजार, तेस्रोले ३०, चौथोले २५, पाँचौले २० सहित १५ वटा बिधामा पुरस्कार पाउने साथै अन्य पनि बिभिन्न बिधामा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै सह आयोजक संस्थाका अध्यक्ष हिमालय कन्दङबाले प्रतियोगितालाई भव्य बनाउन सबैको सहयोग आवश्यक भएको बताए ।
नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले विद्यालय तहमा बुद्धिचाल प्रतियोगिता आयोजना गर्न स्थानीय सरकारले तदारुकता देखाउनुपर्ने बताउँदै यसबाट विद्यार्थीमा प्रतिस्पर्धी क्षमताको विकास हुने र स्मरण शक्तिसमेत बढ्ने बताए । कार्यक्रमको सञ्चालन क्लबका प्रेस संयोजक विजय बरालले गरेका थिए ।
कार्यक्रममा किरात याक्थुङ्ग चुम्लुङ बिर्तामोड नगर कमिटी सचिव भीमामाया कन्दङ्वा, क्लबका सचिव बिष्णुप्रसाद पाठकलगायतको उपस्थिति रहेको थियो ।